सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाबुवालाई कर्णालीले बगायो, सेतीको शय्यामा २० दिनदेखि मृत्युसँग लड्दैछिन् सावित्री

२०७८ भदौ २, ०४:४३ आशिष मल्ल

धनगढी:  सेती प्रादेशिक अस्पतालको श्ययामा लम्पसार छिन् सावित्री। बोल्नसुन्न नसक्ने उनी मान्छे समेत चिन्न सक्दैनिन्। बेहोस अवस्थामा रहेकी उनी विगत २० दिनदेखि मृत्युसँग लडिरहेकी छिन्।  

सावित्री जोशी भरर्खरै कक्षा १ मा भर्ना भएकी थिइन्। उनकी एक १२ वर्षीया दिदी र ३ वर्षीय भाई छन्। दुवै अहिले पुख्यौली घर डडेल्धुराको भागेश्वर गाउँपालिका–४ लाकममा आफ्ना काकाहरुसँग बसिरहेका छन्।

तर सावित्रीका आमाबुवा भने अस्पतालमा छैनन्, घरमा पनि छैनन्। उनीहरु कर्णाली नदीमा बगिसकेका छन्। चिकित्सकका अनुसार सावित्रीको दिमाग र मुटमा चोट लागेको छ। चिकित्सकलाई उद्धृत गर्दै सावित्रीका काका अर्जुन जोशी भन्छन्, ‘डाक्टरले केही भन्न सकेका छैनन्। भतिजीलाई होसमा आउन १/२ महिना लाग्नसक्छ भन्छन्।’

अर्जुनका अनुसार होस आउँछकी भनेर केही दिनअघि सावित्रीलाई डडेल्धुरा लगिएको थियो। ‘आफ्ना दिदीभाईलाई देखेर होस आउँकी भन्ने आशा थियो। तर त्यो आशा निराशामा परिणत भयो। बिहान डडेल्धुरा पुर्‍याइएकी उनलाई होस नआएपछि पुनः सेतीमै ल्यायौं’ काका अर्जुनले भने। सावित्रीको उपचारमा हालसम्म ५ लाख जति खर्च भइसकेको र अझै रकम आवश्यक रहेको काकाले बताएका छन्। आर्थिक अभाव हुँदा उनको उपचारमा समस्या भएको उनले बताए। 

सावित्रीको यस्तो हालत कसरी भयो त ? उक्त कुरा जान्न गत साउन १५ गते फर्कनुपर्छ। साउन १५ गते शुक्रबार सवित्री, उनका आमाबुवा र दिदीभाई चिसापानी घुम्न भनेर धनगढीबाट निस्केका थिए। डडेल्धुरा घर भई हाल डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका सावित्रीका बुवा चन्द्रप्रकाश जोशी र आमा रुवीसँगै परिवारका पाँचै जना दिउँसो आफ्नो बा११च ९३८ नम्बरको जीपमा निस्केका थिए।  जीप चिसापानीदेखि सोल्टा जाने सडकतर्फ लागेको थियो। तर उक्त जीप त्यहिबाट कर्णालीमा खस्यो।

सडकबाट झण्डै ३ सय मिटर तल नदीमा खसेको जीप टुक्राटुक्रा भयो। भाग्यवस जीपमा सवार तिनै जना दिदीभाई भिरमै खसे। चन्द्रप्रकाश र रुवी भने जीपका पाठपूर्जासँगै कर्णालीको भेलमा बगे। घटना भएको आज २० दिन भइसकेको छ। तर दुवैको अत्तोपत्तो लागेको छैन। प्रहरीले बेपत्ता दम्पतीको खोजी कार्य जारी रहेको बताइरहेको छ। 

एक दशकअघि मसलाको व्यापार गर्ने सिलसिलामा डडेल्धुराबाट डोटीको आदर्श गाउँपालिका पुगेका जोशी उतै घरजम गरी बसेका थिए। उनकी जेठी श्रीमतीबाट २ छोरा छन्। उनीहरु डडेल्धुराको बगरकोटमै बस्छन्। 

यो पनि पढ्नुस:
जोशी दम्पतीको अवस्था अझै अज्ञात
कर्णालीमा बेपत्ता जोशी दम्पतीको कथा, जो दशकदेखि फर्किएका थिएनन् घर
टुक्राटुक्रा भएको छ कर्णाली नदीमा दुर्घटनाग्रस्त जीप, अझै फेला परेनन् जोशी दम्पती

 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस