सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारत–नेपाल सांस्कृतिक महोत्सव सम्पन्न

२०८१ मंसिर २४, ०८:३९ रासस

काठमाडौँ: नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा लुम्बिनीमा सांस्कृतिक महोत्सवको दोस्रो संस्करण आइतवार सम्पन्न गरेको छ।   

उक्त महोत्सवमा लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगर, लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री प्रचण्डविक्रम न्यौपाने, प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामा र काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवलगायत उपस्थित थिए।

दुवै देशका प्रसिद्ध कलाकारहरुको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रमको मुख्य आकर्षण शिखा शर्माको नेतृत्वमा भारतबाट आएको आठ सदस्यीय समूहको बौद्ध धर्मसँग सम्बन्धित कत्थक नृत्य प्रस्तुति रहेको थियो। प्रस्तुतिलाई नयाँ दिल्लीस्थित भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर) ले सहयोग गरेको थियो । सोही कार्यक्रममा स्वजन रघुवंशी र उहाँको समूहले परम्परागत नेपाली नृत्य प्रस्तुत गरेका थिए। 

यस महोत्सवको हिस्साको रूपमा भारतबाट आएका कत्थक नृत्य समूहले काठमाडौँ र पोखरामा आफ्नो प्रस्तुति दिने यहाँस्थित भारतीय दूतावासले जनाएको छ। दुई देशका जनताबीचको सम्बन्धलाई प्रगाढ बनाउँदै यस सांस्कृतिक महोत्सवले भारत र नेपालबीचको सदियौं पुरानो, विशिष्ट र घनिष्ट सम्बन्धलाई सुदृढ गर्ने लक्ष्य राखेको छ।
 

कमेन्ट लोड गर्नुस