संकटमा ‘पागल’ डाक्टर कहाँ छन् ?
धनगढी: प्राध्यापक डा. गोविन्द केसी एक अर्थोपेडीक सर्जन हुन। २६ वर्षदेखि त्रिवि शिक्षण अस्पतालका अर्थोपेडिक प्राध्यापक एवम् विशेषज्ञका रुपमा कार्यरत चिकित्सिक केसीले गत असोजमा अवकाश पाएका थिए।
बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७ पटक सम्म त अनसन नै बसेका छन्। उनका धेरै माग अझै पूरा भएका छैनन्। देशमा कोरोनाको रोकथामका लागि लकडाउन जारी छ। अहिले धेरैले डाक्टर केसीलाई पनि सम्झिरहेका छन्।
चीनबाट ल्याइएका मेडिकल सामग्रीमा घोटाला, निजी अस्पतालले कोरोना संक्रमितको उपचार गरेनन् तथा उपचार गर्न अस्पताल अभाव जस्ता समाचार अचेल सञ्चार माध्यममा छ्यापछ्याप्ती आइरहेका छन्। डा केसीले त्यतिबेला यी सबै कुराको माग गरेर सत्याग्रह बस्दा कतिपयले उनलाई ‘पागल’ को विल्ला समेत भिराएका थिए।
१७औं पटकको सत्याग्रह बस्न गत कार्तिकमा डडेल्धुरा पुगेका बेला उनले चिकित्सा शिक्षा ऐनमा संशोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह रोकियो।
कार्तिक १८ गतेबाट सुरु भएको उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भयो। राष्ट्रियताको संवेदनशिलताकै विषयमा देशभरमा जनस्तरबाट आवाज उठेको भन्दै डा. केसी सत्याग्रह स्थगित गरेर काठमाडौं फिर्ता भएका थिए।
सरकारसँग विभिन्न माग राखेर पटकपटक अनसन बस्दै आएका उनी अहिले कहाँ छन? विश्व नै कोभिड– १९ को महामारीबाट आक्रान्त भएका बेला नेपालमा पनि यसको त्रास छ। देशलाई अहिले थुप्रै चिकित्सकको आवश्यकता परेका बेला डा केसी के गर्दैछन? अहिले सामाजिक संजालमा समेत डा केसी कता गए भनेर धेरैले प्रश्न तेर्साएका छन।
०००
आजभोली प्रा डा गोविन्द केसीको दिनचर्या बेग्लै छ। उनी एउटा अलग्गै संसारमा छन्। किर्तिपुरको एउटा घरमा डा केसीको कोठा छ। बिहानै ६ बजे उठेर उनी प्राय कोठामै बस्छन। ८ बजेअघि नै एक ग्लास तातो दुध पिएर उनी कोठाबाट निस्कीन्छन र लाग्छन उनको सधैको गन्तव्य तिर। करिब १० मिनेट हिडेंपछि उनको गन्तव्यमा पुगिन्छ, डडेल्धुरा अस्पताल।
अघि भनिएको किर्तिपुरबजार डडेल्धुराको अमरगढी नगरपालिका– ५ सदरमुकाममै पर्छ। डडेल्धुरा अस्पतालमै कार्यरत एक कार्यालय सहयोगीको घरमा उनी दिनको ४ सय भाडा तिर्ने गरी एउटा कोठा लिएर बस्छन, त्यो भाडा उनी आफ्नो गोजीबाट तिर्छन। अस्पतालमा पुगेपछि उनी सिधै आफ्ना बिरामी जाँच्न पुग्छन। चाहे त्यो इमरजेन्सी होस या चाहे त्यो वार्ड। बिरामीको खबर बुझेपछि उनी नयाँ बिरामीको उपचार गर्न र ती बिरामीलाई परामर्श दिनमै व्यस्त हुन्छन्।
डडेल्धुरा अस्पतालका सूचना अअधिकारी टंकप्रसाद पन्तका अनुसार अस्पतामा दैनिक ७० हाडजोर्नीका बिरामी आउने गर्दछन्। ‘पहिले दिनको ७० भन्दा बढी हाडजोर्नीका बिरामी आउँथे तर लकडाउन भएकाले अहिले १२÷१४ जना मात्रै आउँछन्,’ उनले भने ‘हामीसँग अर्थोपेडीकका एक अर्का डाक्टर छन् उनी र डा गोविन्द केसी दिनभर ती बिरामीलाई हेर्छन।’
दिनमा एक घण्टाको ब्रेक लिने डा केसी कहिले त्योपनि लिंदैनन्। ‘बस बिरामीको उपचारमै व्यस्त हुन्छन, दिनमा एकछाक खाना खाने उनी दिउँसो खाना पनि खादैनन,’ सोही अस्पतालमा कार्यरत कर्मचारी रमेश भट्ट भन्छन, ‘दिउँसो नेपालमा बनेको बिस्कुट, तातोपानी कहिले कोकाकोला खान्छन तर कामबाट फुर्सद नपाउने दिन त्योपनि खादैनन्, भोकै बस्छन्।’ डा केसीले शल्यक्रिया कक्षमा चाहिने सानातिना सामान समेत आफ्नै रकमले किन्ने गरेको उनले बताए।
‘कहिले त गरिब बिरामीहरुलाई आफ्नै पैसाले औषधि किनेर दिन्छन’ रमेश भट्ट थप्छन ‘उनले गरिब बिरामीका लागि भनेर प्रति जोडा ३५ सय पर्ने १५ जोडा बैशाखी किनेर अस्पतालमा राखेका छन्।’ दिउँसो अस्पतालको कामबाहेक केही नबोल्ने उनी बेलाबेला आफ्ना सबै बिरामीको अपडेट लिने गर्दछन। ‘अस्पतालका कर्मचारीसँग नमस्ते बाहेक नबोल्ने उनीलाई सुरुमा बिरामीले चिन्दैनन्,’ अस्पतालले अर्का कर्मचारी प्रकाशचन्द्र बुढाऐरले हास्दै भने, ‘बिरामीले सुरुमा चिन्दैनन, चिनेपछि उनीलाई छोड्दैनन्।’
दिनभर बिरामीलाई हेरेपछि साझ ७ बजेतिर उनी कोठातर्फ लाग्छन। घरबेटीले बनाएको खाना खाएर सुतेपछि उनको त्यो दिनको दिनचर्या समाप्त हुन्छ। घरबेटीको घरभाडा र खानाको रकम उनले निरन्तर बुझाउँदै आएको छिमेकमै बस्ने अस्पतालका कर्मचारी प्रकाशचन्द्र बुढाऐरले बताए।
०००
दुई महिना निशुल्क स्वास्थ्य सेवा प्रदान गर्न भनेर डा गाविन्द केसी गत फागुन २० गते डडेल्धुरा पुगेका थिए। डडेल्धुरा अस्पतालमा केसीले निःशुल्क सेवा प्रदान गर्न सुरु गरेपछि अहिलेसम्म सयौंले उनीबाट सेवा लिएका छन्।
डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला र डोटीका हाडजोर्नीसम्बन्धी समस्या भएका धेरैले विशेषज्ञ चिकित्सा सेवा पाएका छन्। लकडाउन अघिसम्म उनीसँग उपचार गराउन धेरैको भिड लाग्ने गरेको थियो। तर आजभोली लकडाउनका कारण बिरामीको चाप भने केही कम भएको अस्पतालले जनाएको छ।
भेट्न गएका शुभचिन्तक र स्थानीयसँग बोल्न नमान्ने उनले हामीसँग पनि बोल्न मानेनन्। उनलाई केही बोल्न सम्पर्क गर्न खोज्दा आफ्ना अनुनायीसँग उनले यतीमात्रै भन्न लगाए, ‘अहिले बोल्ने समय आएको छैन।’
०००