सुदूपश्चिममबाट विश्व कीर्तिमान सम्मको यात्रा गरेकी अञ्जलीको स्वर्ण जित्ने सपना
धनगढी: बैतडीको दथरथचन्द नगरपालिका–५ बस्कोटमा जन्मिएकी अञ्जली चन्दले अहिले देशभर चर्चा पाइरहेकी छन्। १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालको पहिलो खेलमा उनले अद्भुत बलिङ गर्दै विश्व कीर्तिमान नै बनाएकी छन्। उनले २.१ ओभर बलिङ गर्दै कुनै रन खर्च नगरी ह्याट्रिकसहित ६ विकेट लिइन्।
दाइहरुसँग खेल्दा–खेल्दै क्रिकेट सिकेकी उनले सुरुमा ८ कक्षामा पढ्दा राष्ट्रिय स्तरको खेल खेल्ने मौका पाएकी थिइन। परीवारबाट सधै सहयोग र उत्प्रेरणा मिलेको बताउने अब उनको सागमा स्वर्ण ल्याउने सपना छ। ‘त्यतिबेला महिला क्रिकेटको त्यति के्रज थिएन, तर महिलालाई मौका रहेको थाहा पाएपछी त्यतिबेलाको क्षेत्र नम्बर ६ बाट मैले राष्ट्रिय स्तरको खेल खेलेको थिए’ उनले भनिन 'त्यतिबेलाको रहरले आज यहाँसम्म पुगे। ’
'साग खेल्ने नेपाली टोलीमा परेपछि उनले ३/४ विकेट त पाउँछु भन्ने सोचेकी थिइन। ‘आज त राम्रो पदर्शन भयो अब आफ्नो ९ वर्षे अनुभव लगाएर आज जसरी आगामी खेलमा पनि आफ्नो ‘बेष्ट’ दिनेछु। ‘देशको लागी स्वर्ण ल्याउने हामी सबैको सपना छ’ चन्दले भनीन। ‘क्रिकेटमा माल्दिभ्स सिकारु टिम थियो अब श्रीलंका र बंगलादेश अलि बलिया छन तर ति टिमलाई जित्ने आशा छ, जित्छौ भनेर खेल्ने हो’ उनले दिनेश खबरलाई भनीन ‘आजको जित र पदर्शनपछि यस्तो प्रदर्शनलाई निरन्तरता दिनुपर्ने दबाव भने बढेको छ।’
२५ वर्षीया अञ्जलीको ४ वर्षअघि बिहे भइसकेको छ। तर घर र माइत दुवैबाट साथ पाएकी बिहेपछि पनि क्रिकेट प्रतिको मोह कम नभएको उनले बताइन। बिहेपछी वुमन्स च्याम्पियन्स लिगबाट क्रिकेटमा फर्किएको बताउँदै उनले सागका लागि नेपाली टोलीमा पर्दा नै केहि गर्छु भन्ने आटेको बताइन्। ‘यतीसम्म राम्रो गरौला भनेर सोचेको थिएन, नसोचेको कुरा पुरा भयो एकदमै खुसी छु’ अञ्जली चन्दले भनीन।
आज पोखरामा भएको खेलमा टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन बनाएको थियो। जसमा अञ्जली चन्दको कीर्तिमानी बलिङ रहृयो। खेलको छैटौं ओभरमा बलिङमा आएकी उनले एक रन पनि नदिई तीन विकेट लिइन्। नवौं ओभरमा पनि दुई विकेट लिइन्। ११ औं ओभरको पहिलो बलमै विकेट लिँदै उनले हृयाट्रिक पूरा गरिन्। जम्मा २.१ ओभर बलिङ गरेकी उनले एक रन पनि दिइनन् र ६ विकेट लिइन् ।
माल्दिभ्सले दिएको चुनौतीलाई नेपालले पहिलो ओभरमै पुरा गर्यो। काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन बनेकाले नेपालले जित हात परेको थियो। १३ औं साग अन्तर्गत पोखरामा हुने महिला क्रिकेट प्रतियोगितामा अब अर्को खेलमा नेपाल बुधबार बंगलादेशविरुद्ध भिड्ने छ।