गेटा मेडिकल कलेज सञ्चालनमा अझै ढिलाई हुने
धनगढी : संघीय सरकारकै उदासिनका कारण गेटा मेडिकल कलेज सञ्चालनमा अझै ढिलाई हुने देखिएको छ। कलेज तथा अस्पताल भवन निर्माणको काम सम्पन्न भए पनि कानूनी मापदण्ड तयार नहँुदा सञ्चालनमा ढिलाई हुने देखिएको हो।
संघीय शिक्षा मन्त्रालयको मातहत निर्माण भइरहेको गेटा मेडिकल कलेजको पहिलो प्याकेजको काम लगभग अन्तिम चरमामा छ। मेडिकल कलेज सञ्चालनका लागि आवश्यक पर्ने प्रशासनिक भवन, कलेज तथा अस्पताल भवनको निर्माण कार्य लगभग सकिएको हो।
पूर्वाधार विकास समितिले भने आफ्नो तर्फबाट हुने सबै प्रक्रिया पूरा भएको जनाएको छ। तर संघीय सरकारले आवश्यक पक्रिया अगाडि बढाउन ढिलाई गरिरहेको छ। सञ्चालनका लागि संघीय शिक्षा मन्त्रालयले प्रारुप तयार पारेर संसदमा पेश गर्नु पर्ने हुन्छ भने त्यसपछि विधेयक तयार गरेर अन्य प्रक्रिया अगाडि बढाउनु पर्ने हुन्छ। अस्पताल मात्रै सञ्चालनका लागि पनि समिति निर्माण गरेर पदाधिकारी तोक्नु पर्ने प्रावधान छ। यस्तै उपकरण खरिद र जनशक्ति व्यवस्थापनमा पनि समय लाग्ने छ।
‘सञ्चालन गर्नका लागि प्रारुप टुंगो नलाग्दा ढिलाई भइरहेको छ। मोडालिटीसँगै अस्पताल सञ्चालनका लागि पादाधिकारीहरु पनि नियुक्त भएपछि त्यसपछि कसरी अगाडि बढाउने भन्ने कुरा गर्न सकिन्छ। तर त्यो हुन सकेको छैन,’ गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका इन्जिनियर पवन रावलले भने।
विगतमा २०७७ भित्रै ५ सय शैयाको अस्पताल सञ्चालन गर्ने योजना थियो। तर आगामी वर्षदेखि पनि मेडिकल कलेज सञ्चालन हुने–नहुने टुंगो छैन्। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष डा. चेतराज पन्तले भने, ‘सञ्चालनबारे छलफल भइरहेको छ। यस वर्षको अन्त्यसम्म सञ्चालन प्रक्रियाको थालनी हुन्छ,’ उनले भने।
विद्युत, खानेपानी र ढल निकासका लागि अहिले छलफल भइरहेको तथा प्राविधिकहरुको टोलीले डिजाइन तयार गरेपछि मात्रै टेण्डर आह्वान हुने मेडिकल कलेज पूर्वाधार विकास समितिका अध्यक्ष डा. पन्तले बताए। ‘विद्युत, खानेपानी तथा ढल निकासको काम गर्न बाँकी छ,’ उनले भने, ‘यसको डिजाइन तयार भएपछि हामी टेण्डर आह्वान गर्छौ।’