डडेल्धुरा सदरमुकामको सडक चौडा हुने, पुनः आव्हान गरियो टेण्डर
धनगढी: डडेल्धुरा सदरमुकामको बागबजार–किर्तिपुर सडक चौडा पार्ने कार्य हुने भएको छ। केहि समय अघि सडक डिभिजन कार्यालय कुलपाते डोटीले उक्त सडक स्तरवृद्धी गर्न ४४ करोडको बोलपत्र आव्हान गरेको थियो।
सडक स्तरवृद्धीका लागि संघीय सरकारबाट ४४ करोडको बजेट विनियोजन भएको भएपनि बागबजारका केहि व्यापारी तथा घरधनीले क्षतिपूर्ति माग गर्दै सर्वोेच्च अदालतमा मुद्धा दायर गरेका थिए। जसले गर्दा सडक विस्तारका लागि टेण्डर समेत भइसकेको अवस्थामा सडक स्तरवृद्धीको काम रोकिएको थियो।
उक्त टेण्डर नै स्थगित भएको सूचना सामाजिक संजालमा समेत भाइरल बनेको थियो। जसको त्यहाँका स्थानीयले विरोध गरेका थिए। साघुँरो सडकका कारण सास्ती पाएका उनीहरु टेण्डर नै स्थगित भएको खबरले निराश बनेका थिए।
तर आज(बिहिबार) मात्रै सडक डिभिजन कार्यालय कुलपाते डोटीले उक्त सडक स्तरवृद्धी गर्न भनी पुनः बोलपत्र आव्हान गर्दै सूचना जारी गरेको छ।
कार्यालयले पुरानै रकम ४४ करोडको बजेट टेण्डरमा उल्लेख गरेको छ। पुरानो बोलपत्र स्थगित गरेर पुनः किन आव्हान गरियो भन्ने प्रश्नमा डिभिजन प्रमुख सुर्दशन कार्की भन्छन, ‘केही प्रावधिक त्रृटिका कारण पुरानो ठेण्डर स्थगित भएको हो। बजेट नै विनियोजन भइसकेको सडकको काम हुन्छ।’
सडक बन्छ, घरधनीले मुआब्जा नपाएपनि राहत पाउँछनः नगरप्रमुख ओझा
यस विषयमा अमरगढी नगरपालिकाका नगर प्रमुख विशेश्वर प्रसाद ओझा सडक विस्तारको कार्य जसरी पनि हुने बताउँछन्। केही असन्तुष्ट व्यापारी तथा घरधनीले मुआब्जा पाउनुपर्ने भन्दै सर्वोच अदातलमा मुद्धा दायर गरेको भएपनि मुद्धा किनारा लागिसकेको अवस्थामा सडकको काम सुरु हुने उनले बताए। ‘मैले संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ कुरा गरेको छु। उहाँले पनि सडक विस्तारको काम जसरी पनि अघि बढ्ने बताउनु भएको छ।’ घरधनीहरुलाई पूर्ण मुहाब्जा उपलब्ध नभएपनि राहत भने उपलब्ध हुने उनले बताए।
अमरगढी नगरपालिकामा पर्ने उक्त सडक भएर सुदूरपश्चिम प्रदेशका ७ वटै पहाडी जिल्ला पुग्न सकिन्छ। तर सडक साघुँरो हुँदा सवारी चालक र स्थानीयले निकै सास्ती भोगिरहेका छन्। उक्त सडकखण्डमा दैनिकजसो जाम लाग्ने गर्छ। जसका कारण स्थानीयलाई हिँडडुल गर्न समस्या हुने गरेकोे छ। साघुँरो सडकका कारण दुर्घटनाको जोखिम समेत रहेको छ।