सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष चन्दद्वारा युवकमाथि दुर्व्यवहारको आरोप

२०७७ असोज १, ०१:५१ विन्दु चन्द

धनगढी : बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले सोही ठाउँका एक युवकमाथि दुर्व्यवहार  गरेको आरोप लागेको छ। गाउँपालिकाको वडा नम्बर १ का स्थानीय हरिष साउँदले आफुमाथि दुर्व्यवहार गरिएको आरोप लगाएका हुन। 

गाउँपालिकाभित्र भइरहेका भ्रष्ट्राचार विरुद्ध विरोध गरेको भन्दै नगरप्रमुखले आफुमाथि आक्रमण गरेर धम्की दिएको साउँदले बताए। हाल कञ्चनपुरको बेतकोट नगरपालिका बस्दै आएका उनलाई अध्यक्ष चन्दसहित ३/४ जनाको समुहले जबरजस्ती गाडीमा राखेर अत्तरियास्थित एक होटेलमा लगेर गालीगलौज गरेको साउँदले सुनाए। ‘त्यत्ति मात्रै होइन उनीहरुले मलाई ज्यानमार्ने धम्की समेत दिए’ उनले भने। 

‘भदौ २९ गते म सवारी बोकेर महेन्द्रनगरदेखि धनगढी आउँदै गर्दा मालाखेतीमा गुण्डाशैलीमा आएर मलाई गालीगलौज गर्दै होटेलमा लगेर जबरजस्ती फेसबुकमा माफिको पोष्ट गर्न लगाइयो’ उनले भने, ‘म विगत देखिनै भ्रष्टाचार विरुद्ध बोल्दै आइरहेको छु, अझै पनि बोल्ने छु।’ उनले आफुसहित युवाहरुले सामाजिक सञ्जालमार्फत भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेको बताए।  

सामाजिक सञ्जालमा भाइरल बनेको एउटा पोष्ट आफ्नो फेसबुकवालमा सेयर गरेबाट नै गाउँपालिका अध्यक्ष चन्दले आफुलाई धम्की दिन सुरु गरेको हरिष साउदले बताए। ‘सोहि दिन सरले फोन गरेर हटाउन भने। मैले हटाएपनि’ उनले भने, ‘त्यो दिनदेखि गाउँपालिका अध्यक्षले मलाई तारगेट बनाएर धम्क्याउदै आइरहेका छन्।’ आफुले गरेको कार्यको कानुनी उपचार खोज्न सकिने भएतापनि आफुलाई अपहरण शैलीमा मोबाइल खोसेर जवरजस्ती माफी माग्न लगाइएको उनले दुखेसो पोखे।

अध्यक्ष चन्दले चुनाव देखिनै आफुलाई धम्की दिंदै आइरहेको बताउँदै उनले भने, ‘उनले जहिले पनि तिम्रो परिवारका चार जनालाई मैले सित्तैमा पढाएको छु भन्छन्। तर म ९ वर्षको हुँदा मेरो बुवा बित्नुभयो, विद्यालयमा निःशुल्क नै पढेको हुँ।’ उनले भने। गाडीधनी समेत रहेका साउँदले आफ्नो ज्यानमा तलमाथि भए गाउँपालिकाले जिम्मा लिनुपर्ने बताएका छन्। 

उता गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले भने आफ्नो व्यक्तिगत जिवनमा आँच आउने तरिकाले फेसबुकमा पोष्ट गरेकाले सम्झाई बुझाई गरेको बताएका छन्। उनले भने, ‘पहिले आफ्नो विद्यार्थी र त्यसपछि आफ्नो नागरिक भएकाले यस्ता भ्रमपूर्ण तथा व्यक्तिगत रुपमा खलल पुर्याउने खालका पोष्टहरु नगर्न भनेको हुँ।’ उनले लगाएको सम्पूर्ण आरोप गलत भएको समेत उनले बताए। 

 

विन्दु चन्द दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस