सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या गर्नेलाई कारवाही गर्न माग

२०७७ असोज ९, ०५:४०

धनगढीः बझाङमा बलात्कारपछि १२ वर्षीया बालिकाको हत्या गरिएको घटनामा संलग्नलाई कारवाही गर्न संयुक्त विद्यार्थी संगठनले माग गरेका छन्। संयुक्त प्रेस विज्ञप्ती जारी विद्यार्थी संगठनले प्रारम्भिक अनुसन्धानबाट बालिकाको बलात्कारपछि हत्या भएको खुलेकाले दोषीलाई कारवाही गर्न माग गरेका हुन्।

अनेरास्ववीयूका केन्द्रीय सदस्य भीम भट्ट, नेविसंघका निवर्तमान सह–महामन्त्री अच्युतराज कलौनी, अखिल क्रान्तिकारीका सेती महाकाली संयोजक बिरेन्द्र शाह, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव भरत लिसानी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका सुदूरपश्चिम इन्चार्ज उमेश विष्ट, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुर्दशन साउँद र अखिल छैठौँका सुदूरपश्चिम सदस्य पुस्कर भट्टद्धारा हस्ताक्षरित विज्ञप्तीमा दोषीलाई कारवाहीको माग गरिएको छ।

बझाङको मष्टा गाउँपालिका वडा नम्बर २ की १२ बर्षीया बालिका सम्झना कामी मृत भेटिएकी थिईन्। उनको बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपया बाँध्न सिमछानामा गएकी बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरेको छ।

उनले प्रारम्भिक अनुसन्धानमा घटनामा संलग्नता इन्कार गरेका छन्। निर्वस्त्र सम्झनाको शरीरभरि निलडाम र टाउकोमा चोट थियो। बझाङका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार सम्झनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको छ। विस्तृतमा रिपोर्ट आइसकेको छैन। प्रारम्भिक रिपोर्टमा बलात्कार खुलेको छ।

 

 

कमेन्ट लोड गर्नुस