अक्सिजन अभावकैबीच ‘नन-कोभिड सेवा’ बन्द गरेर संक्रमितहरुको उपचारमा समर्पित कैलाली अस्पताल
धनगढीः धनगढीको चटकपुरकी गीता थापा ५ दिनदेखि संक्रमित आमाको उपचार गराइरहेकी छन्।
उनले संक्रमित आमालाई कैलाली अस्पतालको कोरोना वाडमा भर्ना गरि उपचार गराइरहेकी हुन्। तर अस्तालमा पनि अक्सिजनको चरम हुँदा उनलाई निकै नै सकस भएको हो। उनले आफ्नी आमाको लागि अक्सिजन उद्योगमामा लाइन समेत बस्दैआएकी छिन्।
रात भर लाइनमा लागेर बल्ल विहान एक सिलिण्डर पाइरहेको बताउँदै उनले उनले भनिन्, “मालिका ग्यास उद्योगमा राति ७ बजेदेखि लाइनमा लाग्छौँ। बल्ल बिहान ७।८ बजेतिर सिलिण्डर पाइन्छ। त्यो पनि आफुले चिनेको भएपछि मात्रै, नत्र पाउनै गाह्रो छ।” ्
उनी मात्रै होइन, अन्य बिरामीका कुरुवाहरुको भनाइ पनि गीताको जस्तै छ, उनीहरु पनि आफ्नो आफन्तको ज्यान जोगाउन ग्यास उद्योग धाउँदै आएका छन्।
अक्सिजनको अभाव भइरहेका बेला औषधिको पनि अभाव रहेको बताइएको छ। उनले भनिन्,“अस्पतालमा औषधि नि पाइँदैन्। हामी आफैँ गयो भने मेडिकलवालाहरुले दिँदैनन्। अस्पतालमार्फत नै बल गरेर औषधि पाइरहेका छौं।”
५० शैय्या रहेको कैलाली अस्पतालले ६ शय्यामा कारोना संक्रमितको उपचार गरिरहेको छ। दुई हलमा ३÷३ शैय्या राखेर संक्रमित बिरामीहरुको उपचार गरिरहेको हो।
अहिलेसम्म कैलाली अस्पतालमा १९ जना संक्रमित भर्ना भएका छन्। जसमथ्ये ३ जनालाई अक्सिजन अभावका कारण रेफर गरिएको छ भने अक्सिजन अभावकै कारण एक जनाको मृत्यु भएको छ। ११ जना निको भएर घर फर्किएका छन् भने अहिले ४ जना उपचाररत रहेको कोभिड वार्डमा उपचारमा संलग्न नर्स अनिता रावलले बताइन्।
दैनिक २० सिलण्डर आवश्यक पर्ने गरेकोमा ४/५ दिनको अवधिमा १०/१२ सिलिण्डर पाइरहेको कैलाली अस्पताल प्रालिका अध्यक्ष जनकराज जोशीले बताए।
अस्पतालले ननकोभिडका विरामीहरुका लागि केही दिनका लागि सेवा बन्द गरेको जनाएको छ।
सरकारी सहयोग भएन: अस्पताल
कोभिड र ननकोभिडका बिरामीहरु सँगै राखेर उपचार गर्न समस्या हुँदा ननकोभिडका बिामीहरुलाई सेवा बन्द गरिएको अध्यक्ष जोशीले बताए। अक्सिजनको अभाव भैरहेको सो अस्पतालमा औषधिको पनि अभाव रहेको उनको भनाइ छ।
यातायातका साधन नचल्दा सिटामोलको समेत अभाव भएको बताइएको छ।। अन्य निजी अस्पतालहरुसँग पनि समन्वय र सहकार्यमा बिरामीहरुको उपचार गरिरहेको अध्यक्ष जोशी बताउँछन्।
उनले भने, “अक्सिजन अभावकै कारण हामीले ६ शैय्यामा मात्रै उपचार सेवा दिइरहेका हौं। यदि नियमित अक्सिजन भएको भए सबै सैय्यामा संक्रमितको सहज रुपमा उपचार गथ्र्यौँ। सरकारी निकायहरुबाट कुनै पनि सहयोग भएन।”
अक्सिजन सहज आपुर्ति भएको अवस्थामा आफुहरुले ५ वटा मात्रै नभएर ५० वटै शैय्यामा संक्रमितको सहज रुपमा उपचार गर्ने जोशीले बताए।
सुदूरपश्चिमको सेती प्रादेशिक अस्पतालका साथै यहाँका निजी अस्पतालहरुमा समेत संक्रमितहरुको उपचार हुँदै आएको छ।