गड्डाचौकीमा खटिएकी ‘फ्रन्टलाइनर’ धामीको अनुभूतिः छिमेकीको हेलाले मन रुन्छ ! (भिडिओसहित)
कञ्चनपुरः “जेठको गर्मी उस्तै छ। त्यसमाथि दिनभरि २/२ वटा मास्क, पीपीई, ग्लब्स र बुटमा हुन्छौँ। बुट र ग्लोब्सले हात खुट्टा सडिसक्यो।” यो पीडा कञ्चनपुरको गड्डाचौकी सीमानाकास्थित हेल्थ डेस्कमा खटीएकी ल्याब टेक्निसियन लक्ष्मी रिमाल धामीको हो।
उनी निशेधाज्ञा भएदेखि हेल्थडेस्कमै बसेर भारतबाट आउने नेपाली नागरिकहरुको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दै आएकी छिन्। निषेधाज्ञाको सुरुवातीमा ५/६ सय बढीको संख्यामा नेपाली नागरिक आउने गरेको भएपनि हाल अहिले आउने क्रम केही घटेको सुनाउँछिन्। अहिले दैनिक ९० देखि १ सय जनासम्म आउने गरेको उनको भनाइ छ।
उनले भनिन्, “पहिले त ५ सय बढी जना आउँथे, कहिले त ४ सय जनामा पनि कोरोना देखिन्थ्यो। त्यतिबेला आफुलाई पनि कस्तो डर लाग्थ्यो। तर अहिले भारतबाट आउने संख्या भने कम भएको छ। अब त बानी परिसक्यौँ। डर त लाग्छ तर पहिला भन्दा त्यति होइन। सावधानी अप्नाएका छौँ।”
अहिले भारतबाट कम संख्यामा नेपाली नागरिक आउनथालेपछि संक्रमण पनि घटेको उनले बताइन्।
उनी निर्धक्क भइ परीक्षणमा खटिदै आएकी छिन्। “परिक्षण गर्नेबेला धेरै जना त आत्तिन्छन्, च्याप्प हात समाउँछन्, त्यतिबेला आफुलाई पनि डर लाग्छ तर हामी नै आफ्नो डर देखायौं भने उनीहरुको मनोदशा के होला भनेर आफुलाई सम्हाल्नुपर्छ”, उनले अगाडि भनिन्–“धेरै त परीक्षण गर्दाखेरी डराउँछन् कोरोना पोजेटिभ देखियो भने त झन आत्तिन्छन्। डराउँछन्। झोक्किएर बस्छन््। हामीले उनीहरुलाई सन्त्वना दिदै भन्नुपर्छ ‘रुघाखोकी जस्तै हो, केही होइन। नआत्तिनु हुन्न। छिट्टै ठीक भइहाल्नुहुन्छ। केही हुँदैन भनेर सल्लाह दिन्छौँ।”
घर परिवारको सहयोग तर छिमेकीको हेला
तर आफूहरुको पीडा आफूहरुसँगै हुने गरेको धामी सुनाउँछिन्। हेल्थ डेस्कमा दिउँसोदेखि साँझसम्मको डिउटीमा ४ जना कर्मचारी खटीएकोमा २ जनामा संक्रमण देखिएको सुनाउँछिन्।उनले भनिन्, “हामीसँगैका २ जनालाई कोरोना संक्रमण भएको छ।
उनीहरु आइसोलेसनमा हुनुहुन्छ। आफुलाई पनि डर लाग्छ। घरमा आमाबुवालाई, बालबच्चालाई आफूबाट सर्ने त होइन ? भनेर डर त लागिरहन्छ। तर के गर्नु हामीले न गरे कसले यो काम गर्छ ?” तर यस्तो महामारीको समयमा सेवा गर्ने मौका पाउँदा आफूलाई गर्व लाग्ने गरेको धामीले सुखानुभूति पोख्छिन्।
“घर परिवारबाट पनि हौसल्ला र सहयोग पाइरहेको बताउँदै धामीले भनिन्, “सावधानी अप्नाएर काम गर्छौँ। घरबाट पनि सहयोग र सपोर्ट छ।” तर घर प्रिवारको सहयोग भएकी उनलाई छिमेकीले होच्याएको, घृणाको भावले व्यवहार गर्दा भने मन साह्रै दुख्ने गरेको धामी बताउँछिन्।
जोखिम मोलेर काममा खटिरहेका बेला छिमेकीहरु भने डिउटी जाँदा होस वा घर फर्किँदा अर्थात बाटोमा हिड्दा टाढैबाट तर्सिएर भाग्ने गर्ने गरेको अनुभूति सुनाउँछिन्। भावुक हुँदै उनले भनिन्,“रातदिन, घामपानी नभनि यत्रो रिस्क लिएर काम गरिरहेका हुन्छौँ। यस्तो अवस्थामा छिमेकीले ऊ आई। ऊ गई, त्यो सँग नजाउ, नबोल, भनेर कुरा काट्दा धेरै मन दुःख्छ !”
गहभरि आँसु पार्दै अगाडि थपिन्, “यदि स्वास्थ्यकर्मी नै नभइदिएको भए के हुन्थ्यो ? आफ्नो ज्यानको ख्यालै नगरि पनि सेवामा खटिँदा टोल छिमेकीहरु टाढै देखेर डराउने र भाग्ने गर्दा भित्रभित्रै मन धेरै रुन्छ। अपमानित महसुस हुन्छ।”