धनगढीका नर्सिङ कलेजहरुले मापदण्ड पुरा गरेनन्, प्रयोगात्मक अभ्यासमा परनिर्भर
धनगढीः सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीस्थित शैलेश्वरी फारवेष्ट स्कूल अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी कलेजले नर्सिङ अध्यापन गराउन थालेको ११ वर्ष भयो। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट एक शैक्षिक सत्रमा ४० जनालाई नर्सिङ अध्यापन गराउने गरि अनुमति पाएको छ। अनुमति पाएको कलेजले एक सय शैयाको आफ्नै अस्पताल सञ्चालन गर्नुपर्ने मापदण्ड रहेको हो। तर मापदण्ड पुरा गर्न सो कलेजले प्रयोगात्मक अभ्यासका लागि सेती प्रादेशिक अस्पताललाई छनोट गरेको छ। तर कलेजका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले भने अस्पताल खोल्ने समय अझै बाँकी रहेको बताएका छन्।
धनगढीमै सञ्चालनमा रहेको फारवेष्ट टेक्नीकल कलेजले पनि नर्सिङ विषय अध्यापन गराउदै आएको छ। सो कलेजले पनि सीटीईभीटीबाट ४० जनालाई पढाउने अनुमति पाएको छ। तर सो कलेजले पनि एक सय शैयाको अस्पताल सञ्चालन गर्नुको साटो सेती प्रादेशिक अस्पतालमै प्रयोगात्मक अभ्यास गराउँदै आएको हो।
‘कलेज सञ्चालन गर्नका लागि आफ्नै अस्पताल भएपछि मात्रै आउनु भन्ने चिकित्सा ऐनले भनेको छ,’ फारवेष्ट टेक्नीकल कलेजका प्रवन्ध निर्देशक करुणाकर पाण्डेयले भने, ‘हामीले ५–१० वर्षको समय मागेका छौं।’
सीटीईभीटी परिषद् बोर्डले पनि पछिल्लो समयमा सञ्चालनमा आएका नर्सिङ कलेजहरुले २० जनालाइ पढाउन ५० र ४० जनालाई पढाउने स्वीकृति लिएका कलेजको हकमा एक सय शैयाको अस्पताल २ वर्षभित्र खोल्नु पर्ने निर्णय गरेको छ।
तर पुराना नर्सिङ कलेजले भने प्रयोगात्मक अभ्यासका लागि अस्पतालसँगको सम्झौता पत्र प्रत्येक वर्ष बुझाउनुपर्ने व्यवस्था गरेको छ। अस्पताल बिना नर्सिङ विषय अध्यापन गराइ रहेका धनगढीका दुई कलेज शैलेश्वरी र फारवेष्टले सेतीसँग सम्झौता गरेका छन्।
मापदण्डअनुसार असपताल सञ्चालन नगरेका कलेजहरुले आर्थिक चलखेलमा सरकारी अस्पताल देखाउने प्रवृति बढेको छ। जसमा अस्पतालका कर्मचारी र पदाधिकारीबीच समेत कमिशनको खेल हुन गरेको दाबी गरिदै आएको छ।
‘आर्थिक चलखेल हुने गरेको कुरा मैले पनि सुनेको छु,’ सीटीईभीटी सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी देव सिंह धामीले भने, ‘नर्सिङ कलेज सञ्चालन गर्नका लागि आफ्नै अस्पताल अनिवार्य हुनुपर्छ।’
हाल सुदूरपश्चिममा सञ्चालनमा रहेका नर्सिङ कलेज शैलेश्वरी र फारवेष्टसँगै टीकापुर र सेती–महाकाली पनि अस्पताल खोल्न उदासिन देखिएका छन्। नर्सिङ पढ्ने विद्यार्थीहरुका लागि प्रयोगात्मक अभ्यास अनिवार्य हो। तर आफ्नै अस्पताल नभएका कलेजमा पढ्ने विद्यार्थीहरुले प्रभावकारी प्रयोगात्मक अभ्यास गर्न नपाउने सीटीईभीटी सुदूरपश्चिम प्रदेश कार्यालयका सूचना अधिकारी धामीको भनाइ छ।