लकडाउनपछि सुदूरपश्चिमका दीर्घ रोगीको बिजोग, अकालमै ज्यान गुमाउन बाध्य
धनगढी : डोटीको जोरायल गाउपालिका वडा नम्बर ५ का स्थानीय लेखराज भट्ट विगत १७ वर्षदेखि नियमित रुपमा सुगरको औषधी सेवन गर्दै आएका छन्। धनगढीबाटै औषधी लगेर सेवन गर्दै आएका भट्ट गत चैत्र ११ गतेदेखि देशमा लकडाउनको घोषणा भएसंगै नियमित औषधी सेवनबाट बञ्चित भएका छन्।
लकडाउनपछि सवारी साधन पनि संञ्चालनमा रोक लागेसंगै समस्या भईरहेको छ। ‘नियमित औषधी सेवन गर्नबाट बञ्चित भएपछि स्वास्थ्यमा समेत समस्या देखिएको छ,’ उनकी श्रीमती रम्भा भट्टले भनिन्, ‘विगतमा धनगढीबाटै औषधी लग्ने गरेका थियौं। लकडाउनपछि औषधी लैजान समस्या भयो। फेरी लकडाउन थपिएको छ कसरी औषधी ल्याउने चिन्तामा छौं।’
उता बझाङमा भने लकडाउनका कारण नियमित सेवन गर्ने औषधि अभाव भएपछि एक महिलाको ज्यान नै गएको छ। मुटुमा समस्या भई नियमित औषधि सेवन गर्दै आएकी साइपाल गाउँपालिका–१ धलौनकी ४७ वर्षीया कंकादेवी बोहराको गत सोमबार ज्यान भएको हो।
जिल्लाको दुर्गम साइपाल गाउँपालिकामा घर भए पनि बोहराले नियमित रूपमा औषधि सेवन गर्नुपर्ने भएका कारण सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएकी थिईन्। उनी विगत ६ वर्षदेखि औषधि सेवन गर्दै आएकी थिइन्। तर उक्त औषधि दुई साताअघि सकिएपछि उनको स्वास्थ्य कमजोर हुँदै गएको थियो र सोमवार मृत्यु भएको हो।
उनीसंगै जिल्लाका अन्य दीर्घरोगीहरु अहिले नियमित औषधी सेवन गर्नबाट वञ्चित भएको जिल्ला अस्पताल बझाङका मेसु डाक्टर सन्दिप ओखेडाले बताए। ‘बोहराले नियमित जाँच गराउन नपाएपछि स्वास्थ्य कमजोर भएको थियो’, उनले भने, ‘अन्तिम अवस्थामा हामी कहाँ पुग्नु भएको थियो तर बचाउन सकिएन्।’
सुदूरपहाडमा रहेका सुगर, प्रेसर, मुटुरोग लगायत अन्य दीर्घ रोगीहरु नियमित औषधी सेवन गर्दबाट बञ्चित भएका हुन्। उनीहरु मध्ये कतिपय जिल्ला अस्पतालहरुमा पुग्ने गरेको भएपनि औषधी नपाउँदा झनै जोखिममा छन्।
जिल्ला अस्पताल दार्चुलाका मेसु डाक्टर गजेन्द्र दुवालले भने, ‘दीर्घ रोगीहरु हाम्रो सम्पर्कमा पनि आउने गरेका छन्। मानसिक रुपमा अस्वस्थ्यहरुलाई औषधी उपलब्ध गराउन मुस्किल भईरहेको छ।’