कञ्चनपुरमा खोलामा च्यापेर भाउजुको हत्या गर्ने देवर सार्वजनिक
धनगढी: असोज २७ गते। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–८ बस्ने ३८ वर्षीया कालीदेवी खुना र उनका देवर मान सिह खुना नजिकै रहेको सुनबरा खोलामा माछा मार्न गएका थिए। तर फर्कदा देवर मानसिह मात्रै घर फर्के। राति अबेरसम्म काली खोलाबाट नफर्केपछि उनका श्रीमान प्रकाश खुनाले खोजी गर्न थाले तर राति उनको अत्तोपत्तो लाग्न सकेन।
जब विहान भयो, सोही खोलामा उनको शव माटोले पुरेको अवस्थामा फेला पर्यो। माछा मार्न गएकी उनीसँग के भयो ? यो प्रश्नको उत्तर कसैसँग थिएन। तर उनका श्रीमानले आफ्नो भाई २४ वर्षीय मान सिह खुनामाथि आशंका गरेका थिए। सोही शंकाका आधारमा उनले मानसिह विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरीपछि प्रहरीले मानसिह खुनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा कालीका श्रीमान प्रकाशले आशंका गरेको कुरा सहि साबित भयो। प्रहरी अनुसन्धानबाट देवरले नै भाउजुको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन्।
त्यो दिन के भएको थियो ?
असोज २७ गते खोलामा माछा मार्ने क्रममा भाउजु र देवरबिच समान्य विवाद भएको थियोे। विवादकै क्रममा देवर मानसिहले भाउजुको घाटी च्यापेर खोलाको पानीमा १५/२० मिनेटसम्म ज्यान जाने गरी च्यापेका थिए।
कालीको ज्यान गइसकेपछि देवरले उनको शवलाई त्यहि रहेको एउटा झाडीमा लुकाएर घर फर्केको प्रहरी अनुसन्धानमा उल्लेख छ। र, अर्का दिन असोज २८ गते उनले नै घटना भएको स्थलमा पुगेर शवलाई खाल्डोमा पुरेका थिए।
प्रहरी अनुसन्धानपछि आइतबार प्रहरीले पक्राउ परेका मानसिह खुनालाई सार्वजनिक गरेको छ। अदालतबाट १० दिनको म्याद लिइ खुनामाथि थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए।