सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको अर्थ मन्त्रालयद्वारा सेवासुविधामा लाखौँ खर्च, तत्कालीन मन्त्रीले १३ लाख बुझे

२०७७ माघ २८, ०६:०७ सरेन जैरू

धनगढीः सुदूरपश्चिम प्रदेशको आर्थिक मामिला तथा  योजना मन्त्रालयले समेत चालु आर्थिक वर्षको ६ महिनामा सेवासुविधामा झण्डै डेढ करोड खर्च गरेको पाइएको छ। 

मन्त्रालयले चालु आर्थिक वर्ष २०७७/७८ को साउनदेखि पुस मसान्तसम्म सेवासुविधामा १ करोड ३९ लाख ६ हजार खर्च गरेको देखिएको छ। 

मन्त्रालयको तथ्याङ्कअनुसार कर्मचारी तथा पदाधिकारीको पारिश्रमिक, इन्धन सुविधा, भ्रमण भत्ता, सञ्चार सुविधा, बिजुली तथा खानेपानीलगायतका शीर्षकहरूमा सो रकम खर्च भएको छ।

कर्मचारी र पदाधिकारी पारिश्रमिक शीर्षकमा सबैभन्दा बढी ६६ लाख ८२ हजार खर्च गरिएको छ। जसमध्ये कर्मचारीको पारिश्रमिकमा मात्र  ५५ लाख ४० हजार र तत्कालीन आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहोराले स्वकीय सचिवालयका कर्मचारीको समेत गरि ११ लाख ४२ हजार बुझेका छन्। 

अहिले भने मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि कानूनअनुसार पाउने सेवासुविधा आफै बुझिरहेका छन्। 

यस्तै, सवारी साधन मर्मत शीर्षकमा ३ लाख ६६ हजार, पदाधिकारी र कार्यालय प्रयोजन गरि इन्धन शीर्षकमा ४ लाख १८ हजार बढी खर्च गरेको छ।

चालु वर्षमा कार्यालय प्रयोजनका लागि इन्धन शीर्षकमा २ लाख ३६ हजार र पदाधिकारी इन्धन शीर्षकमा १ लाख ६२ हजार खर्च भएको छ भने, इन्धन अन्य प्रयोजन शीर्षकमा समेत २० हजार खर्च भएको छ।

चालु आर्थिक वर्षमा कुल १२ लाख २४ हजार बजेट विनियोजन भएको महंगी भत्ता शीर्षकमा मन्त्रालयले हालसम्म २ लाख १० हजार खर्च गरेको छ। पानी तथा बिजुली शीर्षकमा १५ लाख ९० हजार विनियोजन गरिएकोमा २ लाख ११ हजार खर्च भएको छ।

भ्रमण खर्च शीर्षकमा २ लाख ९५ हजार खर्च भएको छ।  चालु आर्थिक वर्षमा १२ लाख ४२ हजार विनियोजन भएको सञ्चार महशुलमा १ लाख ४८ हजार खर्च भएको छ। मेशिनरी तथा औजार मर्मत सम्भार तथा सञ्चालन खर्चमा कुल ५ लाख विनियोजन गरिएकोमा २२ हजार खर्च  गरिएको छ।

मन्त्रालयले पोशक, कर्मचारी बैठक भत्ता, अन्य भत्ता, पदाधिकारी बैठक भत्ता, योगदानमा आधारित निवृत्तभरण तथा उपदान कोष खर्च, कर्मचारी तालिम खर्च र विविध कार्यक्रम खर्च शीर्षकका लागि बजेट विनियोजन गरिएपनि चालु आर्थिक वर्षको ६ महिनासम्म कुनै खर्च भएको छैन।

चालु आर्थिक वर्ष २०७७/०७८ को सुरूवाती महिनाहरूमा कोरोना भाइरस संक्रमणको जोखिमले कार्यक्रमहरू सञ्चालन हुन नसकिएकाले मन्त्रालयले पुजिगततर्फ कुल विनियोजित बजेट (१ करोड ९४ लाख ९५ हजार) मध्ये पुस समान्तसम्म १ लाख ७१ हजार मात्र खर्च गरेको छ।

सरेन जैरू, दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस