कैलालीको जानकी गाउँपालिकाले कृषि मेलाको आयोजना गर्दै
धनगढीः कैलालीको जानकी गाउँपालिकाले कृषि मेलाको आयोजना गर्ने भएको छ।
किसानलाई कृषि प्रविधि र व्यवसायीसँग जोड्न गाउँपालिकाले कृषि मेला आयोजना गर्न लागेको हो। गाउँपालिले जेठको दोस्रो हप्ता दुई दिने कृषि मेला आयोजना गर्ने गरी तयारीमा जुटेको छ। कृषि मेलाबाट किसानले फाइदा लिन सक्ने अपेक्षा गाउँपालिकाको छ।
किसानलाई कृषि प्रविधिसँग परिचित गराउने र कृषि उत्पादनको बजारीकरण गर्न सहयोग गर्ने उद्देश्यले कृषि मेला गर्न लागेको गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बताए। ‘किसानहरूलाई कृषि प्रविधिको बारेमा जानकारी दिन र उहाँहरूलाई बजारीकरणमा सहयोग गर्न कृषि मेला गर्न लागिएको हो’, उनले भने, ‘मेलामा किसानसँगै व्यवसायीहरूलाई पनि बोलाएर कृषि उत्पादनको खरिद बिक्रीलाई समेत सहज गर्ने उद्देश्य राखिएको छ।’
किसान र कृषि उपजको व्यापार गर्ने व्यवसायीको सम्बन्ध जोड्न गाउँपालिकाले कृषि मेला उपयोगी हुने जनाएको छ। उत्पादक किसानलाई कृषि प्रविधि र बजारको बारेमा जानकारी दिन मेलाले सहयोग गर्ने अपेक्षा गरिएको छ। किसानले कृषि प्रविधि सिक्दै मनग्ये कृषि उत्पादन गर्न सक्ने बनाउन र उत्पादित वस्तुको सहज बिक्रीको वातावरण निर्माण गर्न कृषि मेला सहयोगी हुने गाउँपाकिका अध्यक्ष चौधरीको विश्वास छ।
जानकी गाउँपालिका र सिमिट नामक गैरसरकारी संस्थाले संयुक्त रुपमा कृषि मेला आयोजना गर्न लागेका हुन्। जेठको दोस्रो हप्ता मेला आयोजना हुने र करिब १५ हजार किसानको सहभागिता रहने गाउँपालिका अध्यक्ष चौधरीको अनुमान छ। ‘जानकी गाउँपालिकाको जनसंख्या ६० हजार हो।
मेलामा कम्तिमा पनि १०/१५ हजार किसान सहभागी हुने अनुमान गरेका छौँ। अहिले मेलाको तयारीमा जुटेका छौँ। जेठको दोस्रो हप्ता मेला आयोजना गर्ने टुङ्गो भने लागि सकेको छ’, चौधरी भने। जानकी गाउँपालिका कृषि उत्पादनका दृष्टिकोणले महत्त्वपूर्ण पालिका हो। किसानहरूलाई कृषि प्रविधि र बजारसँग जोडेर किसानलाई कृषिबाट थप फाइदा लिन सक्ने वातावरण निर्माण गर्न कृषि मेला गर्न लागेको गाउँपालिकाले जनाएको छ।