टीकापुरका किसान सिताराम ग्ल्याडुलस र जर्जर फूल उत्पादन गर्दै
धनगढीः कैलालीको टीकापुरका पुष्प व्यवसायी सिताराम चौधरीले हिउँदे सयपत्री लगाएका छन्।
२०७४ देखि पुष्प व्यवसायमा लागेका चौधरीले एक बिघा जग्गामा फूलखेती गरेका छन्। चौधरीले यो वर्षदेखि हिउँदे सयपत्री लगाएका हुन्। उनले यो वर्षदेखि सजावट र बुके बनाउन प्रयोग हुने फूलसमेत लगाउन थालेका छन्। चौधरीले यो पटक ग्ल्याडुलस र जर्जरा फूल लगाएका छन्। यी फूलहरू गाडी र मञ्च सजावटमा प्रयोग हुन्छन्।
बुकेमा प्रयोग हुने फूलको उत्पादन सुदूरपश्चिममा नहुने भएकाले पहिलो पटक चौधरीले कटफ्लावरको खेती थालेको बताए। टीकापुर नगरपालिका–१ का चौधरीले २०७४ मा पहिलो पटक फूलखेती गरेका हुन्। सुरूको वर्ष दस कट्ठामा फूलखेती गरेका चौधरीले त्यसयता एक बिघामा पुष्पखेती गर्दै आएका छन्। अहिलेसम्म सयपत्री लगाउँदै आएका चौधरीले यो वर्षदेखि कटफ्लावर लगाउने भएका छन्।
चौधरीले बुके बनाउन र गाडी तथा मञ्च सजाउन प्रयोग हुने जर्जर र ग्ल्याडुलस फूल लगाएको बताए। उनले कटफ्लावरको माग राम्रो भएकाले यो वर्षदेखि जर्जर र ग्ल्याडुलस लगाएको बताए। ‘कटफ्लावरको माग राम्रो छ। नेपालमा कही पनि उत्पादन हुँदैन’, उनले भने, ‘ग्ल्याडुलसको एकै फूल कम्तिमा ३५ रुपैयाँमा बिक्री हुन्छ। सजावट र बुकेमा प्रयोग हुने फूलहरूको बजार नेपालमा राम्रो छ।’
जर्जर र ग्ल्याडुलस जस्ता कटफ्लावरको उत्पादन नेपालमा अहिलेसम्म कसैले नगरेको चौधरीको दाबी छ। सुदूरपश्चिममा आवश्यक पर्ने कटफ्लावर काठमाडौंबाट मागाउने गरिन्छ। काठमाडौंमा कलकत्ताबाट फूल आयात हुने गरेको चौधरीले बताए। १० वर्षदेखि पुष्प व्यवसायमा जमेका चौधरीले फूलखेतीबाटै सबै खर्च कटाएर वार्षिक सात लाख बचत गर्दै आएका छन्। उनले कात्तिकमा रोपेको ग्ल्याडुलस माघ महिनामा बिक्री गर्न तयार हुने बताए।
पुष्प व्यवसायमा नयाँ–नयाँ प्रयोग गर्दै सबै किसिमका फूल आफ्नो बारीमा उत्पादन गर्ने चौधरीले बताए। उनले यो पटक तीन कट्ठामा ग्ल्याडुलस रोपेको र पुसको अन्तिम साताबाट फुल्ने बताए। सुदूरपश्चिममा कटफ्लावरको माग राम्रो भएको चौधरीले भनाइ छ। यहाँ उत्पादित फूल नेपालका अन्य सहरमा समेत बिक्री गर्न सकिने उनको दाबी छ।