सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज भएपछि सुदूरपश्चिममा काटिएका लाखौं क्यूफिट काठ अलपत्र

२०७७ माघ १६, ०२:४७ रोशन भट्ट

धनगढीः वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएका कञ्चनपुरका ८ वटा वनमा ७३ हजार ९१ क्यूफिट काठ संकलन भएको छ। 

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज हुनुपूर्व प्रचलित ऐन कानून बमोजिम त्यसरी काटिएको काठको बिक्री वितरण तथा लिलाम गर्दै आएको डिभिजन वन कार्यालय अब ती काठलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरामा अन्योलता देखिएको सूचना अधिकारी शिवराज अवस्थीले बताए।

‘संघीय वन मन्त्रालयले काठको तथ्यांक माग गरेको छ, हामीले यसअघि पनि धेरै पटक पठाइसकेका छौं,  उनले भने, ‘वैज्ञानिक वनको कार्यविधि नै खारेज भएपछि अन्योलता सिर्जना भएको छ।’

कैलालीको पहलमानपुर डिभिजनअन्तर्गत रहेका ४० भन्दा बढी सामुदायिक वनमा पनि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएर सोही अवधारणा अनुरूप रूख कटान गरिएका छन्। कार्यक्रम खारेज भएपछि भने सो क्षेत्रका वनका झण्डै ४ हजार रूख कटान गर्दा संकलन भएको २ लाख ५० हजार बढी क्यूफिट काठ व्यवस्थापनको विषय अलपत्र परेको छ। 

डिभिजन वन कार्यालय धनगढी मातहतका सामुदायिक वनमा समेत वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागु भएकाले कार्ययोजना अनुसार काठ काटिएको छ। 

अहिले विवरण संकलनको काम थालेको डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामचन्द्र कडेँलले बताए। १५ दिनभित्र सम्पुर्ण तथ्यांक संकलन हुन्छ, उनले भने, कटान भएको काठको विषयमा स्पष्ट निर्देशन प्राप्त भएको छैन।’ 

कञ्चनपुर र कैलालीको पहलमानपुर डिभिजनमा मात्रै ३ लाख भन्दा बढी क्यूफिट काठ कटान भएको विवरण प्राप्त भएपनि अन्य वनका तथ्यांक संकलन हुन बाँकी रहेको छ।

तर सबै वनमा करोडौँ मूल्य पर्ने काठ काटिएकाले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम नै खारेज गरिएपछि अब कसरी लिलाम हुन्छ भन्ने चासो बढेको छ। 

तत्काल कुनै खालको कार्ययोजना बनिनसकेकाले ठुलो मात्राको काठ जंगलमै राखिएको सुदूरपश्चिम वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताए। 

जंगलमा अलपत्र छोडिएको केही काठ कुहिने गरेको छ,  उनले भने, ‘संघीय सरकारले कटान भएको काठलाई जस्तो अवस्थामा छ त्यस्तो छोड्न भनेकाले त्यस्तै छोडिएको हो।’ 

तर वन तथा वातावरण मन्त्रालयले काटिएका रूख र लिलाम गर्न बाँकी काठको विवरण पठाउन निर्देशन गरेकाले छिट्टै व्यवस्थापन सम्बन्धी नीति बन्ने विश्वास गरिएको छ। 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस