‘उपचार गर्दागर्दै आँखै अगाडी संक्रमितको मृत्यु हुन्छ, त्यतिबेला भक्कानो छाडेर रुन मन लाग्छ’ (भिडिओसहित)
धनगढीः ‘धेरै जना त निको भएर घर फर्किँदा धेरै खुसी र गर्व लाग्छ। तर धेरै जनाको उपचार गर्दागर्दै आँखै अगाडी मृत्यु हुन्छ। आफुले हारेको जस्तो महसुस हुन्छ, भक्कानो छाडेर रुन मन लाग्छ’ यो भनाइ हो सेती प्रादेशिक अस्पतालकी स्टाफनर्स सुनीता नेपालीको।
मंगलबार उनी सेती अस्पतालको कोरोना वार्डका बिरामीहरुको उपचारमा व्यस्त थिइन्। आफनो ड्युटीमा उनी निर्धक्क भएर खटिएको देखिन्थीन। उनी दोस्रो चरणको संक्रमण फैलीएदेखि उपचारमा संलग्न छिन्। सुरुमा त सोच्नै नसक्ने अवस्थामा ह्वात्तै बिरामी बढेको बताउँदै उनले भनिन्, ‘सुरुमा त संक्रमणको बिरामी भन्दा मनको डरले खाएको बिरामीहरु धेरै थिए। तर पछिल्लो समय अलिकति कम भएको छ।’
रात दिन संक्रमितको उपचारमा खटिरहने उनलाई बिरामीकै चिन्ता लाग्छ। भन्छिन्, ‘ड्युटी सकेर घर जाँदा पनि बिरामीकै ख्याल आउँछ, कुन बिरामी अवस्था कस्तो होला भन्ने चिन्ता हुन्छ। सुरुमा त धेरै बिरामीहरुले ज्यान गुमाए। आफ्ना बिरामीहरु बचाउन नसक्दा धेरै दुःख लाग्थ्यो। तर पछिल्लो एक हप्तामा धेरै जना निको भएर घर फर्किरहेका छन खुसी र गर्व लाग्छ।’
संक्रमणबारे धेरै कुरा जानकारी नहुँदा पनि ज्यान गुमाएका छन् भने धेरै जनाले निमोनियाले फोक्सो ड्यामेज गरिसकेको अवस्थामा अस्पताल पुग्दा ज्यान गुमाएको अनुभव उनीसँग छ। ‘युवा युवाहरुको मृत्यु भएको देख्दा सहनै सकिदैन थियो। आफुले गर्न सक्ने जती गरिरहेकै थियाैं तर बचाउन सकिएन’ सुनीताले भनिन्।
‘उपचार गर्दागर्दै हातमै ज्यान गुमाएका पनि छन्, त्यसितबेला धेरै मन दुख्छ, भक्कानो छोडेर रुन मन लाग्छ। आँफै नसम्हालिए कुरुवाहरु के गर्लान ? घर गएर पनि रोएको छु’ उनले थपिन्।
उनी कम्तीमा १३/१४ घण्टा डिउटीमा खटीन्छिन्। साँझ ७ बजेदेखि बिहान ८ बजेसम्म उनी ड्युटीमा हुन्छिन्। दिनमा पनि बिरामीसँगै हुन्छिन्। कहिले त खाना खाँदै गरेको अवस्थामा पनि छोडेर आउनुपर्ने उनी बताउँछिन्।
रातदिन खानापानी नभनी यस्तो अवस्थामा खटीरहँदा पनि बिरामीको ज्यान जाने गरेकोमा
धेरै दुःख लाग्ने गरेको उनले सुनाइन्। कोरोना संक्रमितको उपचार गर्दागर्दै उनी आफैपनि संक्रमित हुन पुगिन्। कोरोना संक्रमण भएको १७ दिनपछि उनी निको भइन् र फेरी काममा फकिइन्।
यस्तो जोखीम मोलेर काम गर्नुपर्दा पनि बाह्य मान्छेले नराम्रो नजरले हेर्ने गरेकाले नरमाइलो लाग्ने गरेको उनी बताउँछिन्। ‘अहिले त हामीले अस्पतालको परिचयपत्र नै लगाउन छोडिसक्यौँ। सेती प्रादेशिक अस्पतालको आईकार्ड देख्ने बितिक्कै मान्छेहरुले नराम्रो नजरले हेर्ने, टाढैबाट बाटो काटेर जाने गर्छन, त्यतिबेला आफुलाई के चाहिँ नराम्रो काम गरेँ जस्तो लाग्छ’ उनले सुनाइन्। तर बिरामीहरु सम्झिँदा सब भुल्ने गरेको उनले बताइन।
उनीहरुको उपचार गर्न पाउँदा खुसी र गर्व महसुस हुने सुनीता बताउँछिन्। उनका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाए तथा आत्मबल बढाए सजिलै कोरोना जित्न सकिन्छ।