धनगढीको ‘अम्ब्रेला स्ट्रिट’ मा फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो
धनगढी : धनगढीको ‘अम्ब्रेला स्ट्रिट’ मा फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्न थालेको छ। धनगढीको एसटिएस सिनेमा हलले ‘अम्ब्रेला स्ट्रिट’ तयार पारेपछि फोटो खिच्ने र टिकटक बनाउनेको घुइँचो लाग्न थालेको हो।
सुदूरपश्चिममै पहिलोपटक धनगढी उप–महानगरपालिका वडा २ सन्तोषी टोलमा रहेको एसटिएस सिनेमा हलले आफ्नो प्राङ्गणमा ‘अम्ब्रेला स्ट्रिट’ तयार परेपछि फोटो खिच्न र टिकटक बनाउनका लागि युवापुस्तादेखि बृद्धबृद्धाहरु समेत त्यहा पुग्ने गरेका छन्।
‘अहिले चितवन र काठमाडौँको ‘अम्ब्रेला स्ट्रिट’ भाइरल भएको छ,’ टिकटक बनाउन पुगेकी धनगढीकी संगीता कार्कीले भनिन्, ‘सिने हलमा समेत ‘अम्ब्रेला स्ट्रिट’ तयार पारिएपछि बिदाको दिन साथीहरुसँग रमाइलो गर्न सजिलो भएको छ।’ धेरै टाढा घुम्न जानुभन्दा धनगढीमै साथीहरुसँग भेटघाट गरेर फोटो खिच्न र टिकटक बनाउन सजिलो भएको उनले बताइन्।
सजाएर राखिएको छातामुनी बसेर फोटो खिच्न र टिकटक बनाउन पाउदा खुसी लागेको धनगढीका ध्रुवबहादुर सिंहले बताए। ‘धनगढीमा ‘अम्ब्रेला स्ट्रिट’ तयार गरेर धैरै राम्रो भएको छ,’ उनले भने, ‘यसमा धेरै युवायुवतीहरु रमाएका छन्।’
कोरोना कहरले झण्डै १० महिनासम्म बन्द रहेको सिनेमा हल सञ्चालनमा आएको जानकारी दिन ‘अम्ब्रेला स्ट्रिट’ तयार गरेको हलका प्राविधिक प्रमुख योगेन्द्र नायकले बताए। ‘फोटो खिच्न र टिकटक बनाउनेहरुको सबैभन्दा बढी भीड लाग्ने गरेको छ,’ उनले भने, ‘यसले सिनेमा हललाई पनि फाइदा पुग्ने आशा छ।’