त्रिनगर नाकामा प्रहरीको ‘रकम असुली धन्दा’, होटल बने बार्गेनिङ केन्द्र!
धनगढीः रकम असुलीको गुनासोपछि मंगलबार कञ्चनपुरको त्रिनगर–गौरीफन्टा नाका पुग्दा नेपाली र भारतीयको आवतजावत चलिरहेको थियो। दिउँसो करिब साढे १ बजेको समयमा त्रिनगर–गौरीफन्टा नाकामा एक भारतीय नागरिक नेपाल प्रवेशका लागि दशगजा क्षेत्र पुगे।
धनगढी प्रवेशको अनुमति मागिरहेका ती भारतीयलाई सुरुमा प्रहरीले अनुमति दिन आनाकानी गरिरहे। पछि डिउटीमा रहेका नेपाल प्रहरीका एक अधिकारीले उनलाई डोकेबजारस्थित एक होटलमा लगे। एकैछिनपछि तिनै उनलाई अधिकारीले अटोरिक्सा खोजेर धनगढीतर्फ पठाए।
यसरी सीमामा प्रहरीका अधिकारीहरुले आर्थिक लेनदेन गर्ने क्रम नरोकिएको दाबी गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी निरीक्षक राजेश शाहीले भने सो विषयमा छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने बताए।
‘यस्तो गुनासो पहिला पनि आएको थियो, हामीले छानविन गरि कारवाही गरेका थियौँ,’ उनले भने, ‘यस विषयमा पनि छानविन हुन्छ र संलग्नलाई कारवाही पनि गछौँ।’ त्रिनगर–गौरीफन्टा नाका भएर नेपाल प्रवेश गर्नेहरु प्रहरीले आर्थिक असुली गर्ने गरेको गुनासो बढ्दै गएको छ।
झन नेपाल सरकारले पनि भारतीय नागरिकलाइ निश्चित शर्तको पालना बाहेक प्रवेश अनुमति नदिने निर्णय गरेको छ। तर सुदूरपश्चिमका सिमानाकाबाट आवश्यक समन्वय गरेर स्थानीय प्रशासनको स्वीकृती पछि भने प्रवेश गर्न पाइने भनिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए।
कोरोना कहरपछि बन्द गरिएका सुदूरपश्चिमका दुइ मुख्य नाका त्रिनगर–गौरीफन्टा र गड्डाचौकी भएर नेपाल गर्ने भारतिय नागरिकलाइ अनुमति दिने निर्णय गरिएको हो। नेपाल प्रवेशका लागि स्थानीय प्रशासनको स्वीकृती आवश्यक पर्ने भएपनि प्रहरीले भने आर्थिक प्रलोभनमा परेर गैरकानूनीमा आवातजावातको अनुमति दिने गरेको हो।
यसअघि पनि सिमानाको सुरक्षार्थ खटिने प्रहरीले आर्थीक असुली गरेका घटनाहरु सार्वजनिक भएपछि संलग्न प्रहरी कर्मचारीलाई आवश्यक कारवाही गरेको स्वीकार प्रहरीले नै गरेको छ।
अहिले पनि प्रहरी आर्थिक असुली गरिरहेको गुनासो बढ्दै गएकाले आवश्यक छानविन गरि संलग्नलाइ कारकाहीको दायरमा ल्याउने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी महतोले बताए।
नेपाल प्रहरीले गर्ने आर्थिक असुलीमा सशस्त्र प्रहरीका अधिकारीहरुको समेत मिलेमतो हुने गरेको आशंका गरिएको छ। तर सशस्त्र प्रहरीले विगतदेखि नै ती आरोपलाई अस्वीकार गर्दै आएको छ।