सुदूरमा यो हप्ता ३ ‘फ्रन्टलाइनर’माथि हमला ! किन हुन्छ आक्रमण ?
धनगढी: सुदूरपश्चिमका विभिन्न जिल्लामा एक हप्ताको दौरानमा कोरोना संक्रमणकालका बेला अग्रपंक्ति(फ्रन्टलाइ)मा खटिएकाहरुमाथि आक्रमणका घटना भएका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन् त्रण तथा रोकथामका लागि आफ्नो ज्यानको प्रवाह नगरी आम नागरिकका लागि खटिएका उनीहरुमाथि निरन्तर दुरव्र्यवहार र हमला भएका हुन।
जनतालाई सुरक्षाको प्रत्याभुति दिलाउन खटिएका सुरक्षाकर्मी, आम नागरिकको स्वास्थ्यको ख्याल गर्ने स्वास्थ्यकर्मी र सबैलाई सूचना प्रदान गरेर सुसूचित तथा जनचेतना प्रदान गर्दै आइरहेका संचारकर्मीका लागि यो एक हप्ता निशासाजनक नै रह्यो।
संकटका बेला फ्रन्टलाइनमा खटिएका फ्रन्टलाइनरमाथि हुने गरेका घटना भएको यो पहिलोपटक हैन। देशको राजधानी तथा अन्य जिल्लामा उनीहरुमाथि हुने गरेका घटनामा बारेमा समाचार आइरहन्छन्। यसै हप्ता सोही प्रकारका तीन वटा घटना यस प्रदेशमा पनि घटेका छन्।
घटना नम्बर १
शनिबार साँझ कञ्चनपुरको पुनर्वास नगरपालिका –५ दोबाटो चौतारामा तास खेल्दै गरेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लियो। ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले तास खेल्ने रामचन्द्र दमाई ,रामबहादुर बयडी, देवेन्द्र रोकाया, राम बहादुर सिह, मंगल थापा, रण बहादुर धामी र शिखर धामीलाई पक्राउ गरेको थियो।
तर उनीहरुको रिहाइको माग गर्दै स्थानीयले इलाका प्रहरी कार्यालयमै ढुंगामुढा गरेका छन्। त्यति मात्रै होइन स्थानीयले प्रहरी निरिक्षक (इन्सपेक्टर) सहितका प्रहरीमाथि कार्यालयमै कुटपिट गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिँहले जानकारी दिए।
‘तास खेलिरहेको अवस्थामा पुर्नवासका केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएको विषयमा वादविवाद भएको रहेछ। सोही क्रममा प्रहरीमाथि कुटपिट भएको भन्ने छ’ उनले भने, ‘उक्त घटनाको छानविन गर्न निर्देशन दिइसकेका छौँ।’
घटना नम्बर २
शुक्रबार कैलालीकाे दिनेश खबरले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले दिएको जानकारीका आधारमा धनगढीमा थुनुवा कक्षभित्रै १९ वर्षीय युवकले गरे आत्महत्या भन्ने समाचार प्रकाशन गरेको थियो।
उक्त समाचार झुटो भएको र डिलिट गर्नुपर्ने भन्दै कार्यालयमा पुगेका १५/२० जनाले दिनेश सञ्चार गृहमा सांघातिक आक्रमण गर्दै त्यहाँ कार्यरत पत्रकारमाथि कुटपिट गरेका छन्। उनीहरुले सञ्चार गृहका सह–सम्पादक जनक विष्ट लगायतका पत्रकारमाथि गरेका थिए। त्यसैगरी व्यवस्थापक अमिता कुँवर, प्राविधिक कल्पना सिहमाथि पनि युवाहरुको समूहले हातपात समेत गरेका थिए।
प्रहरीको हवाला दिएर सम्प्रेषण भएको समाचारको निहुँ पारेर हमला गर्नेमाथि कारवाहीको माग गर्दै शुक्रबार नै पीडितले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइसकेका छन्। तर घटना भएको ४ दिन भइसक्दा समेत उनीहरुमध्ये एक जनापनि पक्राउ परेका छैनन्। उक्त घटनामा संलग्न दोषीमाथि कारवाहीको माग गर्दै विभिन्न राजनितिक दल, मानव अधिकार, सञ्चारकर्मीसँग आवद्ध संघसंस्था तथा अधिकारकर्मीहरुले माग गरिरहेका छन्।
जिल्ला प्रहरी कैलालीले भने दोषीको खोजी भइरहेको जानकारी दिएको छ। ‘हामी घटनामा संलग्नको खोजी गर्दैछौ’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले भने, ‘उनीहरु अहिले फरार छन्।’
घटना नम्बर ३
गत सोमबार साँझ(भदौ २२ गते) बैतडीको सिगास गाउँपालिकास्थित बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रका अहेब भुपेन्द्र बोहरा स्वाब संकलनका लागि गइरहेका थिए। स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिडेका स्वास्थ्यकर्मी बोहराले भूमीराज आधारभूत विद्यालयमा वन सम्बन्धि बैठक चलिरहेको बेला सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका थिए।
सोही विषयमा मदिरा सेवन गरेका स्थानीय भानसिंह बोहराले उनीमाथि कुटपिट गरेका थिए। स्वास्थ्य सुरक्षाका बारेमा सम्झाउन लाग्दा आफुमाथि हातपात भएको उनले प्रहरीलाई बताएका थिए। कुटपिटबाट ती स्वास्थ्यकर्मीको घाँटी, खुट्टा र पाखुरा चोट लागेको थियो।
कुटपिटको आरोप लागेका सिगास गाउँपालिका –३ का भानसिंह बोहरालाई गाँजरी प्रहरी चौकीले मंगलबार दिउँसो घरबाटै नियन्त्रणमा लिएको थियो। तर पीडितले जाहेरी दिन नमानेपछि उक्त घटना प्रहरी चौकीमै मिलेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
किन हुन्छ आक्रमण ?
यी केवल एक हप्ताको बिचमा भएका घटना हुन। पछिल्लो समय यस्ता कतिपय घटना हाम्रा वरीपरी भइरहेका छन्। यसरी सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारमर्कीमाथि सांघातिक आक्रमण किन भइरहेको छ त ? यस विषयमा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक झंकर रावल भन्छन, ‘कुनै पनि व्यक्ति अथवा समूहले आफु अनुकुल कार्य नभएको विरोधमा सुरक्षाकर्मी, स्वास्थ्यर्मी र सञ्चारकर्मीमाथि आक्रमण गर्छन्। अन्य सामाजिक र राजनितिक कारण पनि छन्।’
उनले राजनितिक प्रतिसोध साध्न, सामाजिक द्धन्दका कारण समेत तीनै प्रकारका कार्यमा सर्मपितमाथि दुर्व्यवहार हुने गरेको बताए। यस्तै बेरोजगारी, लागुपदार्थ तथा मदिराका कारण समेत यस प्रकारका घटना हुने निर्देशक रावले बताए। ‘पछिल्लो समय युवाहरु लागुपदार्थ दुरव्र्यसनीमा फसेको तथा बेरोजगारीका कारण पनि झैझगडा गर्ने परिपाटी बनेको छ’ उनले भने, ‘अरुको लहलहैमा लागेर विशेषत युवाहरु नै यस्ता कार्यमा संलग्न भएको पाइन्छ।’
त्यसैगरी स्वास्थ्यकर्मीमाथि हुने गरेका दुरव्र्यवहार तथा अक्रमण मानवता विरोधी भएको स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक गुणराज अवस्थीले बताए। ‘सामान्य अवस्थामा कुनै रुष्ट अथवा आवेशमा आएकाहरुले नै आक्रमण गर्छन, तर त्यसरी आक्रमण गरेर समस्या समाधान हुँदैन’ उनले भने, ‘चित्त नबुझेको कुरामा कानुनी उपचार गर्न सहिन्छ।’ उनले पछिल्लो समय राष्ट्र सेवक तथा पत्रकारमाथि हुनेगरेका दुरव्र्यवहाका कारण भने ठ्याक्कै भन्न नसकिने बताए। ‘घटनाको प्रकृती अनुसार भन्न सकिन्छ। ठ्याक्कै कारण त अनुसन्धानपछि मात्रै थाहा हुन्छ’ उनले भने।
यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख वरिष्ठ उपरीक्षक मुकेश सिँहले कानुन मिचेर कार्य गर्नेलाई नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मीमाथि आक्रमण हुनेगरेको बताए। ‘हाम्रो नारा नै सत्य सेवा सुरक्षणम् हो, त्यसै आधारमा काम गर्ने सुरक्षाकर्मीलाई रुष्ट पक्ष अथवा कानुन मिच्नेले आक्रमण गर्छन’ उनले भने, ‘तर त्यसबाट हामी बिचलित हुँदैनौ, झनै उच्च बनोबलका साथ उनीहरुलाई कानुनी दायरामा ल्याउने प्रयत्न गछौं।’ उनले पटकपटक कानुन मिच्ने व्यक्ति तथा समुहबाट यस्ता प्रकारका घटना भइरहने भएकाले ती व्यक्ति र समुहलाई कानुनी दायरामा ल्याइए राष्ट्र सेवकमाथि हुने आक्रमणका घटनामा कमी आउने बताए।
यस्तै नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष अर्जुन शाहले पटकपटक यस्ता प्रकारका घटना घटाउनेले उन्मुक्ति पाएका कारण घटना दोहोरिने बताए। ‘असन्तुष्ट समूहले चित्त नबुझेको कुरामा कानुनी उपचार खोज्नुपर्नेमा हातपातमै उत्रिन्छन्’ उनले भने, ‘सञ्चारकर्मीमाथि यस्ता प्रकारका घटना घटिरहने तर दोषीले सजाय नभोग्ने गरेका कारण पटकपटक फेरि अपराधिक मानसिकता बोकेकाहरुले त्यसैप्रकारका घटना दोहोर्याउँछन्।