सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतका केही राज्यमा कोरोना संक्रमणको दर बढेसँगै सुदूरपश्चिम उच्च जोखिममा

२०७७ फाल्गुन १३, ०८:३१ सरेन जैरू

धनगढीः भारतका केही राज्यमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको दर बढेसँगै सुदूरपश्चिम प्रदेश उच्च जोखिममा परेको छ। 

सुदूरपश्चिममा कोरोना संक्रमणको दर कम भएको र खोप अभियान पनि सुरू भइसकेका कारण स्थिति केही सामान्य बनेको थियो। तर, भारतका महाराष्ट्र, पञ्जाब, जम्मू एवम् कश्मीर, केरला र चण्डीगढ राज्यमा कोरोना संक्रमणको दर फेरी बढेको र ती राज्यहरूमा सुदूरबासीको आवतजावत समेत बढेकाले कोरोना संक्रमणको दोस्रो लहर सुरू हुने चिन्ता गरिएको छ। 

भारतमा विगत १० दिनदेखि कोरोना भाइरसबाट संक्रमित हुनेहरूको दर, सन्चो हुनेहरूको दरको तुलनामा व्यापक रूपमा बढिरहेको छ। 

भारतमा अहिलेसम्म १ करोड १० लाख ४६ हजार भन्दा बढी मानिसहरू कोरोना भाइरसबाट संक्रमित भएका छन्। त्यहाँ अहिले पनि १ लाख ५३ हजारभन्दा धेरै सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय भारतका महाराष्ट्र, पञ्जाब, जम्मू तथा कश्मीर, केरला र चण्डीगढ राज्यमा कोरोना संक्रमणको दर बढिरहेको छ।

दिल्लीस्थित दक्षिण एसियाली विश्वविद्यालयका विज्ञान विषयका प्राध्यापक डक्टर युवराज पोखरेलले भारतका यी राज्यहरूमा कोरोना संक्रमणको दर बढेपछि सुदूरपश्चिम पनि संक्रमणको उच्च जोखिममा रहेको बताए। 

"सुदूरपश्चिममा कोरोना केही नियन्त्रणमा आएसँगै त्यहाँबाट भारत आवाज-जावत बढेको छ", उनले भने, "सावधानी अपनाइन भने सुदूरपश्चिममा पनि कोरोना संक्रमणको दोस्रो लहर सुरू हुन् सक्छ।"
उनले सीमानाकामा विशेष सुरक्षा सावधानी अपनाउन आवश्यक रहेको बताए।

सेती प्रादेशिक अस्पताल धनगढीका कोभिड विभाग प्रमुख डक्टर शेरबहादुर कमरले सुदूरपश्चिम प्रदेशमा कोरोना विरूद्धको खोप लगाउन सुरू गरिएपनि जोखिम भने कायमै रहेको बताए। खोपको प्रभावकारीता अहिलेनै यकिन गर्न नसकिने उनको भनाइ छ। 

"भारतमा कोरोना संक्रमणको दर बढेसँगै सुदूरपश्चिम उच्च जोखिममा पर्छ", उनले भने, "प्रदेशमा कोरोनाको दोस्रो लहर आउन नदिन मास्क लगाउने, अनावश्यक यात्रा नगर्ने र भौतिक दूरी कायम राख्ने जस्ता सुरक्षात्मक व्यवहारलाई निरन्तरता दिन अतिआवश्यक छ।" 

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले भारतबाट कोरोना भाइरस भित्रिन नदिन सीमानाकामा राखिएका हेल्थ डेस्कहरूमा भारतबाट आउनेहरूको जाँचमा कडाइ गरिएको बताए। 

सुदूरपश्चिममा कोरोना केही कम भएपछि रोजगारी, शिक्षा औषधी उपचार लगायतका काम विशेषले भारत जाने र फर्किनेको संख्या अहिले बढेको छ। यहाँका लाखौँ मानिस भारतमा विभिन्न रोजगारीमा लागेका छन्। 

उनीहरूको अनियन्त्रित आउजाउ बढेमा सुदूरपश्चिममा कोरोनाभाइरस संक्रमणको नयाँ लहर सुरू हुने चिन्ता अहिले झनै बढेको छ। भिडभाडका बेला स्वास्थ्य सतर्कता कायम गर्नेगराउने चुनौती भने सबै
सामु छर्लङ्ग छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस