सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनको अवरोध हटेपछि सहजपुर–बोगटान सडक निर्माण गर्न ३८ सय रुख काटिने

२०७७ माघ २९, ०१:२८ रोशन भट्ट

धनगढी: संघीय सरकारले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने झण्डै ४ हजार रुख कटान गर्न अनुमति दिएको छ। 

संघीय वन मन्त्रालयको प्रस्तावमा मन्त्री परिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेको हो। पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ सालको फागुनमा सिलन्यास गरेको सो सडक निर्माण कार्यमा वनले अवरोध गरेको थियो। 

कैलाली र डोटी क्षेत्रमा पर्ने ३८ सय भन्दा बढी रुख काट्नु पर्ने भएकाले वनले अवरोध गरेको हो। तर आयोजना कार्यालयले तयार पारेको वातावरणीय प्रभाव मुल्यंकन प्रतिबेदन मन्त्रीपरिषद्ले स्वीकृत गरेपछि अब कामले गति लिने बाटो खुलेको संघीय सरकारका वन मन्त्री प्रेमबहादुर आलेमागरले बताए।

‘मन्त्री परिषद्को बैठकले सहजजुर बोगटान सडकको ईआइए स्वीकृत गरेको छ,’ मन्त्री आलेले दिनेशखबरसँग भने, ‘सडक क्षेत्रमा पर्ने रुख कटानीका लागि अनुमति दिन सम्बन्धित डिभिजन वन कार्यालयलाई पत्राचार गरिने तयारी भइरहेको छ।’ 
१ सय ४० किलोमिटर लम्बाई रहेको सो सडकमा तत्काललाई ५० किलोमिटर कालोपत्रे गर्ने गरि काम अगाडि बढाइएको छ। कैलाली क्षेत्रमा पर्ने ८ किलोमिटर छोडेर त्यो भन्दा अगाडिको १० किलोमिटर सडक चालु आर्थिक वर्षभित्रै कालोपत्रे सम्पन्न गर्ने तयारी भइरहेको छ। 

अहिले वनको अवरोध नरहेको स्थानमा नाली निर्माणलगायत अन्य सडक निर्माणको कामलाई तीव्रता दिएको आयोजना कार्यालयले जनाएको छ। अब कैलाली खण्डमा पर्ने झण्डै ४ सय र डोटी खण्डमा पर्ने ३४ सय भन्दा बढी रुख कटानको लागि वन विभागसँग सम्झौता गर्ने तयारी भइरहेको आयोजना प्रमुख उज्जल श्रेष्ठले बताए। 

‘रुख कटानी गर्न अनुमति लिनका लागि वन विभागसँग सम्झौता गर्न काठमाडौंमा छु,’ उनले भने, ‘रुखको समस्या समाधान भएपछि काम धेरै नै अगाडि बढ्छ।’

वर्षौंदेखि अलपत्र सो सडक पछिल्लो पटक सिलान्यास भएको पनि २ वर्ष भएको छ।

वनले गरेको आवरोध हट्ने निश्चित भएपछि आयोजना निर्माणले गति लिने विश्वास गरेको छ। वनको अवरोधसँगै जग्गाको मुआब्जामा देखिएको समस्या पनि समाधान भइरहेका कारण अब उक्त सडकको निर्माण कार्य रोकिने समस्या नभएको बताइएको छ।

२ अर्व भन्दा बढी लागत अनुमान गरिएको सो सडक निर्माण भए कैलालीको चुरे र डोटीको दक्षिणी भेगका स्थानीयले प्रत्यक्ष रुपमा लाभान्वित हुने देखिन्छ। सडक विस्तार सँगै सो क्षेत्रमा उत्पादित कृषि उपजले पनि बजार पाउने छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस