सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा प्रहरीले व्यवसायीलाई दुःख दिन थालेको गुनासो

२०८१ वैशाख २४, ११:३५ नारायण अवस्थी

धनगढीः कैलालीमा नेपाल प्रहरीले व्यवसायीलाई दुःख दिन थालेको गुनासो गरिएको छ।

धनगढीका व्यवसायी आशिष गुप्ताले प्रहरीले आफूमाथि ज्यादती गरेको बताएका छन्। धनगढी–४ स्थित चटकपुरमा हरि ओम हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक गुप्तालाई कैलाली प्रहरीले बैशाख १६ गते सामानसहित पक्राउ गरेर थुनेको विषय बाहिर आएको छ।

महेन्द्रनगरबाट भन्सार जाँचपास र सबै किसिमको कर चुक्ता गरेको सामानसहित गुप्तालाई मध्यराति प्रहरीले हत्कडी लगाएर पक्राउ गरेको हो। कैलाली प्रहरीले व्यवसायीलाई दुःख दिन थालेको हरि ओम हार्डवेयर एण्ड सप्लायर्सका सञ्चालक आशिष गुप्ताले गुनासो गरेका छन्। ‘प्रहरीले हामी व्यवसायीलाई अनावश्यक दुःख दिन थालेको छ।

बैशाख १६ गते युपी ३१३७७११ नम्बरको ट्रकमा महेन्द्रनगरबाट धनगढी ल्याइएको सामान र ट्रक प्रहरीले चोरीको सामान हो भन्दै समातेर लग्यो’, उनले भने, ‘मलाई मध्यरातमा हत्कडी लगाएर लगे। बिल र कागजात देखाउँदा पनि मानेनन्।’ कञ्चनपुरको गड्डाचौकी नाका हुँदै धनगढी ल्याइएको १२ किसिमको कृषि उपकरणको प्रज्ञापन पत्र, भिसिटिएस लगायतका कागजपत्र देखाउँदा देखाउँदै पनि प्रहरीले मध्यरातमा हत्कडी लगाएर आफूसहित ट्रक र सामान जिल्ला प्रहरी कार्यालय लगेको गुप्ताको भनाइ छ।

उनले प्रहरीले अनावश्यक दुःख दिएको गुनासो गरेका छन्। गुप्ताले ट्रकमा २२८ थान कृषि उपकरण ल्याइएको बताएका छन्। भन्सारमा गर्नुपर्ने प्रक्रिया पूरा गरेर आयात गरिएको सामान दुराग्रह राखेर जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले बरामद गर्दै आफूसँग समेत दुर्व्यवहार गरिएको गुप्ताको गुनासो छ। बैशाख १६ गते साँझ ७ बजे पसलमा पुगेको गाडीबाट सामान झार्दाझार्दै प्रहरी टोली पुगेको थियो।

प्रहरी टोलीले राति २ः३० बजे गुप्तालाई नियन्त्रणम लिएर सामान समेत बरामद गरेको थियो। भ्याटसहित २७ लाख ४३ हजार बराबरको सामान कैलाली प्रहरीले कैलाली भन्सार दाखिला गरेको छ भने आफूलाई दुई दिनसम्म हिरासतमा राखिएको गुप्ताले बताए। ‘भन्सार कार्यालयमा दाखिला भएको सामान र ट्रकको ४० लाख ४९ हजार धरौटी बुझाएर दुई दिनपछि हिरासत मुक्त भएँ।

व्यवसाय गरेको २८ वर्षको अवधिमा पहिलो पटक प्रहरीले हामीलाई अनावश्यक टर्चर दिने काम गरेको छ’, गुप्ताले भने। गुप्ताले प्रहरीले ज्यादती गरेको गुनासो गरे पनि कैलाली प्रहरीले भने व्यवसायी गुप्ताकै कमजोरीका कारण सामान बरामद गरिएको जनाएको छ। प्रहरीलाई प्राप्त गोप्य सूचनाका आधारमा गुप्ताको पसलमा पुग्दा महेन्द्रनगरबाट ल्याइएको भनिएको सामानको प्रज्ञापन पत्र, भिसिटिएस र अन्य बैध कागजात गुप्ताले देखाउन नसकेको प्रहरीको भनाइ छ।

ट्रकबाट सामान झार्नै लाग्दा पुगेको प्रहरी टोली देखेर ट्रक चालक भागेको, गुप्ताले आवश्यक कागजपत्र देखाउन नसक्दा भन्सार चोरीको सामान ल्याइएको आशंकामा सामानसहित व्यवसायी गुप्तालाई समेत पक्राउ गर्नुपरेको कैलाली प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले बताए। कैलाली प्रहरीले व्यवसायी गुप्ताले भ्याट बिलमा केही कृषि उपकरणहरूको मूल्य अस्वाभाविक राखेको प्रहरीको दाबी छ। यता व्यवसायी गुप्ताले भने प्रचलित कानूनको अधिनमा रहेर व्यापार व्यवसाय गरिरहेको २८ वर्षको अवधिमा पहिलोपटक प्रहरीबाट प्रताडित हुनुपरेको गुनासो गरेका छन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस