गोदावरी नगरपालिकामा भूमिहीनको तथ्यांक संकलन गर्न ‘आफूखुसी कर्मचारी भर्ना’
धनगढीः कैलालीको गोदावरी नगरपालिकाले भूमीहीन तथा अव्यवस्थित बसोबासीको तथ्यांक संकलन गर्न कर्मचारी भर्ना गर्दा मनोमानी गरेको आरोप लागेको छ।
कर्मचारी छनोटमा समानुपातिक समावेशिताको सिद्धान्तलाई वेवास्ता गर्दै नगरपालिकाले आफू निकटका व्यक्ति भर्ना गरेको आरोप लगाइएको छ।
नगरपालिकाले माघ १३ गते सेवा करारमा पदपूर्तीका लागि सार्वजनिक रुपमा प्रकाशित सूचना गरेको सूचनामा सहायक स्तर चौथो तहको तथ्याङ्क संकलक ८ जना र लगत प्रविष्टीकर्ता ४ जना गरि १२ जनाको लागि दरखास्त आह्वान गरेको थियो।
सूचनामा आदिवासी, जनजाति र दलित लगायतका कुनैपनि वर्गको लागि कोटा छुट्याइएको थिएन। नगरपालिकाले छोटो सूची र अन्तर्वार्ता गरि माघ २४ गते तथ्याङ्क संकलक पदको लागि ८ जना र माघ २५ गते लगत प्रविष्टीकर्ता पदको लागि ४ जना छनोट गरेको थियो।
तर नगरपालिकाले कर्मचारी छनोट गर्दा समावेशिताका हिसाबले अनिवार्य प्रतिनिधित्व गराउनुपर्ने दलित र आदिवासी जानजातिलाई छुटाएपछि विरोध गरिएको छ।
गोदावरी नगरपालिका वडा नम्बर १२ का स्थानीय श्याम नेपालीले नगरपालिकाले कर्मचारी भर्ना गर्दा दलित र आदिवासी जानजातिलाई समावेश नगराएको भन्दै आपत्ती जनाए।
‘नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले आफ्ना आसेपासेलाई मात्रै छनोट गरेका छन्,’ उनले दिनेशखबरसँग भने, ‘नगरपालिकाले पदपुर्ति गर्दा समानुपातिक समावेशिताको मापदण्डको पालना गरेको छैन, मनोमानी ढङ्गले कर्मचारी छनोट गरेको छ।’
तर गोदावरी नगरपालिकाले भने नियमसम्मत हिसाबले नै कर्मचारी छनोट गरिएको दाबी गरेको छ।
गोदावरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बसन्त कुमार खत्रीले करारमा कर्मचारीको भर्ना गर्दा लोकसेवा जस्तै समानुपातिक समावेसीताको मापदण्ड अनिवार्य नहुने बताए।
कर्मचारी छनोटमा आपत्ती जनाएर दलित, आदीवासी जनजाती लगायतका समूदायले विवाद सिर्जना गरिहाल्नुपर्ने अवस्था नरहेको उनको दाबी थियो।
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लागत संकलनका लागि गोदावरी नगरपालिकाले दरखास्त आह्वान गरेकोमा प्रबिष्टिकर्ता २२ जना र तथ्याङ्क संकलक ४४ जना गरि ६६ जनाले आवेदन दिएको थिए। जसमध्ये दुवै पद गरि १२ जना कर्मचारी छनोट भएका छन्।
दलित समूदायले समानुपातिक समावेशिताको मापदण्ड पूरा नगरिएको आरोप लगाएपछि विवाद सिर्जना हुँदा गोदावरी नगरपालिकामा भूमीहीनहरुको तथ्यांक संकलनको काममा ढिलाइ भएको छ।