सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी राधा, जसले ६ वर्षको उमेरमा ९० वर्षीय वृद्धसँग बिहे गरिन् र एक वर्षमै गुमाइन् श्रीमान

२०७८ भदौ २, ०५:१२ विन्दु चन्द

धनगढीः अहिले ६ वर्षीया बालिकाको विवाह भयो भन्दा कसैलाई पत्यार लाग्दैन होला।  त्यो पनि एक ९० वर्ष भन्दा बढी उमेरका वृद्धसँग। एउटा चलचित्र जस्तै लाग्ने कथा र व्यथा छ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ उत्तरबेहडीस्थित शिवपुरी धामको माता कुटीमा बस्दै आएकी राधा गिरीको। 

उनी विगत २० वर्षदेखि शिवपुरी धाममा बस्दै आएकी छिन्। ‘थाहा छैन कहिले हो तर त्यतिबेला राजा विरेन्द्र ज्यूँदै थिए। म यहाँ बसेको १/२ वर्षपछि त उनी मरिहाले। त्यति बेला यहाँ बसेकी हुँ’ उनले भनिन्।  शिवपुरी धाममा त्यतिबेला एउटा मात्रै सानो मन्दिर रहेको उनी बताउँछिन्। ‘यहाँ त ठुलो घना जंगल थियो। चौधरीहरुले गाई गोरु चराउँथे। माछा मार्थे। घना जंगलबीचमा रहेको सानो कुटीमा हामी दुई जना बस्थ्यौँ’ उनले भनिन्। आफुहरुलाई यहाँ बत्ती बाल्न पुजापाठ गर्न ल्याइएको उनी बताउँछिन्। 

माता भइसकेपछि उनी दर्जन बढी धाम तथा ठूलठूला शक्तिपिठमा पुगिसकेकी छिन्। माता भइसकेपछि उनी सुदूरपश्चिमका पर्यटकीयस्थल तथा शक्तिपिठ खप्तड, बडीमालिका लगायतका धेरै ठाउँ पुगिसकेकी छिन्। यस्तै भारतको काँसी, पर्याराज, हरिद्वार लगायत चिनको तिब्बतमा रहेको कैलाश मानसरोवर समेत पुगिसकेको उनी बताउँछिन्।

‘गुरुमाहरु घरमा भिक्षा माग्न आउथे। धेरै पटक उनीहरुलाई देखियो आफुलाई पनि माता बन्ने इच्छा जागेर आयो। गुरुमाहरुसँग नै धेरै ठाउँ घुमियो’ उनले भनिन्। माता बनेपछि आफु खुसी रहेको उनले बताइन्। उनलाई परिवारसँग बस्न इच्छा त थियो तर बाल्यकालमै विवाहित बनेकी उनी घर न घाटकी बनेकी थिइन्। ‘बाहुनको छोरी दोस्रो बिहे गर्नु हुँदैन भन्ने मान्यता थियो। माइतैमा कति बस्नु। एक दुई दिन त राम्रो गर्लान फेरि...’ उनले भनिन्। परिवारसँग बस्न रहर थियो उनलाई तर बाल्यकालमै सबै इच्छा खोसियो। 

कसरी बनिन् माता ?
उनको जन्मघर डोटी हो। उनी ६ वर्षको हुँदा उनको ९० वर्षीय पुरुषसँग बिहे भएको थियो। उनको परिवारमा दाई भाउजु बहिनी समेत छन्। ‘छोराबुहारी भएको १०० वर्ष जस्तो देखिने बुढोसँग मेरो बिहे भएको रहेछ। बुवा त पहिल्यै बित्नुभएको रे ! आमाले बिहे गरिदिएको रे ! मलाई पनि थाहा छैन। गाउँलेले भन्थे मेरो बिहे भइसक्यो भनेर’ उनले भनिन्।

ती पुरुषको सहारा कोही छैन भनेर आमालाई पैसा दिएर मलाई मागिएको रहेछ। बिहेको दिन सबै गाउँले रोएको रे’ आफ्नो विगत सम्झिदै उनले भनिन्, ‘बिहे गरेकै अर्को वर्ष त श्रीमान बितेछन। त्योपछि मलाई त थाहा छैन।’ 
त्यो समयमा एक व्यक्ति देखाएर अर्को व्यक्तिसँग बिहे गरिदिने गरेको उनी बताउँछिन्। श्रीमान गुमेपछि माइत ल्याइएको उनले बताइन्। अर्को बिहे गर्नु पाप रहेको भन्ने मान्यताले उनी केही वर्ष माइतमै बसिन्। घरमा धेरै माताहरु भिक्षा माग्न आउने गर्थे। माइत पनि कति धेरै बस्नु भनेर उनीहरुसँगै माता बनेको राधा बताउँछिन्।

धेरै ठाउँ घुमेको स्मरण गर्दै उनी भन्छिन्, ‘उमेर हुँदा, अलि बल हुँदा धेरै ठाउँ गयौं। त्यति बेला पनि डर हुन्थ्यो। एक्लो हिँड्न। ५÷६ जना गुरुमाहरु सँगै हिँड्थ्यौं।’ आफुसँगका धेरै साथीहरुको त कुटीमै ज्यान गएको उनी बताउँछन्।

निधनपछि कसरी गरिन्छ माताको दाहसंस्कार ?
माताको निधन भएपछि माताहरुले नै दाहसंस्कार गर्ने उनले बताइन्। किरिया लगायतका अन्य धर्मकर्म सबै माताहरुले नै गर्ने उनको भनाई छ। ‘परिवार भएपनि माताले पनि चोखो तरिकाले धर्म गर्ने गर्छन्’ उनले भनिन्। 

के छ वृद्ध माताका लागि सरकारबाट सहयोग
माता मन्दिरमा निर्माण गरिएका धर्मशाला तथा कुटीहरुमा बस्ने गर्छन्। सरकारबाट एकल महिला भनेर भत्ता पाइरहेको उनले बताइन्। ‘घर बनाइदिने त्यस्तो सहयोग त छैन। एकल महिला भनेर भत्ता पाउँछौं’ उनले भनिन्। मन्दिरबाट दान गरेको रकम र आफूहरुले पाएको भिक्षाको रकमले शिवपुरी धाममा दुइकोठे भवन बनाइएको छ। अहिले शिवपुरी धाममा ३ जना माताहरु बसिरहेका छन्। 

बिरामी पर्दा निःशुल्क उपचार पाउने वातावरण बनाइदिन सरकारसँग उनीहरुको माग छ। यस्तै टाढाको यात्रा गर्दा गाडी भाडा पनि निःशुल्क गरिदिए सहज हुने राधा गिरी बताउँछिन्। 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस