सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको ‘करेसाबारी’मा साढे ९ लाख रुपैयाँको बीउ, नगरबासीलाई चाहिँ किन भयो 'हर्ष न विस्मात'?

२०७७ मंसिर २५, ०६:३१ रोशन भट्ट

धनगढीः धनगढी उपमहानगरपालिको ६ नं. वडा कार्यालय किसानलाई तरकारीको बीउ वितरण गर्न ५० हजार रुपैयाँ बजेट पायो ।

उपमहानगरपालिकाको करेसाबारी कार्यक्रम अन्तरगत ६ सय भन्दा बढी घरधुरी रहेको वडा कार्यालयले सो बीउ झण्डै १ सय परिवारलाई मात्र बीउ वितरण गर्यो । धनियाँ, रायो, मुला, गोलभेँडा, बन्दाकोपी, काउली र खुर्सानीलगायतको बीउ थोरैले पाए । धेरै छुटे, वडा कार्यालयप्रति आक्रोश पोखे ।

धनगढीको प्रगतिशिल कृषक समूहका अध्यक्ष धनबहादुर चौधरीले बीउ वितरणप्रति कडा असन्तुष्टि व्यक्त गर्दै भने, ‘नगरबासीलाई भुलाउनका लागि मात्रै बीउ वितरण गरेजस्तो भयो । यसबाट केही प्रभाव पर्ने देखिएको छैन ।’

सोही कार्यक्रम अन्तरगत उपमहानगरपालिकाले नगरका १९ वटै वडालाई पहिलो चरणमा ५० हजारका दरले साढे ९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ । चालु वर्षमा १७ लाख बजेट रहेको करेसावारी कार्यक्रम अन्तरगत नै दोस्रो चरणमा समेत बीउ वितरण गर्ने योजना उपमहानगरपालिकाको छ ।

तर वडा कार्यालयहरुले ५० हजार रुपैयाँका दरले बजेट पाएपनि उपमहानगरपालिकाको भने लाखौं खर्च भएको छ । उपलब्धी न्यून देखिने ठाउँमा गरिएको लगानी वालुवामा पानी जस्तै हुने देखिएको हो ।

कार्यक्रम प्रभावकारी हुनेमा सरकारी अधिकारी नै विश्वास्त छैनन् । उपमहानगरपालिकाको वडा नम्बर ६ का वडा सचिव धर्मराज जोशीले यस्ता साना कार्याक्रमले खासै प्रतिफल नदिने बताउँछन् । ‘लाखौं बजेट सकिने भएपनि प्रभाव देखिदैन,’ उनले भने ।

तर नगरलाई तरकारीमा आत्मनिर्भर बनाउने उद्देश्यले कार्यक्रम ल्याएको दाबी गरिएको छ । तर कार्यक्रमको प्रभावकारितावारे उपमहानगरपालिका बेखबर देखिएको छ । बीउ वितरण गरिसकेपछि एक पटक पनि अनुगमन नभएको उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुड्भरी स्वीकार गर्छन् ।

‘अबको केही दिनमा अनुगमन हुन्छ,’ उनले भने, ‘ठूलो मात्रामा हामीले पनि बीउ वितरण गर्न सक्दैनौं सुरुवात गर्न खोजेका हौं ।’ 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस