अक्सिजनको समस्या झेलिरहेका निजी अस्पतालहरुमा शव राख्ने प्लास्टिक थैली र पीपीई समेत अभाव(भिडिओसहित)
अक्सिजन अभावका कारण संक्रमितको ज्यान जोगाउनै मुस्किल
धनगढी: कैलालीको नवजीवन अस्पताल र पद्मा अस्पतालले पनि कोरोना संक्रमित बिरामीहरुको उपचार गरिरहेका छन्। ५० शय्या रहेका दुवै अस्पतालले १०/१० शय्यामा कोरोना संक्रमितहरुको उपचार गराइरहेका हुन्।
उसै त अक्सिजनको चरम अभाव हुँदा संक्रमितको ज्यान जोगाउनै मुस्किल। झन त्यसैमाथि स्वास्थ्यकर्मीलाई पीपीइ र शव राख्न थैलीहरुको समेत दुवै अस्पतालले अभाव भोगिरहेका छन्।
अत्तरीयास्थित पद्मा अस्पतालमा उक्त समस्या भेटिएको हो। पद्मा अस्पतालमा संक्रमितको वार्डमा खटिने स्वास्थ्यकर्मीहरुका लागि पीपीइ नै नभएको बताइएको छ, भने मृतकको शव राख्न प्लाष्टिकको थैली नै अभाव भएको पाइएको छ।
बिहिबार राति पद्मा अस्पतालको कोरोना वार्डमा भर्ना भएका एक जनाको मृत्यु हुँदा अस्पतालले शव राख्ने थैली खोज्न भौँतारिनु परेको पद्मा अस्पतालकी प्रसाशन प्रमुख मञ्जु साउंदले बताइन्।
‘पीपीई किन्न पनि पाइरहेको छैन्। पाइएपनि २/३ पिस मात्रै पाइरहेको छ। शव र्यापिङ गर्ने थैलीका लागि प्रदेश सरकार, प्रशासनलाई गुर्हादा बल्ल एउटा थैली भेटियो’ उनले भनिन्।
पीपीई र शव राख्ने थैली उपलब्ध गराइदिन सरकारी निकायसँग हारगुहार गर्दा पनि व्यवस्थापनमा वेवास्था भएको उनले गुनासो गरिन्। ‘बरु नीजी अस्पतालहरुबाट पैँसा काटेर भएपनि २/४ वटा शव राख्ने थैली तथा र्यापिङका सामग्री उपलब्ध गराईदिए भौँतारिनु पर्थेन्’ उनी भन्छिन्, ‘प्रदेश सरकारले पछि रकम दिने भनेको छ तर त्यो रकमले हामी के गर्ने ? हामीलाई अहिले अक्सिजन, पीपीई तथा स्वास्थ्य सुरक्षा समाग्री चाहियो’
नवजीवन अस्पतालको आफ्नै दुखेसो
५० शैय्या रहेको नवजीवन अस्पतालले पनि १० श्य्यामा थप ५ बेड गरेर १५ शैय्यामा कोरोना संक्रमितको उपचार गरिरहेको छ। कोरोना वार्ड भरिएपछि क्याबिनमा राखेर समेत संक्रमितको उपचार गरिरहेको अस्पतालले जनाएको छ।
नवजीवनलाई पनि अक्सिजन पाउन हम्मेहम्मे परेको छ। दैनिक ४० सिलिन्डरसम्म अक्सिजन आवश्यक परेकोमा दिनमा ३/४ वटा सिलिन्डर पनि मुस्किलले पाउने गरेको नवजीवन अस्पतालका प्रशासन प्रमुख ऋषिराम अर्यालले बताए।
बाँकेबाट अक्सिजन मगाइरहेकोमा त्यहाँबाट पनि अहिले मुस्किलले पाइरहेको उनले बताए। अक्सिजनका लागि जिल्ला प्रशासनलाई बाँके प्रशासनसँग समन्व्य गरिदिन पटकपटक आग्रह गर्दा पनि कुनै प्रतिक्रिया नआएको उनले बताए।
‘यहाँको प्रशासनले बाँकेको प्रशासनसँग फोन त गरिदिन्छ तर बाँके प्रशासनले ग्यास उद्योगमा फोनै गरिदिँदैन्। अक्सिजन ल्याउन गएको गाडी रित्तै फर्किनुपर्ने अवस्था आएको छ’ अस्पतालका प्रशासन प्रमुख आर्यालले भने। अक्सिजनका लागि सरकारले राम्रो व्यवस्थापन गरिदिए उपचारमा सहज हुने उनको तर्क छ।
प्रदेश सरकार भने व्यवस्थापन र सहयोग गर्नुको सट्टा तथ्यांक संकलन गरेर दुख दिने काम मात्रै गरिरहेको समेत आरोप लागेको छ। आर्यालले भने, ‘प्रदेश सरकारले सहयोग एक पैँसाको गरेको छैन। कति सिलिण्डर खालि छ। कति भरिएका छन्, कति प्रयोगमा छन्, कति बिरामी छन् भन्दै दैनिक दुःख मात्र दिन्छ।’
अहिले धनगढीम रहेको मालिका ग्यास उद्योगले अक्सिजन पुर्याउन सकिरहेको छैन। जसकारण कैलालीका स्वास्थ्य संस्थाका लागि नेपालगञ्जबाट अक्सिजन मगाउनु परिरहेको छ। तर उसले पनि आफ्नो जिल्लालाई प्राथमिकतामा राखेको छ।
तर प्रदेश सरकारले नेपालगञ्जको ग्यास उद्योग तथा प्रशासनलाई आफ्नो जिल्लामा दिइसकेपछि बाहिरबाट आएका अस्पतालहरुलाई प्राथमिकता दिनुपर्ने भनेर एउटा पत्र मात्रै बनाइदिए बिरामीलाई बचाउन सकिने नवजीवन अस्पतालका प्रशासन प्रमुख ऋिषीराम आर्यालले बताए।
साथै उनले कोरोना परीक्षणमा हुने ढिलाइका कारणले पनि उपचारमा समस्या भइरहेको बताएका छन्। कोरोनासँग सम्बन्धित लक्षण भएका बिरामी मात्रै अस्पताल आउँदा कोभिड र ननकोभिडका बिरामी छुट्याउनै गाह्रो हुने गरेको बताइएको छ।
परीक्षण रिपोर्ट आउँदासम्म बिरामी गम्भीर अवस्थामा पुग्ने गरेको नवजीवन अस्पतालका डक्टर राजु विष्टले बताए। उनले भएको अक्सिजन दिने मास्क समेत अभाव भएको बताए। स्थानीय र प्रदेश सरकारले सामान्य खालका सामागी्रकै जोहो गरिदिएको भएपनि उपचारमा सहज हुने उनको भनाई छ।
नवजीवन अस्पतालमा अहिलेसम्म ३८ जना संक्रमित भर्ना भएका थिए। जसमध्ये १५ जना निको भएर फर्किसकेका छन् भने ३ जनाको मृत्यु भएको छ। यस्तै ७ जनालाई रेफर गरिएको छ भने अहिले कोभिड वार्डमा ७ जना, क्याबिनमा ५ जना र इमर्जेन्सी वार्डमा १ जना गरी अहिले १३ जना संक्रमित उपचाररत छन्।
यस्तै ५० शैय्या रहेको पदमा अस्पतालमा पनि १२ जना भर्ना भएकोमा ८ जना डिस्चार्ज भएर घर फर्किसकेका छन् भने ३ जना उपचाररत रहेका छन्। यस्तै एक जना संक्रसमितको मृत्यु भइसकेको छ।