कोरोनाबाट विदेशमा रहेका ७३ नेपालीको मृत्यु
विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीको सङ्ख्या ७३ पुगेको छ। सङ्घको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार बेलायतको ग्रेटर लण्डनमा २७, मिडल्याण्डमा आठ, साउथ इष्टमा ११, साउथ वेष्टमा तीन गरी ४९ जनाको मृत्यु भएको छ। यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १५ पुगेको छ।
जसमध्ये मध्य न्युयोर्कमा १२, कोलोराडोमा दुई र भर्जिनियामा एकको मृत्यु भएको छ। यस्तै, संयुक्त अरब इमिरेट्स (युएई) मा पाँच, आयरल्याण्ड, जापान, टर्की र नेदरल्याण्डमा एक–एकजनाको सङ्क्रमणका कारण ज्यान गएको समितिका संयोजक डा सञ्जिव सापकोटाले जानकारी दिनुभयो। सापकोटाका अनुसार नेपालबाहेक विश्वभर पाँच हजार २४७ जना गैरआवासीय नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन्।
सङ्क्रमितमध्ये एक हजार ५७० जना सङ्क्रमण मुक्त भएको अनुमान समितिले गरेको छ। सापकोटाका अनुसार मध्यपूर्वका केही देशमा कोरोना भाइरस सङ्क्रमणका कारण प्रभावित हुनेको सङ्ख्या झनै बढिरहेको पाइएको छ। कतारसहित केही मध्यपूर्वका देशले दुई हजार ३०० नेपाली श्रमिकमा कोरोना सङ्क्रमण भएको तथ्याङ्क सार्वजनिक गरेको छन्। विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडाअनुसार २७ देशमा रहेका नेपाली कोरोना भाइरसबाट सङ्क्रमित छन्।
स्वास्थ्य समितिका अनुसार विभिन्न मध्यपूर्वका देशमा दुई हजार ३००, अमेरिकामा एक हजार ५००, बेलायतमा एक हजार, बहराइनमा १२६, युएईमा १००, साउदी अरबमा ३४, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १०, बेल्जियममा ६, जापानमा ६, स्विडरल्याण्डमा पाँच, क्यानाडामा पाँच, जर्मनीमा चार, साइप्रसमा तीन, मलेसियामा तीन, न्यूजिल्याण्डमा तीन, माल्दिभ्समा दुई, माल्टामा दुई, हङ्कङमा दुई, म्यानमारमा एक र फ्रान्समा एकजना गैरआवासीय नेपालीलाई कोरोना सङ्क्रमण भएको छ।
सङ्घले कोरोना भाइरसको महामारीबाट प्रभावित भएकाहरुको सहयोगार्थ ४५ देशका राष्ट्रिय समितिमा राहत वितरणको काम गरिरहेको सङ्घका महासचिव डा हेमराज शर्माले जानकारी दिनुभयो। विभिन्न देशमा कोरोना महामारीबाट प्रभावित ३५ हजारभन्दा बढी नेपालीलाई राहत वितरण गरिएको छ। यसैबीच, गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० का अध्यक्ष तथा कोभिड–१९ उच्चस्तरीय समितिका संयोजक कुमार पन्तले कोरोना भाइरसका कारण ठूलो सङ्ख्यामा गैरआवासीय नेपालीको निधन भएको प्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
अध्यक्ष पन्तले कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गुमाएकाको परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। अध्यक्ष पन्तले सङ्घको स्वास्थ्य समितिले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले आफूलाई अझ दुःखी बनाएको बताउँदै सबै गैरआवासीय नेपालीहरुलाई कोरोना भाइरसको महामारीविरुद्ध एकजुट भएर लड्न आग्रह गर्नुभएको छ।–रासस