सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ६ लेन सडकमा जथाभावी पार्किङ, ट्राफिक मुकदर्शक

२०७७ माघ ३०, ०७:२५ सरेन जैरू

धनगढीः धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकमा सार्वजनिक सवारी साधन जथाभावी पार्किङ गर्दा समेत ट्राफिक प्रहरी मुकदर्शक बनेको आरोप लागेको छ।

दुई पाङ्ग्रे सवारी साधन मोटरसाईलक र स्कूटरलाई नो पार्किङको साइन बोर्ड राखेर निषेध गरि जरिवाना गर्ने ट्राफिक प्रहरी ठूला सवारी धनी सामू निरिह बनेको छ। 

६ लेन सडकको ट्राफिक चौराहमा हाइस, नगर बस र मेजिकहरू अव्यवस्थित रूपमा पार्किङ्ग गरिएपछि सडक असुरक्षा बढेको छ। तर ट्राफिक प्रहरीले भने उनीहरुलाई नजरअन्दाज गर्ने गरेको गुनासो सर्वसाधारणको छ। 

धनगढीको ट्राफिक चौराहस्थित एनएमबी बैङ्क अगाडी पार्किङ निषेध गरिएको साइन बोर्ड राखेर बिहानैदेखि ट्राफिक प्रहरी खटिएका हुन्छन्। काम विशेषले पुग्ने सर्वसाधारणलाई त्यहाँ मोटरसाईकलरस्कुटर रोकेको देख्ने बितिकै ट्राफिक प्रहरी सिट्टी बजाउन थाल्छ र त्यहाँबाट तत्काल सवारी हटाउन निर्देशन दिन्छ। एकैछिनको काम हो भनेर आग्रह गर्दा कहिले चावी थुत्ने, कहिले हेलमेट लगेर गायव पारिदिने र जबरजस्ती जरिवाना कटाउँदै आएको ट्राफिक प्रहरी नजिकै ६ लेन सडकमै लस्करै राखिएका सार्वजनिक सवारी साधन हाइस, नगर बस र मेजिकलाई भने नदेखेझै गर्ने गरेको गुनासो गरिएको छ। 

चौराहमा फेन्सी पसल सञ्चालन गर्दै आएका एक व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा दिनेश खबरलाई भने, "ट्राफिक प्रहरीले सडकमा छेउमा पार्किङ्ग गरिएका मोटरसाइकल र स्कूटरलाई भने १ सयदेखि ५ सयसम्म जरिवाना काट्ने गरेको छ भने नजिकै सडकमा अव्यवस्थित रूपमा घण्टौँसम्म राखिएका ठूला सवारी साधनलाई भने नजरअन्दाज गर्ने गरेको छ।"

६ लेन सडक कब्जा नै हुनेगरी  पार्किङ गरिएका सार्वजनिक सवारी साधन हटाएर सडक असुरक्षा कम गर्नतर्फ भने ट्राफिक प्रहरीले ध्यान दिएको छैन। बरु यातायात प्रालिको पक्षमा वकालत गर्दै सञ्चार माध्यममा समेत उनीहरुकै समस्या बताउँदै पन्छीने प्रयास गरिरहेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले भने उनीहरूलाई पार्किङ्ग नगर्न अल्टिमेटम दिइसकेको बताए। 

"कसैलाई जरिवाना काट्ने कसैलाई नकाट्ने होईन", प्रहरी निरीक्षक बिरेन्द्रबहादुर बोहराले भने, "नगर बस डोके बजारस्थित आफ्नो बस पार्कमा पार्किङ्ग हुँदै आएको थियो तर कोरोना महामारीपछि प्रसाशनले भन्सार जान रोक लगाएको छ। उनीहरूलाई त्यहाँ पार्किङ्ग नगर्न भनिसकेका छौँ केही दिनमा पार्किङ्ग नहटाए कारवाही गर्छौँ।"

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले डोके बजारस्थित आफ्नै बसपार्कमा जान प्रशासनले रोक लगाएका कारण बाध्य भएर विद्युत अगाडी ६ लेन सडकमा नगर बसहरूको पार्किङ्ग गरिरहेको जिकिर गर्दै आएको छ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले डोके बजार बसपार्कबाट नगर बस सञ्चालनका लागि प्रशासनले अनुमति दिएसँगै त्यहाँ पार्किङ्ग नगर्ने बताए।

तर सहज आवागमनका लागि निर्माण गरिएको ६ लेन सडकमा जथाभावी गरिएको पार्किङ्गले दुर्घटनाको जोखिम बढेको छ। ६ लेन सडककै चटकपुरमा पार्किङ गरिएको ट्याङकर हटाउन खुट्टा कमाएजस्तै ट्राफिक प्रहरी चौराहका सार्वजनिक सवारी साधन हटाउन पनि वेवास्ता गरिरहेको नगरबासीको गुनासो छ।
 

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस