महाकाली नदीमा पानीको बहाव निरन्तर बढ्दो, सर्तक रहन आग्रह
धनगढी: मंगलबारदेखि भइरहेको लगातारको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेको छ। अत्यधिक वर्षाका कारण महाकाली नदी छेउका बस्तीमा खतरा हुन सक्ने भन्दै डडेल्धुरा नदी जलस्तर मापन केन्द्र परीगाउँले सचेत गराएको छ।
बुधबार दिउँसो १ बजे महाकाली नदीमा जलस्तर ६ मिटर पुगेको मापन केन्द्रले जनाएको छ। महाकाली नदीमा पानीको जलस्तर ५.८० भन्दा बढी भयो भने चेतावनीको संकेत मानीन्छ।
दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुरसहित चुरे क्षेत्रमा परेको पानीका कारण महाकाली नदीमा पानीको बहाव बढेकोले नदी आसपासका नागरिकहरुलाई सुरक्षित रहन र नदीमा नजान जलविज्ञान र मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाका अनुसार जलस्तर ७ मिटर पुग्दा जोखिम हुने गर्दछ।
यस्तै शाखाले पहाडी क्षेत्रमा निरन्तर पानी परिरहेका कारण पानीको बहाव बढ्ने संकेट देखिएकाले नदीको तटिय क्षेत्र र डुबान भइरहने होचा क्षेत्रमा बसोबास गर्नेहरुलाई सचेत रहन आग्रह गरेको छ।