सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा सिकेको सीप स्वदेशमाः डडेल्धुराको गाउँमा ‘गब्य धुप’ बनाउँदैछन् भानबहादुर

२०७७ कार्तिक २२, ०३:२४ आशिष मल्ल

धनगढी: २०६१ सालमा रोजगारीका लागि भारत गएका भानबहादुर गत वर्ष मात्रै नेपाल फर्किए । १५ वर्षसम्म भारतमा एउटा मोटरसाइकल कम्पनीमा काम गरेका उनीसँग मोटरसाइकल सम्बन्धी मात्रै अनुभव छैन् । भारतममा हुँदा विभिन्न साधुसन्तुहरुको संगत गरेका भानबहादुर मल्ललाई पंचगब्य(गाईको गोबर, गौत, घिउ, दहि, दुध) र विभिन्न जडिबुटी सम्बन्धी ज्ञान समेत प्राप्त भएको छ । 

हरियाणाको गुडगांवमा कायस्थल बनाएका उनी भारतीय गौ क्रान्ती मन्चको सदस्य समेत रहेकाले होला नेपालको राष्ट्रिय जनावर गाईप्रति सद्भाव राख्थे । र, गाईबाट प्राप्त हुने चिजबस्तुका फाइदाका बारेमा जानकार बनेका थिए । त्यहाँ सिकेको ज्ञान उनले आजभोलि गाउँघरमै उपयोग गर्दैछन् ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–३ गुनपाल घर भएका भानबहादुर मल्ल आजभोलि गब्य धुप बनाउनमा व्यस्त छन् । गब्य धुप अर्थात गाईको गोबर, घिउ, गौत, जौँ, तिल, तुलसी, गुग्गल, तितेपाती, जटामाशी, धुपजडी, नरपाते धूप, देबद्ध्यार, कपुर, बोझो, सिम्मे र काउलो तथा विभिन्न जडीबुडीबाट बनेको धुप । 

स्वास्थ्यको हिसाबले निकै फाइदाजनक रहेको बताउने मल्लले उक्त धुप विभिन्न धार्मिक कार्यक्रममा समेत प्रयोग गर्न सकिने बताए । ‘यो पवित्र गब्यधुप मठ मन्दिर,  पितृ कार्य, विवाह, ब्रत, पुजा कोठा, जन्मदिन तथा विभिन्न शुभ कार्यहरुमा अति उत्तम छ’ उनले भने, ‘गाईको गोबरले विभिन्न भाइरसहरू मार्ने, घिउले अक्सिजन प्रदान गर्ने, जटामाशीले दिमागमा ट्यूमर बन्न नदिने, देवद्ध्यारले घरको कोठामा धमिरा लाग्न दिदैन । यसैगरी जौँ, तिल, तुलसी, गुग्गल, तितेपाती, सिम्मे, बोझो, गौत आदिले घरभित्र सकारात्मक उर्जा दिने गर्दछ।’

घरेलु तथा गाउँपालिकामा दर्ता गरेर धुप बनाउने उद्योगको सुरुवात गरेका उनले थोरै लगानी गरेर बजारमा उत्पादन ल्याइसकेका छन् । बजारबाट राम्रो पुष्ठपोषण पाइरहेको  बताउने उनी भन्छन्, ‘अहिले त हामी परिवारका सदस्य मात्रै धुप बनाउँछौ। बजारमा माग बढीरहेको छ । अब चाँही मेसिन ल्याएर थुप्रैलाई रोजगारी दिने उदेश्य छ ।’ 
कोरोनाका कारण भारतबाट मेसिन ल्याउन समस्या भइरहेकाले धुप उद्योगलाई विस्तार गर्न समस्या भइरहेको मल्लले बताए । साथै उनले स्थानीय स्तरमा छाडा गाईलाई व्यवस्थापन गरेर गौशाला निर्माणमा समेत अभियान थाल्ने बताएका छन् । 

गाउँपालिकाले प्रोत्साहन गर्छ : अध्यक्ष भट्ट
उता अजयमेरु गाउँपालिकाका अध्यक्ष उमेश भट्ट विकासले गापामा स्थापना भएका त्यस्ता साना उद्योगलाई प्रोत्साहन गर्ने बताएका छन् । ‘उहाँले गाउँस्तरमा राम्रो कामको सुरुवात गरेका छन् । हामीले बजार व्यवस्थापनमा सहयोग गरिरहेका छौ ’ उनले भने, ‘अब उहाँलाई उद्योग विस्तारका लागि समेत सामग्री सहयोग गर्ने उदेश्य रहेको छ ।’ 

यस्तै अध्यक्ष भट्टले छाडाचौपाया व्यवस्थापनमा समेत मल्लसँग सहकार्य गर्ने बताएका छन् । 


 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस