सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले कोरोना महामारीमा १ करोडको खाना खुवायो

२०७८ भदौ १४, ०७:०९ रोशन भट्ट

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट खाना खुवाएर मात्र झण्डै एक करोड खर्च गरेको देखिएको छ। भारतबाट स्वदेश फर्किएका नेपालीलाई नाका र विभिन्न क्वारेन्टिनमा प्रदेश सरकारले खाना खुवाएर मात्रै एक करोड खर्च गरेको हो। 

प्रदेशको सामाजिक विकास मन्त्रालयले विभिन्न क्वारेन्टिनमा ६४ लाखको खाना खुवाएको जनाएको छ। मन्त्रालयले आफ्ना मातहत रहेका कार्यालय तथा सुदूरपश्चिम फाउण्डेसन लगायतका संघसंस्थालाई जिम्मा दिएर खानामा ६४ लाख खर्च गरेको उल्लेख गरेको छ। 

कोरोनाको सुरुवाती अवस्थामा नाकामा अलपत्र परेकालाई खाना खुवाएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले बताए। ‘हामीले खाना खुवाउने जिम्मा स्वास्थ्य कार्यालयलाई नै दिएका हौ,’ उनले दिनेशखबरलाई भने।

यस्तै सुदूरपश्चिम प्रदेश कोरोना भाइरस रोगको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट थप साढे ३४ लाख खानामा खर्च भएको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले उक्त कोषमार्फत विभिन्न निकायलाई आर्थिक स्रोत उपलब्ध गराएको थियो। सोही रकमबाट जिल्ला प्रशासन कार्यालय कैलालीको समन्वयनमा खर्च हुने गरि त्रिनगर–गौरीफन्टा नाकामा पुगेका प्रदेशवासीलाई खाजा र पानी सहयोग गरेबापत दुई लाख ५० हजार भुक्तानी दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट नै स्वास्थ्य कार्यालय धनगढीले समेत थप ३२ लाख भुक्तानी लिएको छ। त्रिनगर नाका भएर भारतबाट फर्किका नेपाली नागरिकलाई खाना, खाजा र पानीको व्यवस्था गरेबापत स्वास्थ्य कार्यालयलाई ३२ लाख भुक्तानी दिएको मन्त्रालयले जनाएको छ। 

विभिन्न होटलमार्फत खाना खुवाएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले बताए। ‘नाकामा अलपत्र परेका नागरिकलाई तीन वटा होटलमार्फत खाना खुवाइएको हो,’ उनले दिनेशखबरलाई भने, ‘आन्तिरिक मामिला तथा कानून मन्त्रालयबाट भुक्तानी भएको हो।’

सो समयमा धनगढीका आधा दर्जन बढी संघ संस्थाहरुले पनि नाकामा अलपत्र परेका प्रदेशवासीलाई खाना, खाजा र पानी उपलब्ध गराएको दाबी गर्दै आएका छन्। त्यसमा सुदूरपश्चिम फाउण्डेसनले प्रदेश सरकारबाटै खाना खुवाउन झण्डै ३० लाख बजेट पाएको थियो भने अन्य संघ संस्थाहरुले निजी क्षेत्र लगायत आम नागरिकबाट समेत आर्थिक सहयोग संकलन गरी हजारौंलाई खाना खुवाएको दाबी गरेका थिए। 

यस्तै कोरोना कोषबाटै बोलन्या थलीलाई ३ लाख ५२ हजार र बडिमालिका डिजिटल रेकिर्डिङ स्टुडियोलाई अडियो भिडियो बनाउन चार लाख ९४ हजार रकम भुक्तानी दिइएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस