कैलालीमा ठप्प योजना सञ्चालन गर्न अनुमतीका लागि प्रशासन धाउँदै स्थानीय सरकार
धनगढी : विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि जारी लकडाउनका कारण कैलालीका स्थानीय तहमा समेत विकासे योजनाको काम ठप्प रहेको छ। कोरोनाको भाईरसको संक्रमणलाई नियन्त्रण गर्न नेपाल सरकारले गत चैत्र ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै कैलालीका स्थानीय तहमा समेत विकास निर्माणको काम ठप्प रहेको हो।
जिल्लाका विभिन्न स्थानीय तहहरु अहिले सम्म कोरोना महामारीलाई रोकथाम तथा लकडाउनका कारण समस्यामा परेकाहरुलाई राहत वितरणमै व्यस्त भएपछि विकास निर्माणका योजनाहरु अलपत्र परेको जानकी गाउँपालिकाकी उपध्यक्ष उमा महत्तोले बताईन्। ‘विकास निर्माणका योजना सुरु गर्ने तयारीमा छौं, माथीको निर्देशन के आउँछ हेरौ।’, उनले भनिन्, ‘लकडाउनका कारण पुर्वाधार लगायतका अन्य योजनाको काम प्रभावित भएको छ।’
स्थानीय प्रशासनले अनुमती दिएसंगै काम सुरु गर्ने उनले बताईन्। कैलालीका १३ स्थानीय तहमा नयाँ सडक निर्माण, कालोपत्रे, ग्रावेल, खानेपानी, विभिन्न विद्यालयका भवन निर्माण लगायतका पूुर्वाधारका योजनाको काम रोकिएको छ। कोरोनाको संक्रमणसँगै विकास निर्माणका योजना अलपत्र परे दीर्घकालिन असर पर्ने भन्दै फेरी सुरु गर्ने तायारी थालिएको चुरे गाउँपालिकाका अध्यक्ष धन बहादुर रोक्का मगरले बताए।
‘अहिले काम गर्न सकिएन भने सबै योजना अधुरा रहन्छन्।’, उनले भने, ‘निर्माण सामाग्री ढुवानी गर्न समस्या हुने हुदाँ स्थानीय प्रशासनको अनुमति पर्खिरहेका छौं।’ प्रमुख जिल्ला अधिकारी सहित प्रहरी प्रशासनलाई समेत खबर गरेको उनले बताए। कैलालीकै कतिपय स्थानीय तहहरु भने काम सुरु गर्ने अनुमती माग्नको लागि जिल्ला प्रशासन कार्यालय धाउन थालेका छन्।
स्थानीय मजदुरलाई प्रायोग गरी काम सुरु गर्न सकिने भएपनि निर्माण समाग्री ढुवानी गर्न लकडाउन बाधक हुने हुँदा स्थानीय प्रशासनको अनुमती आवश्यक परेको हो। समाजिक दुरी कायम गरी स्थानीय स्तरका मजदुरलाई नै काम दिने गरी विकासे योजनालाई निरन्तरता दिने तयारी भईरहेको गौरीगंगा नगरपालिकाका मेयर भिमबहादुर देउवाले बताए।
‘कार्यपालिकाले निर्णय नै गरेको छ। वडा कार्यालयसँग समन्वय गरी विकासे योजना संञ्चालन गर्नेबारे। ’ उनले भने, ‘लकडाउन अगाडी आधा काम सकिए योजनाहरुलाई पूर्णता दिन भएपनि काम सुरु गर्नुपर्ने देखिएको छ।’ यता जिल्ला प्रशासन कार्यालय कैलाली भने स्थानीय स्तरमा संञ्चालन हुने विकास निर्माणका योजनाहरु सुरु गर्नको लागि अनुमती दिन नसकिने जनाएको छ।
जिल्लामा संञ्चालित ठुला योजनाहरुले गृह मन्त्रालयकै निर्देशनमा काम सुरु गरेको भएपनि स्थानीय तहका योजनाहरु संञ्चालनको लागि तत्तकालै अनुमती दिन नसकिने कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए।
‘स्थानीय स्तरमा संञ्चालित विकास निर्माणका योजनाहरुको काम पुनः सुरु गर्नको लागि अनुमती माग्दै सिफारिसहरु आएका छन्।’ उनले भने, ‘सबै विकास निर्माणका योजना सञ्चालन गर्न अनुमती दिन त्यहाँ संलग्न हुने जनशक्तिको अवस्था हेर्ने हो भने अहिले थेग्न सक्ने स्थिती छैन्।’