सुदूर नेपाललाई विश्वसँग जोड्दै

इलामका दुर्गा जस्तै मेल खाने धनगढीका दीपकको कथा, ८ वर्षदेखि बाटो कुर्दैछन् ६० वर्षीय बुवा

२०७७ चैत्र १२, ०१:०१ आशिष मल्ल

धनगढी: “अब उसकी श्रीमतीलाई के भन्ने एकल महिला, की श्रीमान भएकी महिला ? छोरा बेपत्ता भएको ८ वर्ष भइसक्यो” ६० वर्षीय देवबहादुर चन्द भन्दैछन् ‘हामी त बुढो भइसके तर बुहारी निर्मलाले कसरी यत्रो जिन्दगी गुजार्ने होला।” 

२०७१ जेठ तिर रोजगारीको लागि भारत गएका देवबहादुरका छोरा क्षेत्र विक्रम चन्द(दीपक) अज्ञात अवस्थामा छन्। धनगढी उपमहानगरपालिका–११ बेला बस्ने देवबहादुर कान्छा छोराको अनुहार हेरेर बुढेसकाल कटाउँदैछन्। तर जेठो छोरा फर्केर आउँछकी भन्ने सानो आशाको त्यान्द्रो भने उनीमा जिवितै छ। त्यहि भएर ४० वर्षपछि इलामका दुर्गाप्रसाद तिमिल्सिना भारतीय जेलमा भेटिएको खबर पाएपछि उनी दिनेशखबरको सम्पर्कमा आए। 

भारतको कोलकत्तास्थित दमदम कारागारमा भेटिएका तिमिल्सिना जस्तै आफ्नो छोरा दिपक पनि जेल परेको छ की भन्ने उनीमा शंका छ। तर त्यो भनिरहँदा उनले छोरा काम गर्ने मुम्बईको थाना भन्ने स्थानमा प्रहरीलाई सोधखोज भने नगरेका होइनन्। 

“२०७१ को जेठमा मुम्बईको थानास्थित राबडा भन्ने ठाउँमा काम गरिरहेको दिपक पुसमा घर आउदैछु भनेर खबर गरेको थियो” देवबहादुर चन्दले भने, “तर त्यहाँबाट हिँडेको ८ वर्षसम्म घर आइपुग्या छैन। उसका सम्पूर्ण साथीहरुलाई सोधीसके। म आफै गएर थानाको प्रहरीलाई सोधेको तर प्रहरीले ‘कहासे ढुडे उसको ? उसके जैसे कित्ने नेपाली है(ऊ जस्तै धेरै नेपाली छन् यहाँ। कसरी खोजौ हामी ?)’ भन्यो।”

त्यहि जवाफ पाएर फर्किएका देवबहादुरले भारतस्थित नेपाली एकता समाजको सहयोग मागेका थिए। सामाजको आग्रहपछि भारतीय प्रहरीले केही विवरण आए सम्पर्क गरौलासम्म भनेको थियो। 

यस्तै छोराले आफु घर आउँदा दिदीजेठान पर्ने एक आफन्तलाई भेटेको भनेकाले देवबहादुरले त्यहाँ पनि खोजे तर त्यहाबाट पनि निराश भएर उनी अहिले नेपालमै छोराको बाटो कुरेर बसिरहेका छन्। 

बुवाको अनुहार थाहा छैन ६ वर्षीय छोरी पुनमलाई 
२०६९ सालमा दिपक चन्दले २८ वर्षीया निर्मला चन्दलाई बिहे गरे।  एक वर्षपछि घरमा लक्ष्मीको रुपमा पुनमले जन्म लिइन्। तर उनी १ वर्ष नहुँदै बुवा रोजगारीका लागि भारत हानिए। हाल पुनम ६ वर्षकी भइन्।

तर उनले आफ्नो बुवा दिपकको फोटो मात्रै देखेकी छिन्। फोटो पनि ८ वर्ष पुरानो। उक्त फोटो पनि हजुरबुवाले भारत गएर दिपकका साथीसँग मागेका थिए।  बुवा देवबहादुर त्यहि फोटोका धेरै प्रति बनाएर सबैलाई बाड्दै हिँडेका छन्। 

छोरा जेलमा परेको आशंका 
विभिन्न ठाउँमा छोराको खोजी गरेका देवबहादुरले ५५ वर्षीया श्रीमतीको आग्रहमा विभिन्न ज्योतिषलाई पनि सोधी गरीरहेका छन्। ज्योतिषले छोरा कसैको जालमा परेको परेको छ भनेपछि उनलाई छोरा भारतीय जेलमा छ की भन्ने आशंका छ। 

"त्यहाँ त इलामका दुर्गाप्रसाद तिमिल्सिना जस्तै सानो मुद्दामा जेल हाल्दिन्छन् रे ! छोराले पनि बदनामीको डरले घरमा खबर नगरेको पो हो की” उनी भन्छन्, "हामी जस्तै सुदूरपश्चिमका कति आमाबुवा छोराको पर्खाइमा होलान्। सरकारले बिदेशका जेलमा रहेका नेपालीहरुको तथ्यांक र विवरण खोजे म जस्तै धेरैलाई जानकारी हुन्थ्यो। कम्तीमा छोरा बाँचेको छ की मरिहाल्यो भन्ने खबर त हुन्छ।”

अब देवबहादुर चन्दले छोरालाई खोजीदिन नेपाल सरकार र दिल्लीस्थित नेपाली राजदुतावास गुहार्ने बताएका छन्। 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस