सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सेनिटाइजिङ बुथ : बाँदरको हातमा नरिवल !

२०७७ कार्तिक २९, ०१:०५ विन्दु चन्द

धनगढी : धनगढीमा गत चैत्र १४ गते पहिलो कोरोना संक्रमित भेटिएपछि कैलाली जिल्लामा मात्रै होइन सुदूरपश्चिममै कोरोनाको त्रास एकाएक फैलियो । लकडाउन यति कडा पारियो कि, दिउँसै सन्नाता छाएको थियो धनगढीसहित सुदूरपश्चिमका मुख्य–मुख्य सहरमा । सुरक्षाका विभिन्न मापदण्ड तथा तौरतरिका अप्नाउन थालियो ।

यसैबीच विभिन्न संघ संस्थाहरुले लाखौं रकम खर्च गरी भीडभाड हुने सेती प्रादेशिक अस्पताल र त्रिनगर भन्सार नाकामा सेनिटाइजिङ बुथ, स्वाब संकलन बुथलगायत उपकरण जडान गरे । उतिबेला तामझामका साथ स्थापना गरिएका ती सेनिटाइजिङ बुथलगायत उपकरण हाल बाँदरको हातमा नरिवल जस्तै भएका छन् ।

प्रयोगविहिन बनेका छन् । बिग्रिएका छन् । तर मर्मतमा कसैले चासो दिइएको पाइएको छैन । कुनै ठाउँमा राखिएका सेनिटाइजिङ बुथहरु त झनै उखेलेर नै फालिएका छन् ।

प्रयोगमा नआएपछि स्थापनामा सहयोग गरेका निकायले कोरोना महामारीमा उपयोगी उपकरणहरु प्रयोगविहिन बन्नु विडम्वना रहेको बताएका छन् । धनगढी मरवाडी युवा मञ्चका अध्यक्ष गौरव अग्रवालले आफुले देशभरका मुख्य–मुख्य स्थानमा सेनिटाइजिङ बुथ स्थापना गरेको बताए । प्रयोग गर्न सके निकै उपयोगी भएको बताउँदै उनले हाल प्रयोगविहिन हुनु दुःखद रहेको बताए ।

सेती प्रादेशिक अस्पतालमा स्थापना गरिएका २ वटा सेनिटाईजिङ बुथ हाल सञ्चालनमा छैनन् । अस्पतालको प्रवेश गेट र शव घर नजिककै राखिएको सेनिटाइजिङ बुथ हाल हटाइएको छ । प्रोग्रेसिप इन्जिनीयरिङ एसोसिएसन र धनगढी मारवाडी युवामञ्चले स्थापना गरेको ती २ वटा बुथ सञ्चालनमा छैनन् । धनगढी मारवाडी युवामञ्चले मात्रै एउटा बुथमा ३ लाख २० हजार लगानी गरेको थियो ।

ती बुथ न प्रयोगमा आए, नत बिग्रिएपछि मर्मत सम्भार नै भए । त्यसतर्फ सरोकारवाला निकाय पूर्ण रुपमा बेखबर भएको पाइएको छ । 

धनगढी उपमहानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले केही महिना सञ्चालनमा आएको ती बुथहरु विग्रिएको भन्नेवारे आफुहरुलाई जानकारी नभएको बताए ।

त्यस्तै लाखौं लगानीमा स्थापना गरिएका सेनिटाइजिङ बुथहरु हाल स्वास्थ्य मापदण्ड विपरित रहेको समेत बताउन थालिको छ । सेती प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीले लगातार २ महिनासम्म प्रयोग भए पनि ती बुथहरु स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार हाइजेनिक नभएकोले प्रयोगमा नल्याएको दाबी गरे ।

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस