कैलालीमा नदीजन्य पदार्थ उत्खनन्मा मनपरी, प्राकृतिक प्रकोपको जोखिम
धनगढीः कैलालीका स्थानीय तहहरुले नदीजन्य पदार्थ उत्खनन्का लागि अहिले विभिन्न नदी तथा खोलाहरुमा ठेक्का लगाइरहेका छन् भने कतिपय स्थानमा तह आफै उत्खनन् गर्ने तयारीमा छन्।
तर नदी तथा खोलाहरुबाट वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन विपरीत बालुवा, गिट्टी र ढुङ्गा उत्खनन् भइरहेको गुनासो बढ्दो छ।
वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनमा एक मौसमा उत्खनन गर्नुपर्ने नदीजन्य पदार्थ परिमाण, त्यसबाट पर्ने सम्भावित असर र असर पर्न नदिन अपनाउनुपर्ने संकलनका तरिकाबारे समेत उल्लेख गरिएको हुन्छ।
कैलालीमा भने स्थानीय तह र निर्माण व्यवसायीले ती पक्षको वेवास्ता गर्ने गरेको आरोप लागेको छ। वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदन अनुसार नदीजन्य पदार्थ संकलन नगरिदा प्राकृतिक प्रकोपका संकेतहरु देखा पर्न थालेको धनगढीका ईन्जिनियर महेन्द्र पन्त बताउँछन्।
वातावरणीय प्रभावलाई ख्याल नगरि उत्खनन् गरिदा घाँस तथा विरुवा सबै मर्ने र प्राकृतिक स्वरुपमा बसेको नदीजन्य वस्तु निकाल्दा थप भार धान्न नसक्दा पहिरो जाने सम्भावना धेरै हुने उनले बताए।
वातावरणमा पार्ने प्रभावको कुनै प्रवाह नगर्दा बाढी पहिरो, भूक्षय हुने, खोलाहरु अनावश्यक रुपमा गहिरिदै जाने जोखिम बढिरहेको पन्तको भनाई छ।
वातावरण संरक्षण निर्देशिकामा समेत वातावरणीय प्रभाव मूल्यांकन गरेर मात्रै नदीजन्य पदार्थको उत्खनन् गर्नु पर्ने व्यवस्था गरेको छ।
स्थानीय तहमा अन्धाधुन्ध नदीजन्य वस्तु संकलन हुँदा थालेपछि जारी गरिएको नयाँ निर्देशिकले मानव वस्ती, वन क्षेत्र र चुरेलाई ध्यानमा राखेर आईईई गरेपछि मात्रै मापदण्ड अनुसार उत्खनन् गर्न पाइने व्यवस्था गरेको छ।
तर कैलालीमा सो निर्देशिका विपरीत नदीजन्य वस्तुको निकासी पैठारी भइरहेको हो। धनगढी उपमहानगरपालिकाले समेत खुटिया, धुर्जन्ना, वेली लगायतका स्थानबाट मापदण्ड विपरीत उत्खनन गरिरहेको आरोप लागेको छ।
तर उप–महानगरपालिकाका इन्जिनियर दिजराज भट्टले भने खोला नालाहरुमा यसअघि नै गरेको वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनका आधारमा नदीजन्य वस्तु संकलन भइरहेको बताए।
गोदावरी नगरपालिकाले पनि बालुवा गिट्टी उत्खनन्का लागि गोदावरी नदीमा ठेक्का लगाएको छ। खैराना र खुटियाबाट नगरपालिकाकै कर्मचारीहरुले उत्खनन् गरिरहेका छन्। गोदावरी नगरपालिमा पर्ने नदी तथा खोलाहरु चुरे पहाडको फेदसँग जोडिएकाले वातावरणीय प्रभाव मूल्यांकन अझ बढि अनिवार्य छ।
नगरपालिकाकाले सोही अनुसार उत्खनन् गर्ने गरेको दावी गरेपनि वर्षातको समयमा चुरे क्षेत्रमा पहिरो खस्नेक्रम रोकिएको छैन। भने प्रकृतिक खोलाहरु थुनिने समेत गरेका छन्।
गोदावरी नगरपालिकाका प्रवक्त शर्मानन्द भट्टले भने वातावरणीय प्रभाव मूल्याङकन प्रतिवेदनले निर्दिष्ट गरेकै मापदण्डका आधारमा उत्खनन्को काम भइरहेको दाबी गर्छन्।
यो सँगै जिल्लाका अन्य स्थानीय तहहरुमा समेत मापदण्ड अनुसार उत्खनन् भइरहेको छैन।
राष्ट्रिय गौरव, प्राथमिकता लगायत विकासका आयोजनाहरुका नाममा स्विकृती लिई संचालनमा रहेका क्रसर उद्योगहरुले पनि खुलेआम स्काईभेटरमार्फत नदीजन्य पदार्थको उत्खनन् गरी वातावरणीय प्रभावको अवमूल्यन गर्ने गरेको आरोप लागेको छ।
जसका कारण भविष्यमा तराईमा बाढी आउने, चुरे क्षेत्रमा पहिरो जाने जस्ता प्राकृतिक विपती विकराल बन्ने चिन्ता गरिएको छ।