कोरोनालाई गोदावरी नगपालिकाको चुनौतीः सरकारी आदेशको धज्जी उडाएर राहत वितरण
धनगढी: विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड– १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि देशभर लकडाउन तथा समाजिक दुरी कायम गर्न आदेश जारी गरेको छ।
विश्व स्वास्थ्य संगठन(डब्लुएजओ) ले १ मिटर अर्थात ३ फिटको दुरीलाई समाजिक दुरी(सोसल डिस्टेन्स) मान्न सकिने भनेर मान्यता दिएको छ। तर सरकारको आव्हानलाई सरकारकै एक तहले धज्जी उडाएको घटना सार्वजनिक भएको छ।
कैलालीको गोदावरी नगरपालिकाले समाजिक दुरी कायम नगरेरै राहत वितरण गरेको जानकारी दिनेशखबरलाई प्राप्त भएको छ। बुधबार नगरपालिकाको वडा नम्बर ३ को कार्यालयले मुक्ति विद्यालय, रोयल युवा क्लबको कार्यालय र चौकीडाँडा सामुदायिक वनको भवन गरेर तीन स्थानमा राहत वितरणको कार्यक्रम आयोजना गरेको थियो।
तर चौकीडाँडामा राहत वितरण गरिँदा अत्याधिक भिडभाड गरेर वितरण गरिएको एक स्थानीयले गुनासो गरेका छन्। ‘सबैमा कोरोनाको त्रास भएका बेला गोदावरी नगरपालिकाले यसरी भिडभाँड गरेर राहत वितरण गर्दा अचम्म लागेको छ’ उनले भने, ‘सरकारले जारी गरेको आदेशको सरकारकै तहले उल्लंघन गरेको छ।’
राहत वितरणमा समेत अनियमितता भएको अर्का स्थानीय सुनेराम बिकले बताए। ‘हुनेखाने तथा आफ्ना मान्छेलाई मात्रै राहत प्रदान गरिँदै छ, हामी जस्ता वास्तविक मजदुरी गरेर खाने विपन्नले केही पाएनौ’ दिनेश खबरलाई उनले भने।
यसबारे वडा अध्यक्ष मोहनबहादुर खत्रीलाई बुझ्दा राहत वितरणमा भिडभाड भएको उनले स्विकार गरेका छन्। उनले भने, ‘हामीले तीन स्थानमा राहत वितरणको कार्यक्रम राखेका थियौं, जसमध्ये मुक्ति विद्यालयमा १ सय २० परिवार, रोयल युवा क्लबको कार्यालयमा ३२ परिवारलाई राहत वितरण गरेका छौ तर चौकीडाँडा सामुदायिक भवनमा राहत बाँड्दैगर्दा अत्याधिक भिड भयो र आधामै कार्यक्रम रद्ध गर्नुपर्यो।’
आफूहरुले त्यसरी भिड बढ्ला भनेर नसोचेको तर भिडबढेपछि आगामी दिनमा घरघरमै राहत उपलब्ध गराउने प्रतिबद्धता गरेर कार्यक्रम रद्ध गरेको वडा अध्यक्ष खत्रीले बताए।