बैतडीमा रक्तपात: किन भयो गाउँपालिका अध्यक्षसहितका १४ जनामाथि आक्रमण ?
धनगढी: बैतडीमा गाउँपालिकाको केन्द्र सार्ने विषय चरमउत्कर्षमा पुगेको छ। जिल्लाको सुर्नया गाउँपालिकाको केन्द्रका विषयमा भएको विवाद बुधबार साझ कुटपिटमा परिणत भएको छ।
प्रहरीका अनुसार उक्त घटनामा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टसहित ५ जना प्रहरी घाइते भएका छन्। तर स्थानीयले भने झडपमा परी अध्यक्ष बिष्टसहित ५ जना प्रहरी, ६ जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसँग रहेका व्यक्ति गरेर १४ जना घाइते भएको बताएका छन्। अहिले अध्यक्ष विष्ट उपचारका लागि घनगढी आएका छन्। भने, गाउँपालिकाको माहोल शान्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताएका छन्।
उनका अनुसार अहिले गाउँपालिकामा प्रहरी निरीक्षक धनदेव साउँदको नेतृत्वमा प्रहरी टोली खटिएको छ भने सशस्त्र प्रहरीको टोली पनि पुगेको छ। साथै उनले घटना घटाउनेहरुको खोजी भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइ कारवाही गरिने बताएका छन्। ‘अहिले प्रहरीको टोलीले गाउँपालिकामा अनुसन्धान गरिरहेको छ। दोषीलाई कानुनी दायरामा ल्याइने छ’ उनले भने।
किन भयो घटना ?
घटनाको गहिराइमा पुग्न हामी 'फ्ल्यासब्याक'मा जानुपर्ने हुन्छ। देशमा स्थानीय तह आइसकेपछि सुर्नया गाउँपालिकाको वडा नम्बर ५ स्थित रौलेश्वरको कठ्यागौँडमा अस्थाइ केन्द्र तोकेर कार्यसम्पादन भइरहेको थियो। त्यसपछि २०७६ पुष ६ गतेको कार्यपालिका बैठकले गाउँपालिका केन्द्रलाई वडा नम्बर ५ कै पविता भन्ने स्थानमा राख्ने निर्णय गरेको थियो। तर उक्त सर्वसम्मत पारित भएको निर्णयको कठ्यागौँडावासीले विरोध जनाएका थिए।
उक्त असन्तुष्ट पक्षले संघर्ष समिति बनाएर विभिन्न समयमा विरोधका कार्यक्रम आयोजना गर्दै आएको थियो। कठ्यागौँडामै केन्द्र कायम गर्नुपर्ने माग सहित सर्वोच्च अदालतमा रिट समेत दायर भएको थियो। उक्त रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला गर्न बाँकी रहेका बेला कार्यपालिका बैठकबाट निर्णय गरी केन्द्र सार्न खोजेको भन्दै असोज २६ गते गाउँपालिकाको केन्द्र संघर्ष समितिले कार्यालयमा तालाबन्दी गरेको थियो।
सर्वोच्च अदालतमा गाउँपालिकाको केन्द्र सार्ने र भवन निर्माण गर्ने निर्णय विरुद्ध अदालतमा मुद्दा विचाराधिन रहेपनि त्यसलाई प्रभावित हुनेगरी केन्द्र सार्न खोजेपछि गाउँपालिकाको कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको संघर्ष समितिका सदस्य नरेन्द्र मडैले बताएका थिए।
तालाबन्दी कायम रहेकै बेला यसैहप्ता बसेको कार्यपालिकाको बैठकले १५ लाख रकम नयाँ ठाउँमा केन्द्रको संरचनाका लागि छुट्याइएको भन्ने हल्ला बाहिर आएसँगै स्थानीय उम्लिएका थिए।
सोही विषयमा मंगलबार र बुधबार गाउँपालिकाका पदाधिकारी र संघर्षरतपक्ष बिच छलफल भएपनि सहमति भएको थिएन। त्यसपछि बुधबार साँझ गाउँपालिका अध्यक्ष बिरबहादुर विष्ट मुचुल्का तयार गर्दै ताला तोड्न कार्यालयको ढोकामा पुगेपछि उनीमाथि एक्कासी आक्रमण भएको थियो।
उनीमथि ढुंगा प्रहार भएको थियो। जसबाट उनीसँग रहेका केही व्यक्ति, घटना साम्य पार्न खोज्ने प्रहरी घाइते भएका थिए।
अहिले सबै घाइतेको अवस्था समान्य रहेको बताइएको छ। घटनाबारे गाउँपालिका अध्यक्ष बिरबहादुर विष्टसँग बुझन बारम्बार सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा आउन सकेका छैनन्।
दोषीलाई कारवाहीको माग
यसैबिच सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेस बैतडीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नेपाली कांग्रेसले बिहिबार विज्ञप्ती जारी गर्दै कुनै विषयवस्तुको निर्णय लिनुपर्दा वैधानिक र कानुनी बाटो हुँदाहुँदै अमानवीय घटना हुनु दुर्भाग्यपूर्ण भएको जनाएको छ।
ज्यान जान सक्ने हिसाबले घटाइएको सो घटनाको वास्तविक छानबीन गरी दोषीमाथि कडा कारवाही गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ। नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रसिंह थापाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता खालका घटनाहरुलाई निरुत्साहित हुने गरेर दोषी पत्ता लगाई कानुनी कारवाही गर्न आग्रह गरिएको छ।
अध्यक्ष विष्ट नेपाली कांग्रेस बैतडीका सचिव हुन।