धनगढी र कैलारी जोड्ने पुल जीर्ण, समस्यामा नागरिक
![](http://68.183.180.214/dineshkhabar/sites/default/files/styles/row_list/public/field/image/WhatsApp%20Image%202025-01-29%20at%207.17.45%20PM.jpeg?itok=84QqKkpT)
धनगढी : कैलालीको धनगढी उपमहानगरपालिका र कैलारी गाउँपालिका जोड्ने पुल जीर्ण बनेको छ। धनगढी उपमहानगरपालिका–१८ र कैलारी गाउँपालिका–४ जोड्ने पुल जीर्ण भएको हो। पुल निर्माणका लागि स्थानीय नागरिकले पटक–पटक माग गर्दै आएका छन्।
तर, पुल निर्माणमा स्थानीय सरकार, प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको छ। पुल निर्माणमा बेवास्ता गरिएपछि स्थानीय नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन्। पुल जीर्ण भएकाले दुर्घटनाको समेत जोखिम रहेको छ। स्थानीय सत्रुधन चौधरीले पुलमा यात्रा गर्न डराउनुपर्ने अवस्था रहेको बताए। उनले भने, ‘डर लाग्छ। पुल भत्किने बेला भएको छ। टुट्न लागेको छ। पुल बनाउनै पर्ने हो।’
कैलालीको कैलारी गाउँपालिका–४, ६ र ९ का नागरिकलाई धनगढीसम्म आउन समस्या भएको हो। धनगढी उपमहानगरपालिका–१८ र कैलारी गाउँपालिका–४ को सीमा क्षेत्रको नदीको पुल जीर्ण भएकाले नागरिक समस्यामा रहेका छन्। पुल जीर्ण भएकाले नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य रहेका छन। कैलारी गाउँपालिकाका नागरिक दैनिक कामकाज, किनमेल, स्वास्थ्य उपचार लगायतको कामका लागि धनगढी आउन समस्या भएको हो। जीर्ण पुलको विकल्प नभएकाले उनीहरू जोखिमपूर्ण जात्रा गर्दै आएका छन। विद्यालयको बसका चालक रतन चौधरीले बाध्यताले बस चलाउदै आएको बताए। उनले भने, ‘हाम्रो बाध्यता हो। विद्यार्थीहरूलाई स्कुल पुर्याउनुपर्छ। पुल नयाँ भयो भने, सबैलाई राम्रो हुन्छ।’
धनगढी–१८ को फूलबारी बजारसँग जोड्ने पुल वर्षौदेखि जीर्ण छ। कैलारी गाउँपालिकाका नागरिकले पटक–पटक पुल निर्माणका लागि सरकारसँग आग्रह गर्दै आएका छन्। तर, स्थानीय, प्रदेश र सङ्घीय सरकारहरूले पुल निर्माणमा चासो नदिएका हुन। जीर्ण पुलमा सवारी सञ्चालनमा समस्या छ। अटो तथा मोटरसाइकल दुर्घटनाको जोखिम छ। एक विद्यार्थीले बर्सातको पानी पुल बगाउने बताए।
![Sonalika](http://68.183.180.214/dineshkhabar/sites/default/files/Sonalika-Tractors-ko-web-banner-giff.gif)
पुल निर्माणका लागि विभिन्न व्यक्ति तथा निकायहरू अनुगमनमा जाने गरेका छन। तर, बजेट विनियोजन गर्ने निकायहरूको प्राथमिकतामा पुल परेको छैन। बजेट विनियोजनमा बेवास्ता गरिएको हो। प्रदेश सरकारबाट पुल निर्माणमा बजेट विनियोजन हुने बताउदै धनगढी–१८ का वडाध्यक्ष भुवन रिजालले भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालयले पुल निर्माण गर्ने बताए। उनले प्रदेशको आर्थिक मामिला मन्त्रालयबाट पुल निर्माणका लागि बजेटको सुनिश्चितता आएको बताए। उनले भने, ‘पूर्वाधारको टोली आउछौ भन्दै थिए। ठेक्का भएको छैन। तर, स्रोत स्वीकृत भएको खबर छ।’
धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी हो। तर, धनगढीसँग सीमाना जोडिएँका नागरिकहरूले समेत जीर्ण पुलको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ।