गेटा मेडिकल कलेज सञ्चालनबारे सुदूरपश्चिमका नेता मौन
धनगढीः अर्बौको लगानीमा निर्माण सम्पन्न हुन लागेको गेटा मेडिकल कलेज कुन प्रारुपमा सञ्चालन होला भन्ने जिज्ञासा आम सुदूरपश्चिमवासीको छ। पहिलो चरणमा काम सुरु भएको तीन प्याकेजको भौतिक निर्माण लगभग अन्तिम चरणमा पुगेका बेला सञ्चालनको प्रारुप बारेको जिज्ञासा बढीरहेको छ।
यसै अवधिमा सुदूरपश्चिमको नागरिक समाज, विद्यार्थी संगठन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सरोकार राख्ने व्यक्तिहरुले पनि स्वास्थ्य विज्ञान प्रतिष्ठान अथवा मेडिकल विश्वविद्यालय बनाउन पर्ने माग गरिरहेका छन्।
तर सुदूरपश्चिमबाट राष्ट्रिय राजनीतिमा प्रतिनिधितव गर्ने नेताहरु भने यस विषयमा मौन बसेको आरोप लागेको छ। नेकपा एमालेका नेता लेखराज भट्टले भने यस विषयमा प्रधानमन्त्रीसँग छलफल गर्नुपर्ने बताए। ‘हामीले प्रतिष्ठान वा मेडिकल विश्वविद्यालयको रुपमा लैजानुपर्छ भनेको हो’ उनले भने, ‘अहले राजनीतिक अवस्था परिवर्तन भएको छ। यस विषयमा छलफल गर्नुपर्छ।’
प्रस्तावित मेडिकल कलेजलाई विश्वविद्यालयको रुपमा सञ्चालन गर्नुपर्ने माग उठ्न थालेको छ। दीर्घकालिन फाइदाका लागि सुदूरपश्चिमबाटै मेडिकल विश्वविद्यालयको सुरुवात गर्नुपर्ने धारणा धेरैको छ। मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सके यस क्षेत्रको शिक्षा र स्वास्थ्य क्षेत्रको विकासमा टेवा पुग्ने विश्वास लिइएको छ। तर आम नागरिकले यस विषयमा चासो दिएका बेला सुदूरपश्चिमबाट निर्वाचित जनप्रतिनिधिहरु तथा राष्ट्रिय राजनीतिमा संक्रिय नेताहरुको बोली बन्द भएको गुनासो धेरैको छ।
मेडिकल विश्वविद्यालयको रुपमा सञ्चालन गर्नका लागि आफूहरु सरकारलाई दबाब दिइरहेको कैलालीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले बताए। ‘अहिले हाम्रो माग भनेको मेडिकल विश्वविद्यालयल हो। नेपालमै नभएको विश्वविद्यालय सुदूरपश्चिमबाट किन सुरु नगर्ने ? नयाँ सरकारलाई पनि गेटामेडिकल कलेजलाई चिकित्सा विश्वविद्यालयको रुपमा सञ्चालन गर्न हाम्रो दबाब हुन्छ’ उनले भने।
मेडिकल कलेज मात्रै भए अन्य विश्वविद्यालयको मातहत भएर काम गर्नुपर्ने बाध्यता हुन्छ। तर स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मेडिकल विश्वविद्यालयको मोडालिटीमा सञ्चालन भए स्वास्थ्यका शैक्षिक कार्यक्रम र अन्य अस्पताल सञ्चालनको विषयमा सुदूरपश्चिमलाई सहज हुने देखिएको छ। प्रदेशको समग्र विकासका लागि पनि गेटालाई स्वायत्त बनाउनुपर्नेमा नेताहरुले भूमिका खेल्नुपर्ने भनाई सुदूरपश्चिमवासीको छ।
मेडिकल कलेज सञ्चालनको प्रारुपबारे अहिले नै प्रतिक्रिया नदिने दाबी गरेका नेपाली कांग्रेसका नेता रमेश लेखकले भने भौतिक संरचना निर्माणको कामलाई तीव्र गतिमा बढाउनुपर्ने बताए। ‘यसको डिटेलमा म जादैन। यसको काम सम्पन्न गरेर चाँडो सञ्चालन गर्नुपर्छ’ उनले भने।
संघीय सरकारले सञ्चालनको प्रारुप टुंगो लगाउन ढिलाई गरिरहेको छ।