सुदूर नेपाललाई विश्वसँग जोड्दै

यातायात कार्यालय धनगढीमा निरोगिताको प्रमाणपत्रमार्फत अवैध असुली

२०८१ मंसिर २०, ०६:५४ नारायण अवस्थी

धनगढीः यातायात कार्यालय धनगढीमा सम्झौता विपरीत स्वास्थ्य परीक्षण शुल्क लिने गरेको तथ्य खुलेको छ। अख्तियारमा उजुरी परेपछि स्वास्थ्य परीक्षणमा प्रति व्यक्ति ३५ रूपैयाँ अतिरिक्त लिने गरेको तथ्य सार्वजनिक भएको हो।

यातायात व्यवस्था कार्यालय धनगढी र डाक्टर सचिन शाहीबिच भएको सम्झौतामा स्वास्थ्य परीक्षण शुल्क ६५ रुपैयाँ लिने उल्लेख छ। तर, यातायातकै केही कर्मचारीहरूको मिलेमतोमा सेवाग्राहीबाट प्रति व्यक्ति एक सय रुपैयाँ शुल्क उठाएर कर्मचारीले एक वर्षमा १९ लाख ४३ हजार अतिरिक्त घुस रकम आम्दानी गरेको तथ्य सार्वजनिक भएको हो।

एक वर्षदेखि प्रति व्यक्ति ३५ रुपैयाँ घुस

२०८० मंसिरसम्म यातायात कार्यालय बाहिरका खोकाहरूमा लाइसेन्स लिने व्यक्तिको स्वास्थ्य परीक्षण रिपोर्ट तयार गरिन्थ्यो। खोकाहरूमा स्वास्थ्य परीक्षण नगरेरै जनही २५० रुपैयाँ लिएर स्वास्थ्य जाँचको रिपोर्ट बिक्री गरिन्थ्यो।

यो विषयमा सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि यातायात व्यवस्था कार्यालय, धनगढीले स्वास्थ्य परीक्षण व्यवस्थित गर्न कमद चाल्यो। जसअनुसार खोलिएको टेण्डरमा सबैभन्दा कम रकम कबोल गर्ने डाक्टर सचिन शाहीले स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाए। उनले प्रति व्यक्ति ६५ रुपैयाँमा स्वास्थ्य चेकजाँच गर्ने सम्झौता गरेका छन्। तर, सेवाग्राहीले भने स्वास्थ्य परीक्षण वापत एक सय रुपैयाँ तिर्दै आएका थिए। यातायात कार्यालयका कर्मचारीहरूको चलखेलमा प्रति व्यक्ति ३५ रुपैयाँ बढी उठाउने गरिएको सेवाग्राहीको आरोप छ। तर, २०८० मंसिर ८ मा गरिएको सम्झौता अनुसार नै स्वास्थ्य परीक्षण शुल्क उठाउने गरेको डाक्टर निभा सिंहले बताइन्। उनले सम्झौता मबोजिम जनही ६५ रुपैयाँ लिएर स्वास्थ्य चेकजाँच गरी निरोगिताको प्रमाणपत्र दिने गरेको बताइन्। ‘हामीले सम्झौता अनुसार नै सेवाग्राहीबाट ६५ रुपैयाँ लिँदै आएका छौँ। तपाईले रसिद पनि हेर्न सक्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले नियम मिचेर बढी रुपैयाँ लिएका छैनौँ।’

के भन्छन् कार्यालय प्रमुख ?

बिहिवार भने स्वास्थ्य परीक्षण शुल्क प्रति व्यक्ति ६५ रुपैयाँ नै लिइरहेको देखिन्थ्यो। स्वास्थ्य परीक्षण गरेको पुरानो रसिदमा पनि सेवाग्राहीबाट ६५ रुपैयाँ नै लिएको विवरण फेला परेको छ।

केही दिन अगाडि मात्रै स्वास्थ्य परीक्षण शुल्क बढी लिएको भन्दै अख्तियार अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो। सो उजुरी पश्चात् स्पष्टीकरण सोधिएको र कागजात हेर्दा ६५ रुपैयाँ नै शुल्क लिने गरेको फेला परेको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख विनोदकुमार मालीले बताए। हामीले केही दिन अगाडि स्पष्टीकरण सोधेका थियौँ। त्यतिबेला सम्झौता अनुसार नै शुल्क लिएको जवाफ आएको छ,’ उनले भने, ‘सम्झौतामा ६५ रुपैयाँ मात्रै शुल्क लिनुपर्ने उल्लेख छ। उहाँहरूलाई हामीले सचेत गराएका छौँ।’

स्वास्थ्य परीक्षण गर्दा ६५ रुपैयाँ भन्दा बढी नलिएको दाबी टेण्डर प्राप्त गर्ने डाक्टर शाहीको छ। तर, यातायातका कर्मचारीहरूको संलग्नतमा सुरुदेखि नै जनही एक सय रुपैयाँ लिने गरेको आरोप सेवाग्राहीको छ। सेवाग्राहीको आरोपको आधारमा स्वास्थ्य परीक्षण गर्दा तोकिएभन्दा प्रति व्यक्ति ३५ रुपैयाँ बढी उठाउने यातायातका कर्मचारीको समूहले एक वर्षमा १९ लाख ४३ हजार घुस रकम उठाएको हिसाब निक्लेको छ। गत वर्षमा ५५ हजार ५३७ जना सेवाग्राहीले लाइसेन्स र नवीकरणका लागि स्वास्थ्य परीक्षण गरेको तथ्याङ्क आधारमा कर्मचारीहरूले सेवाग्राहीबाट मोटो रकम सङ्कलन गरेको देखिन्छ।

तर, आफू कार्यालयमा मङ्सिर २ गतेबाट हाजिर भएको र कुनै पनि सेवाग्राहीबाट स्वास्थ्य परीक्षण गर्दा बढी रुपैयाँ लिएको गुनासो नआएको निमित्त प्रमुख मालीले बताए। बढी रकम लिएको अवस्थामा गुनासो गर्न उनले सर्वसाधारणलाई आग्रह गरेका छन्।

विगतमा स्वास्थ्य परीक्षणका नाममा जथाभाबी स्वास्थ्य परीक्षणको रिपोर्ट बनाउने गरिएकोमा अहिले भने बिहान साढे ९ बजेदेखि नै चिकित्सकसहितको टोली कार्यालयमा बस्ने गरेको दाबी यातायात कार्यालयको छ।

 

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस