कैलालीमा ठूला सवारीको ‘लाइसेन्स’ खरिद बिक्रि !
धनगढी: यातायात व्यवस्था कार्यालय कैलालीले मंगलबार मात्रै ठूला सवारी साधनको ट्रायल परीक्षा सम्पन्न गरेको छ।
सोमबार र मंगलबार गरि दुई दिनसम्म सञ्चालन भएको प्रयोगात्कम परीक्षामा २ सय ८० जना सहभागी भएका थिए।
ठूला सवारी साधन दमकल, भेक्कु, बुल्डोजर, ग्रेडर, रोलर, लोडर, स्काभेटर लगायतको ट्रायलमा आर्थिक अनियमितता भएको आरोप लागेको छ।
परीक्षार्थीहरूका अनुसार ट्राफिक प्रहरीले यातायात कार्यालयका कर्मचारीहरूसँगको मिलेमतोमा रकम असुली गर्ने गरेका छन्।
मोटरसाईकल, जीप य कारको लाईसेन्स उपलब्ध गरइदिए बाफत १० देखि १५ हजार रुपैयाँ लिने गरिएको आरोप लागेका बेला ठूला सवारीको हकमा भने २० हजार भन्दा बढी रुपैयाँ लिने गरेको गुनासो गरिएको छ।
परीक्षार्थीसँग उठाइएको रकम ट्राफिक प्रहरी मात्र नभइ यातायातका कर्मचारीसम्म पुग्ने गरेको समाचार सुत्रले बताएका छन्।
तर यातायात व्यवस्था कार्यालय कैलालीले भने उक्त आरोपमा सत्यता नभएको दावी गरेको छ। ‘हामीले नियम अनुसार नै ट्रायल परीक्षा सम्पन्न गरेका छौं,’ यातायात व्यवस्था कार्यालय कैलालीका प्रमुख लक्ष्मण शाहले भने, ‘गलत मानसिकता भएकाहरुले त्यो आरोप लगाएका हुनसक्छन्।’
यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बहादुर बोहराले त्यो विषयमा आफुलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए।
दमकलको ट्रायल धनगढीमै हुने गरेको भएपनि अन्य ठूला सवारीको प्रयोगात्मक परीक्षा भने गोदावरी नगरपालिकाको लालपुरमा रहेको क्रसर उद्योगमा हुने गरेको छ। हेवी सवारीको हकमा आम नागरिकले समेत चासो नदिने गरेका कारण आर्थिक अनियमितता बढी हुने गरेको आशंका गरिएको छ।
उक्त स्थानमा सीसीटीभी क्यामेरा समेत जडान नहुँने हुँदा २० हजार भन्दा बढीमा ठूला सवारी साधनको चालक अनुमती पत्र खरिद बिक्रि हुने गरेको गुनासो गरिएको हो।
तर प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक बामदेब गौतमले भने त्यस्तो भेटिएमा कारवाही गर्ने बताएका छन्। ‘त्यसको जिम्मा हामीले जिल्ला ट्राफिकलाई दिएका छौं,’ उनले भने, ‘हामी यसमा निगरानी बढाउछौं र गलत भएको पुष्टि भए कारवाही गछौं।’