सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सवारी चेकिङको नाममा ज्यादती बढ्यो

फाइल फोटो
फाइल फोटो
२०७८ भदौ ७, ०७:१३ रोशन भट्ट

धनगढीः ‘प्रहरी मेरो साथि’ यो नारा नेपाल प्रहरी आफैँले सुरुवात गरेको हो। तर सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीसहित कैलालीका विभिन्न क्षेत्रमा नेपाल प्रहरीको गतिविधिले प्रहरी नागरिकको दुस्मन बन्न थालेको आरोप लागेको छ।

कैलाली प्रहरीले एक किलोमिटरको दुरीमा ठाउँठाउँमा सवारी चेकजाच गरेर सार्वसाधारणलाई अनावश्यक दुःख दिइरहेको हो। धनगढी चौराहा, रातोपुल, पार्कमोड, अस्पताल लाइन, जिल्ला प्रहरी कार्यालय अगाडि, क्याम्पस चोक लगायतका स्थानमा मोटरसाइकल चेकजाचका नाममा सार्वसाधारणलाई सास्ती भइरहेको धनगढीका स्थानीय चक्र कडायतले बताए। ‘भिडभाड हुने स्थानमा चेकिङ गर्नु भएन भन्दा तिमि बढी बोल्ने को हो ? भनेर थर्काइयो,’ उनले भने। 

ट्राफिक प्रहरी र नेपाल प्रहरीको टोलीले मोटरसाईकल चालकलाई अपराधी नै ठानेर पटकपटक चेक गर्ने गरेको भए पनि अन्य सवारी चालकलाई वेवास्ता गर्दै आएका छन्। मोटरसाइकल चालकसँग नेपाल प्रहरीको टोलीले अपशब्द बाल्ने मात्र नभइ गाली गर्ने र  कुटपिटसमेत गर्ने गरेको छ। 

सामान्य गल्ती गरेका चालकलाई अपराधिक शैलीमा गाडीमा हालेर जिल्ला प्रहरी कार्यालय पुगाउने गरिएको धनगढीका अर्का स्थानीय विकास पाठकले बताए। ‘मास्क  लगाउनु होस् भन्ने नाममा चेकजाँच गर्नु राम्रो होईन,’ उनले भने, ‘भन्ने बेला प्रहरी मेरो साथि भन्ने तर बोल्दा चाँहि निकै ठाडो बोल्ने गरिन्छ।’ 

धनगढीका स्थानीय सवारी चेकजाचका नाममा प्रहरीको ज्यादती सहन बाध्य छन्। मोटसाइकल चालकले काजगपत्र नबोको भए जरीमान काट्ने, मोटसाइकल नियन्त्रणमा लिने तथा अन्य कानूनी कारबाही गर्न सकिने प्रावधान भएपनि प्रहरीले भने सडकमै कुटपिटसमेत गर्ने गरेको छ।

यता सवारी साधनका कागजात चेकजाँचको अधिकार पाएको ट्राफिक प्रहरीले भने आफूहरु छोटो दूरीमा धेरै पटक चेकजाच नगर्ने गरेको जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले भने, ‘शनिबारको चेकिङ जिल्ला प्रहरीको योजना हो। हामीसँग कर्मचारी मागिएको थियो केही ठाउँमा हाम्रा साथिहरु पनि गएका थिए।’ 

ट्राफिक प्रहरीले मात्रै लाइसेन्स र ब्लुबुक जाँच गर्ने अधिकार राख्छ। जनपद प्रहरीले ट्राफिक प्रहरीले चेकजाँचका क्रममा सहयोग मात्रै गर्न पाउने हो। तर जनपद प्रहरीले अधिकार नभए पनि मोटरसाइकल चढ्नेलाई अपराधी जस्तै व्यवहार गर्दै आएको छ। शनिबार मात्रै जिल्लाका ७० स्थानमा मोटरसाइकल चेक गर्ने टोली खटाइएको थियो।

‘यसलाई सहजीकरण गर्नका लागि हामीले चिट दिने व्यवस्था गरेका छौँ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले भने, ‘एकै पटक सबै सवारी जाँच गर्दा जाम हुने हुँदा पहिलो चरणमा मोटरसाइकल जाँच गरिएको हो।’ 

लाइसेन्स वितरण छिटो–छरिता तथा सहज बनाउन वेवास्ता भइरहेको छ। वर्षाैदेखि लाइसेन्सको परीक्षा दिन नपाएर सर्वसाधारण हैरान छन्। तर प्रहरी भने तिनै सर्वसाधारणमाथि ज्यादती गर्दै लुट मच्चाइरहेको आरोप लागेको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस