देउवाकै गृह जिल्लामा कांग्रेसका ३ ‘फ्याक’, सभापति बन्ने ७ जनाको इच्छा
धनगढी: नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै छ। कांग्रेसको कार्यतालिका अनुसार साउन १२ गतेदेखि वडा तहको अधिवेशन सुरु हुनेछ। त्यसपछि १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा, क्षेत्र र २३ साउनमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र एवं जिल्लाको अधिवेशन हुनेछ।
एकभन्दा बढी निर्वाचन क्षेत्रहरू भएका जिल्लाको अधिवेशन २६ साउनमा हुनेछ भने भदौ १ र २ गते सातै प्रदेशको अधिवेशन हुनेछ। र, अन्त्यमा भदौ १६–१९ गते काठमाडौंमा १४औं महाधिवेशन हुने तालिकामा उल्लेख छ।
सोही अनुसार पार्टी सभापति देउवाको जिल्लामा पनि जिल्ला सभापति बन्ने आकांक्षीहरु अघि सर्दैछन्। डडेल्धुरामा अहिले सभापतिको दौडमा ७ जनाको चर्चा भइरहेको छ। उसो त देउवाले आफ्नो निवास बुढानिलकण्ठमा सोमबार परशुराम नगरपालिकाका नगरप्रमुख समेत रहेका भीमबहादुर साउदसँग भेट गरी जिल्ला सभापतिका लागि आश्वस्त पारेका छन्।
साउदलाई नै सहमतिमा पार्टी सभापति बनाउने भनेर टुंगो लागेको छलफलमा सहभागी एक नेताले बताए। उक्त छलफलमा कांग्रेसका प्रदेश सांसद गोविन्द बोहरा र पूर्व जिल्ला सभापति रघुवर भट्ट पनि सहभागी थिए। दुवैले जिल्ला सभापति बन्ने चाहना राखेता पनि पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भनेअनुसार दुवैजना ‘ब्याक’ भएर आफूलाई अघि सारिएको स्वंम साउँद बताउँछन्।
तर देउवाको गृह जिल्लामा छन् उनकै २ उपगुट
२०४८ देखिका कुनैपनि चुनावमा शेरबहादुर देउवाले डडेल्धुरामा पराजय भोग्नु परेको छैन। देउवाको किल्ला मानिने डडेल्धुरामा २ निर्वाचन क्षेत्र र ७ स्थानीय तह रहेका छन्। गत चुनावमा कांग्रेस एउटा निवार्चन क्षेत्र गुमाएको थियो भने ३ वटा स्थानीय तहमा उसले हार व्यहोर्नु परेको थियो। कारण २ गुट हुन्।
तर, देउवा बाहेक कांग्रेसको रामचन्द्र पौडेलको गुट भने छैन। देउवा गुटमै दुई उपगुट छन्। जसमा एउटा गुटलाई आरजु देउवाको समर्थन छ। जिल्ला सभापति कर्णबहादुर मल्ल र पार्टीका पूर्व सभापति रघुवर भट्टका अलग उपगुट हुन्। रघुवर प्रधानमन्त्री देउवाकी पत्नी आरजु राणा देउवाको नजिक मानिन्छन् भने सभापति कर्णबहादुर खुमबहादुर खड्काको निकट मानिन्थे।
कांग्रेसले डडेल्धुराका ७ मध्ये चार स्थानीय तह मात्र जित्नु देउवा आफ्नै गृहजिल्लामा कमजोर बन्नु हो भन्ने विश्लेषण समेत गरिएको थियो। हारपछि कांग्रेसले गुटबन्दीका कारण अन्तरघात भएकाले हार व्यहोर्नु परेको निश्कर्ष निकालेको थियो। कांग्रेसभित्रका यी दुई गुटमा तालमेल नमिल्नु नै उतिबेला हारको प्रमुख कारण रहेको केही विश्लेषकहरुको भनाई छ।
डडेल्धुरा कांग्रेसमा कसरी भयो दुई खेमा ?
देउवाको गृह जिल्लामै दुई उपगुट कसरी बने त ? यसका लागि हामीले ‘फ्ल्यासब्याक’ मा जानुपर्ने हुन्छ। २०६४ सालभन्दा अगाडिल, त्यतिबेला नेपाली कांग्रेस प्रजातान्त्रिकले अहिलेका सुदूरपश्चिम प्रदेश सदस्य तथा पार्टी सभापति कर्णबहादुर मल्ललाई साधारण सदस्य नरहने गरी कारवाही गरेको थियो। उनलाई ‘राजा’ समर्थक भनेर कारवाही गरिएको थियो। पछि उनलाई लागेको आरोप निराधार ठहर भएकाले कारवाही फुकुवा गरिएको थियो। तत्पश्चात उनी २०६४ सालको चुनावमा देउवालाई जिताउन लागिपरेको कांग्रेस कार्यकर्ताको भनाई छ।
त्यसपछि २०६७ सालमा पार्टीको जिल्ला अधिवेशन भयो। त्योबेला कर्णबहादुर मल्ल सभापतिमा निर्विरोध चयन भएका थिए। उतिबेला देखिनै त्योभन्दा पहिलेका पार्टी सभापति रधुवर भट्ट समूहले कर्णबहादुर मल्ललाई पार्टी सभापति मान्दैनौं भनेर धारणा राखेको थियो। २०६७ सालको उक्त घटनाबाट नै डडेल्धुरामा दुई गुट उत्पन्न भएको एक नेता बताउँछन्।
त्यसपछि भातृ संगठन नेपाल विद्यार्थी संघ र महिला संघको निर्वाचनमा पनि गुट र उपगुटको लबिङ भएको उनले सुनाए। ‘त्यतिबेलाबाट नै बैठक बहिस्कार गर्ने शिलशिलाको सुरुवात भएको थियो’ उनले भने।
२०७२ सालको छैटौं कांग्रेस जिल्ला अधिवेशनबाट पनि पार्टी सभापति मल्लले रघुवर भट्टलाई १ मतले पछारेका थिए। त्यो रोषका कारण दुई गुटबीच झन द्वन्द्व सृजना भएको हो। उक्त गुटबन्दीको आगोमा तेल हाल्ने काम डडेल्धुरा महिला संघले पनि गरेको देखिन्छ।
त्यसयता हालका पार्टी सभापति कर्णबहादुर मल्लकै दबदबा जिल्लामा देखिन्छ। उसो त शेरबहादुर देउवाले आरजु देउवालाई कैलालीबाट चुनाव लडाएपछि जिल्लाका कार्यकर्ता निराश भएका थिए। त्यस्तै पत्नीकै आग्रहमा कैलालीलाई प्रदेशको राजधानी बनाउने निर्णय अघि सारेको भन्दै डडेल्धुरावासी झन आक्रोशित बनेका थिए।
झन पछिल्लो समयमा देउवाले जिल्लाप्रति वेवास्ता गरेको भन्दै कांग्रेसका कार्यकर्ताले अहिले सामाजिक सञ्जाल रंगाउने गरेका छन्।
त्यसपछि भयो तेस्रो धारको उदय
दुई गुट रहेको कांग्रेस डडेल्धुरामा ‘नेपाली कांग्रेस सुदृढीकरण अभियान’ को नाम दिएर थप एक समूहको उदय भइसकेको छ। कांग्रेस डडेल्धुरामा चरम गृटबन्दी देखिएकाले ती मनमुटावलाई साम्य पार्न उक्त समूह बनेको कांग्रेस डडेल्धुराका महाअधिवेशन प्रतिनिधि रहेका सोही समूहका हरिप्रसाद भट्ट बताउँछन्। २०७६ कार्तिकमा बनेको उक्त तेस्रो धारमा दुवै गुटका केही कार्यकर्ताहरु लागेका थिए।
चरमरुपमा भएको गुटबन्दीका कारण जिल्लामा कांग्रेस कमजोर हुने अवस्था रहेकाले ‘नेपाली कांग्रेस सुदृढीकरण अभियान’ सुरु गरेको अमरगढीका नगरपालिकाका पूर्व मेयर तथा पूर्वमहासमिति सदस्य मोहनराज पाठकले बताउँछन्। तर पछिल्लो समय कोरोना भाइरसको कहरका कारण आफ्नो अभियान केही समयका लागि रोकिएको उनले बताए।
उपगुट र तेस्रोधारबाट क–कसको छ सभापति बन्ने इच्छा ?
१. भीमबहादुर साउद
सोमबार मात्रै बूढानीलकण्ठ पुगेका डडेल्धुराका नेताहरूसँगको छलफलमा देउवा परशुरामका मेयर साउदको पक्षमा उभिएका छन्।
छलफलमा सहभागी रघुवर भट्ट र गोविन्द बोहोराले समेत साउदलाई सभापति बनाउने देउवाको प्रस्तावमा समर्थन जनाएका छन्। ‘२०४९ सालमा जोगबुढाको गाउँ विकास समिति अध्यक्ष, ०५४ मा जिल्ला विकास समिति सदस्य हुँदै अहिले परशुराम नगरपालिकाको मेयर भएर काम गर्दै आएको छु’ उनले भने, ‘०४८ देखि हालसम्म महाधिवेशन प्रतिनिधि भएर पार्टीमा सक्रिय छु। सबै साथीहरुको साथ सहयोगले जिल्ला सभापतिका लागि दाबी पेश गरेको हुँ।’
२. करुणाकर भट्ट
वर्तमान पार्टी उपसभापति भट्ट जिल्लामा राम्रै छवि बनाएको नेता मानिन्छन्। २०५१ सालमा तत्कालिन पार्टी सभापति कर्णबहादुर मल्लले नेविसंघको साधारण सदस्य दिएपछि उनको सक्रिय राजनीति सुरु भएको देखिन्छ। ‘त्यसपछि नेविसंघको कार्यसमिति सचिव, सभापति र अध्यक्ष भएको थिए’ भट्टले भने, ‘म विद्यार्थी जिवनमा कञ्चनपुरको सिद्धनाथ बुहमुखी क्याम्पसमा पनि नेविसंघको सचिव हुँदै स्ववियू सचिव बनेको थिए।’
उनी २०७२ सालको जिल्ला अधिवेशनबाट पार्टी उपसभापति बनेका थिए। उनीसँग अधिकतमा समय कार्यवाहक सभापति बनेर जिल्लामा पार्टीलाई हाँकेको समेत अनुभव रहेको छ। उनले गत साउनमै गन्यापधुरामा आयोजित कार्यक्रममा पार्टी सभापतिका लागि उम्मेद्वार रहेको घोषणा गरेका थिए। करुणाकर भट्ट पार्टी सभापति मल्ल समूहका नजिक मानिन्छन्।
३. नवलबहादुर मल्ल
देउवाको गाउँ रहेको गन्यापधुरा गाउँपालिका अध्यक्ष समेत रहेका मल्ल २०३६ सालमा नेविसंघ हुँदै नेपाली कांग्रेसमा आवद्ध भएका थिए। ‘जनमत संग्रहमा शेरबहादुर दाईदेखि प्रभावित भए। फेरि एउटै गाउँका। त्यसपछि निजामती कर्मचारी अन्तरगत २५ वर्षसम्म नेपाल कर्मचारी संघ यूनियनमा केन्द्रिय कार्यसमिति पदाधिकारी भए’ उनले भने, ‘२०७४ सालमा यूनियनको केन्द्रिय कोषाध्यक्ष थिए। त्यसबाट र लेखापालको पदबाट राजीनामा दिएर गन्यापधुराबाट चुनाव लडे र विजयी भइयो।’
साथै मल्लले गत वर्ष बुढानिलकण्ठमै देउवाले आगामी जिल्ला पार्टी सभापतिका लागि तयारी गर्नु भनेकाले आफु तयार रहेको बताएका छन्। नवल मल्ल ठ्याक्कै कुन गुटका हुन् भनेर सार्वजनिक रुपमा खुलेका छैनन्।
३ तारक बुढाऐर
अमरगढी नगरपालिका घर भएका बुढाऐर पुराना नेता मानिन्छन्। ३ पटकसम्म महाधिवेशन प्रतिनिधि भएका उनले गएको स्थानीय निर्वाचनको चुनावमा समेत मेयरका पदका लागि इच्छा व्यक्त गरेका थिए। ‘प्रजातन्तका लागि २०४६ सालमा भएको आन्दोलनमा यहाँ २ जनाले मात्रै गिरफ्तारी दिएका थिए। एउटा महेन्द्र चन्द र अर्को म’ उनले भने, ‘त्यतिबेला देखि नै म सक्रिय रुपमा पार्टीमा लागेको छु। यसपटक पार्टी सभापति भएर जिल्लामा पार्टीको काम कारवाही सक्रिय रुपमा अगाडि बढाउने चाहना छ।’ उनी पनि कर्ण मल्लका नजिक मानिन्छन्।
५. भरत नेपाली
२०३५ सालमा नेपाली कांगेसमा आवद्ध भएका नेपाली नेपाल दलित संघको संस्थापक हुन्। ‘हालसम्म जिल्ला कार्यसमितिमा लगातार रहेको छु। दलित संघको केन्द्रिय सदस्य तथा नेपाली कांग्रेस प्रजातान्त्रिक दलित समन्वय केन्द्रिय विभाग सदस्य पनि भए’ उनले भने।
२०६७ सालमा जिल्ला कार्यवाहक सभापति समेत बनेका नेपाली कर्ण मल्लकै नजिक मानिन्छन्। उनी कांग्रेस डडेल्धुराका पुराना नेता हुन्।
६. हरिप्रसाद भट्ट
डडेल्धुरामा जन्मिएको तेस्रो धारको नेतृत्व तहमा रहेका हरि भट्ट पेशाले अधिवक्ता हुन्। ३ पटक २०६२, ०६७ र ७२ मा लोकप्रिय मत ल्याएर महाधिवेशन महासिमितमा विजयी भएका भटट्को सक्रिय राजनीति २०४६ सालबाट सुरु भएको हो। ‘विद्यार्थी राजनीति गरेर २०५३ सालमा क्षेत्रिय प्रतिनिधि भए। २०५७ सालमा नगर सभापति बनेको थिए’ उनले भने, ‘त्यसपछि ६२ महाधिवेशन प्रतिनिधि, ६७ सालमा महासमिति सदस्य र ७२ सालमा फेरि महाधिवेशन प्रतिनिधि भए।’
जिल्लामा रहेका दुई वटै गुटको अन्त्य गर्न ‘नेपाली कांग्रेस सुदृढीकरण अभियान’ थालेका उनीसँग आफ्नै किमिमका कार्यकर्ताको सहयोग छ। सोही कारण आफू सभापतिको दावेदार बनेको भट्ट बताउँछन्।
७. मोहनराज पाठक
२०५४ सालमा अमरगढी नगरपालिकाका मेयर बनेका मोहनराज पाठक २०४० देखि ४६ सम्म नेविसंघमा आवद्ध थिए। ‘२०४६ पछि पार्टीमा सक्रिय रुपमा लागेको छु, २०५२ मा पार्टी सचिव भए। म २ पटक २०५२ र ५६ मा महासमिति सदस्य समेत भएको छु’ उनले भने, ‘हाल केन्द्रिय राज्य प्रशासन विभाग सदस्य छु।’
गुटबन्दीका कारण जिल्लामा कमजोर बन्दै गएको कांग्रेस बलियो बनाउन पाठक पनि सुदृढीकरण अभियानको नेतृत्व गरिरहेका छन्।
कसको पल्ला भारी ?
कर्णबहादुर मल्लले जिल्ला सभापतिको दुई कार्यकाल सम्हाली सकेका छन्। उनले आफ्नो कार्यकालमा पार्टी कार्यालय किशुन जी भवन निर्माणदेखि क्रियाशिल सदस्य ५ हजार ८ सय ६ पुर्याएका छन्। अब भने विधान अनुसार मल्ल जिल्ला सभापति बन्न पाउने छैनन्।
उनको कार्यकाल सकिएपछि महाधिवेशन नजिक आउँदै गर्दा पार्टी सभापति शेरबहादुर देउवाले निवासमै बोलाएर सर्वसम्मतबाट पार्टी सभापतिका लागि भीमबहादुर साउदको नाम अगाडि सारेकाले जिल्लामा आगो दन्किएको छ। वडा तहका कार्यकर्तासँग छलफल गरेर नेतृत्वका लागि उम्मेद्वार चुन्नुपर्नेमा देउवाले एकलौटी हस्तक्षेप गरेको भन्दै जिल्ला सभापति मल्ल झनै आक्रोशित भएका छन्।
अहिले देशभरीका क्रियाशिल सदस्यको टुंगो लागेको छैन। उक्त कुराको टुंगो लागेपछि मात्रै निर्वाचन अयोगले निर्वाचन तालिका सार्वजनिक गर्छ। तालिका सार्वजनिक भएपछि जिल्लामा कार्यकर्तासँग छलफल गरेर सभापतिका लागि सर्वसम्मत गर्ने योजना रहेपनि पार्टी सभापति देउवाले उक्त योजनामा पानी हालिदिएको जिल्ला सभापति मल्लको आरोप छ।
‘केन्द्रिय सभापतिले आफ्नो निवासबाट उम्मेद्वार घोषणा गरेको कुरा मेरो लागि किमार्थ स्विकार्य छैन’ उनले भने, ‘मैलै जिल्लामा इच्छुक साथीहरुलाई राखेर कार्यकर्ताबाट उम्मेद्वारको टुंगो लगाउने सोचिरहेको थिए, जसका लागि मेलै सार्वजनिक कार्यक्रममा भन्दै आएको छु। तर उहाँले गरेको प्रक्रिया गलत छ। उहाँले स्थानीय कार्यकर्ता र नेतालाई नसोधि गरेको हुकुमी शैलीको म विरोधमा छु।’
मल्लले निर्वाचन तालिका आएपश्चात स्थानीय नेता तथा कार्यकर्तासँगको छलफलपछि पत्रकार सम्मेलन गरेर उम्मेद्वारको नाम सार्वजनिक गर्ने बताएका छन्।
पछिल्लो समयमा डडेल्धुरामा मल्ल हाबी छन्। कोरोना महामारीका बेला जिल्लामै तथा सातै स्थानीय तहमा पुगेर विभिन्न राहत तथा स्वास्थ्य सामग्री बाडेका कारण मल्ल झनै लोकप्रिय बन्दै गएका छन्। तसर्थ उनले रुचाएकै उम्मेद्वार पार्टी सभापति बन्ने एक कार्यकर्ता केशव महता बताउँछन्।
उता शेरबहादुर देउवाले रुचाएको व्यक्ति पनि पार्टी सभापति नबन्ने भन्ने हुँदैन। विगतदेखि नै जिल्लामा अपराजित रहेका उनले चाहेको व्यक्तिका लागि एकपटक जिल्लामा आएर भोट मागे उनी फेल खादैनन्। प्रत्यक्ष रुपमै कार्यकर्ता माझ आफूले चाहेको व्यक्तिलाई जिताउन आग्रह गरे उनको कुरा कसैले नकार्न नसक्ने एक कार्यकर्ता बताउँछन्।