धनगढीमा ट्रायलमा असफललाई सवारी चालक अनुमति पत्र !
धनगढीः कैलालीमा सवारी चालक अनुमति पत्र ‘लाइसेन्स’ वितरणमा हुने अनियमितता रोकिएको छैन।
कोरोना प्रभावका कारण रोकिएको लाइसेन्सको प्रयोगात्मक परीक्षा पुनः सुरु भएसँगै नियम मिचेर लाइसेन्स दिने गरिएको पाइएको छ।
विगत ७ महिनादेखि रोकिएको प्रयोगात्मक परीक्षा सकिएको छ। तर ट्राफिक प्रहरी र यातायातका कर्मचारीहरुको मिलेमतोमा नियम मिचेर लाइसेन्स दिलाइदिने आश्वासन दिने गरेको भेटिएको छ।
कोभिड–१९ को प्रभावका कारण ७ महिनासम्म रोकिएको सवारी चालक अनुमति पत्र लाइसेन्सको प्रयोगात्मक परीक्षामा सहभागी मध्ये अधिकांशले पास नगरेपनि लाइसेन्स थमाइएको आरोप लागेको छ।
कोरोनाले रोकिएको परीक्षा सकिएपनि पुनः सञ्चालन हुने ट्रायलमा नियम मिचेर लाईसेन्स उपलब्ध गराईदिने आश्वसान ट्रफिक प्रहरीहरुनै दिन थालेको कैयौँ परीक्षार्थीहरूले समेत बताएका छन्।
तर जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रबहादुर बोहराले भने कुनै खालको अनियमितता नभएको दाबी गरे।
उनले सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा कानूनअनुसार कडाइका साथ गरिएकाले अनियमितता भएको भन्ने आरोपमा सत्यतता नभएको जनाए।
परीक्षार्थीहरूका अनुसार ‘ट्राफिक प्रहरीले यातायात कार्यालयका कर्मचारीहरूसँगको मिलेमतोमा मोटो रकम लिई काम गराइदिने’ गरेका छन्।
सेवाग्राहीहरु भन्छन् मोटरसाईकल र जीप कारको लाईसेन्स उपलब्ध गरईदिए बाफत १० देखि १५ हजार रुपैयाँ लिने गरिएको छ।
परीक्षार्थीसँग उठाइएको रुपैयाँ ट्राफिक प्रहरी मात्र नभइ यातायातका कर्मचारीसम्म पुग्ने गरेको समाचार सुत्रले बताएका छन्।
तर सरकारी अधिकारीहरुले भने त्यसलाई अस्वीकार गर्दै नियम अनुसारै दिने गरेको भन्दै आफ्नो बचाउ गरेका छन।
यातायात व्यवस्था कार्यालय धनगढीका प्रमुख लक्ष्मण शाहले सवारी चालक अनुमति पत्रमा आर्थिक चलखेल भएको भन्ने कुरा आफूले पनि सुन्दै आएको बताए। तर कर्मचारीकै मिलेमतोमा त्यस्ता कार्य नभएको जिकिर शाहले गरे।
जिल्ला ट्राफिक प्रहरीको प्रत्यक्ष संलग्नतामा नियम विपरित लाईसेन्स वितरणको काम भईरहदा पनि माथिल्लो निकायहरु भने बेखबर देखिएका छन्।
दिनेश खबरले गरेको खोजका क्रममा अब हुने लाईसेन्सको परीक्षामा सेटिङ मिलाएर सहयोग गर्ने लोभ देखाएको पत्ता लागेको छ भने त्यसका लागि परीक्षार्थीले समेत १० देखि १५ हजारसम्म बुझाउनु पर्ने देखिएको हो।
ट्रफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले अनियमित गतिविधिमा संलग्न जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याइने बताए।
तर जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात कार्यालयले रकम उठाउनेगरी प्रतिनिधि समेत खटाएको दाबी स्रोतको छ।
असक्षम चालकलाई समेत नियम विपरित सवारी चालक अनुमती पत्र लाईसेन्स वितरण गरिदा सडक दुर्घटना हुनेक्रम समेत वृद्धि हुदै गएको भन्दै चिन्ताहरू व्यक्त हुने गरेका छन्।
नेपालमा दैनिक सरदर सात जनाको सडक दुर्घटनामा मृत्यु हुने गरेको छ। सवारी चालक अनुमति पत्र वितरणमा हुने यस्तै अनियमितालाई पनि त्यसको एउटा कारण मान्ने गरिएको छ।