सुदूर नेपाललाई विश्वसँग जोड्दै

भासु दुर्घटना : छोरी गुमाएका चालकको बयान, ‘मोटरसाइकल बचाउँदा जीप भीरमा खस्यो’

२०७८ साउन २८, १२:०४ आशिष मल्ल

धनगढी: बुधबार साँझ धनगढीबाट डोटीको जोरायल गाउँपालिका, गैरा गइरहेको प्रदेश ३ ०१ ०२३ च ९०५९ नम्बरको जीप भासु भिर क्षेत्रमा दुर्घटनामा पर्यो। चुरे गाउँपालिका–३ मा भएको उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो। भने, ३ जना घाइते भए। दुर्घटनामा परि चुरे गाउँपालिका–६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको थियो।

अहिले घाइते भएका चालक जोरायल–१ का चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउदको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा परेका जीप चालक रमेश खड्काले अगाडि आएको मोटरसाइकल बचाउने क्रममा जीप भिरबाट तल खसेको बताएका छन्। 

यस्तो छ उनको बयान:
मेरी श्रीमती(निर्मला) सुत्केरी भएकी सालीको स्याहार गर्न धनगढीमा थिइन्। छोरी एलीसा पनि आमासँगै थिइन्। बुधबार म उनीहरु दुवैलाई घर लग्न धनगढी आएको थिए। सोही क्रममा नातामा दिदी पर्ने दुर्गा र उनका छोरा शुशिल साउँदलाई पनि जीपमा बोकेर गैरातर्फ हिँडेको थिएँ। बाटोमा कुहिरो लागेको थियो। भासु भिर कटेपछि मेरो अगाडि अचानक एउटा मोटरसाइकल आयो। त्यो मोटरसाइकल २ वटा गाडीलाई ओभरटेक गरेर आएको थियो। मेरै साइडमा(बायाँतर्फ) आएको त्यो बाइक चिप्लेर मेरो जीप मुनी आयो। त्यसलाई बचाउन त पर्यो। बाइकलाई बचाउन मैले स्टेयरिङ घुमाए। त्यसपछि जीप भिरतिर खसिहाल्यो। जीप करिब ३ सय मिटर तल पुगेर रोकियो। सीट बेल्ट बाँधेकाले होला जीप रोकिँदासम्म म आफ्नै सिटमा अडिक थिए। तर मेरी छोरी र श्रीमती जीपबाट खसिसकेका रहेछन्। म हत्तपत्त जीपबाट ओर्लिए। छोरीको स्वास रोक्किसकेको थियो। माथिबाट थुप्रै मान्छेहरु हेरिरहेका थिए। अचेत अवस्थामा रहेकी निर्मला(श्रीमती)लाई बोक्न खोजे तर सकेन। मैले माथिबाट हेरिरहेका मान्छेहरुलाई गुहारे तर कोही पनि आएनन्, बस् उनीहरु रमिता हेरिरहेका थिए। जसोतसो निर्मलालाई बोकेर भिरमा उक्लिँदै थिए, एकजना दाई आए। उनले सहयोग गरे। मैले विगत ९ वर्षदेखि धेरै राजमार्गमा गाडी चलाए तर यस्तो बज्रपात कहिलै परेन। ऊ निर्मलाको अवस्था रोएर बेहाल छ(श्रीमतीलाई देखाउँदै), छोरी गुमाइसके। 

००० 
उक्त दुर्घटनामा एक अर्को परिवार पनि तहसनहस भएको छ। आमा(दुर्गा साउँद) गुमाएका शुशिल अस्पतालको बेडमा सुतिरहेका छन्। उपचार गराएर फर्किरहेका उनी पुनः अस्पतालमा भर्ना भएका छन्।

प्रहरीले दुर्घटनाको कारण खुलस्त रुपमा बताउन सकिरहेको छैन। तर जीप आफै अनियन्त्रित भएर भिरबाट खसेको हुनसक्ने इलाका प्रहरी कार्यालय फल्टुडेले अनुमान लगाएको छ। 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस