सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा एक युवतीमाथि गाउँलेद्वारा घरमै कुटपिट, कपडा च्यातेर गोबर खुवाएको आरोप

२०७७ असोज २८, ०५:१६ आशिष मल्ल

धनगढी: डडेल्धुरामा एक युवतीले आफुलाई गाउँकै एक समुहले कुटपिट गरेको आरोप लगाएकी छिन्। जिल्लाको नवदुर्गा गाउँपालिका–४ सुवाकोटकी २३ वर्षीया शुशिला विष्टले आफुमाथि गाउँकै एक समुह आएर कुटपिट गरेको आरोप लगाएकी हुन।

असोज २१ गते एक युवतीको बारेमा भएको सामान्य विवादपछि ती युवतीको परिवार आएर आफुमाथि कुटपिट गरेको उनले सुनाइन। स्थानीय मनिषा विष्ट, ललित विष्ट, बिमल विष्ट, मनीषाकी आमा लगायत गाउँको समूहले आफ्नो घाटी तथा विभिन्न अंगहरुमा आक्रमण गरेको शुशिलाले बताइन। 

श्रीमान रोजगारीको शिलशिलामा मलेसियामा रहेको बताउने उनले त्यो समुहले आफ्नो शरिरमा भएका सबै कपडाहरु च्यात्नुका साथै गोबर समेत खुवाएको बताइन। ‘म सँग दुधेबालक मात्रै थिए, त्यही समयमा त्यो समुह आएर मलाई कुटपिट गरी घरको झ्यालढोका समेत फुटाएको थियो’ उनले भनीन। 

घटनाबारे सकायल प्रहरी चौकीमा निवेदन दिदा पनि प्रहरीले आफ्नो घरमा ताला लगाएको तर दोषीलाई कारवाही नगरेको उनको गुनासो छ। 

अहिले शुशिला धनगढीको सिपी अस्पतालमा उपचार गराएपछि जिल्ला फर्किएकी छिन्। अहिले पनि उक्त समुहले घर आउने बित्तिकै आफुलाई मार्न धम्कि दिएकाले उनी जिल्ला प्रहरी कार्यालय डडेल्धुराको सहयोग लिन पुगेकी छन्। 

तर जिल्ला प्रहरी कार्यालयले निवेदन मात्रै लिएको र उजुरी लिन नमानेको पीडित युवतीका जेठाजु शेरबहादुुर विष्टले बताए। ‘उजुरीका लागि जिल्लाका धेरै वकिलसँग भेटे तर कसैले उजुरी लेख्न माननेन्। यता प्रहरीले पनि विपक्षसँगको सल्लाहपछि मात्रै उजुरी लिन्छौ भनेर फर्काएको छ।’ उनले भने। राजनितिक संरक्षणका कारण आफुहरुले न्याय नपाएको उनको आरोप छ। 

उता जिल्ला प्रहरी कार्यालयका प्रवक्त तथा प्रहरी निरीक्षक राजेन्द्र चन्दले पीडित पक्षको निवेदन आइसकेको र कुटपिट भएको बुझिएको बताएका छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। 

*युवतीको परिचय र फोटो उनको सहमतिमा राखिएको हो। 

आशिष मल्ल, दिनेश खबरका डेस्क सम्पादक हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस