कैलालीका सिद्धराज पच्चीसवटा टनेल निर्माण गरेर तरकारी खेतीमा जम्दै
धनगढीः कैलालीका युवा सिद्धराज जोशीले पच्चीसवटा टनेल निर्माण गरेर व्यावसायीक तरकारी खेतीमा जमेका छन्।
जिल्लाको लम्कीचुहा नगरपालिका–४ बलियाका २२ वर्षीया युवा तरकारी खेतीमा जमेका हुन्। उनी चार वर्षदेखि तरकारी खेतीमा संलग्न छन्। कृषि तर्फको तीन वर्षे डिप्लोमा गरेका जोशीले एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। जोशीले २५ वटा टनेल नै बनाएर बेमौसमी तरकारी खेती गर्दै आएका हुन्। साथै तरकारीको हाइब्रिड बिउ समेत उत्पादन गर्न माटो परीक्षणको काम भइरहेको छ।
५ लाख लगानी गरेर तरकारी खेतीमा लागेका जोशी शिक्षण पेशामा समेत संलग्न छन्। आफ्नो १० कट्ठा तथा बाँकी जमिन लिजमा लिएर जोशीले एक बिघा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन्। सुरूमा १८ महिने जेटिए र त्यसपछि ३ वर्षे कृषितर्फ डिप्लोमा गरेका उनले कृषि वैज्ञानिक डाक्टर केदार बुढाथोकीसँग काठमाडौं गएर १० महिनासम्म तरकारी खेती सम्बन्धी तालिम लिएका छन्।
तालिमपछि २०७६ देखि २५ वटा टनेल बनाएर जोशीले बेमौसमी तरकारी उत्पादन सुरू गर्न थालेको बताए। ‘सुरूमा मैले १८ महिने कृषि जेटिए पढेको हुँ, त्यसपछि काठमाडौं गएर दस महिने तरकारी खेती सम्बन्धी तालिम लिएँ अनि तीन वर्षे डिप्लोमा गरेर २०७६ देखि तरकारी खेती गर्न थालेको हो’, उनले भने, ‘हामीले टनेलहरूमा बेमौसमी तरकारी फलाइरहेका छौँ र बिक्री गर्न अहिलेसम्म समस्या भोग्नुपरेको छैन। तर, जोखिम भने जोखिम नै छ।’
तीनवटा हाइटेकसहित २५ वटा टनेलमा जोशीले बेमौसमी टमाटर, भेडे खुर्सानी, काउली, बन्दा रायो उत्पादन गरिरहेका छन्। बलिया एग्रो प्रालि दर्ता गरेर जोशीले हाइब्रिड बिउसमेत उत्पादन गरिरहेका छन्। बारीमा उत्पादन भएको तरकारी बिक्री गर्न समेत जोशीलाई अहिलेसम्म समस्या भएको छैन। उनले उत्पादित तरकारी लम्की, चिसापानी, बौनिया,बलिया तथा स्थानीय हाट बजारमा बिक्री गर्दै आएका छन्।
‘हामीले बेमौसमी तरकारी फलाउने हुनाले बिक्रीमा समस्या छैन। भारतको तरकारी आयो भने समस्या हुन्छ। अहिलेसम्म तरकारी बिक्री नभएर समस्या भोग्नुपरेको छैन’, जोशीले भने। तरकारी खेती र हाइब्रिड बिउ उत्पादन गरिरहेका जोशी स्थानीय जनता माध्यमिक विद्यालयमा शिक्षण गर्छन्। १८ महिने कृषि जेटिए पढ्ने विद्यार्थीहरूलाई जोशी दैनिक ६ पिरियड अध्यापन समेत गराउँछन्।
एक बिघा जग्गामा गरिएको तरकारी खेतीबाट राम्रै आम्दानी भइरहेको बताउने जोशीले तरकारी खेती बिस्तारको योजना बनाइरहेका छन्। उनले मोहन्याल गाउँपालिका–६ खिमडीमा तरकारी खेती बिस्तार गर्ने योजना बनाएका छन्। मोहन्यालमा एग्रो फाराम बिस्तार गरेर तरकारीको हाइब्रिड बिउ उत्पादन गर्न जग्गा खोजेर माटो परीक्षणको काम भइरहेको छ।
आफूसँगैका साथीहरू जापान र कोरिया जाने तयारीमा जुटिरहेको भए पनि स्वदेशमै अवसर देखेकाले विदेश जाने सोच नआएको जोशीले बताए। ‘यतै गर्न सक्यो भने राम्रै कमाइ गर्न सकिन्छ। सीप तथा प्रविधि सिकेर आफ्नै ठाउँमा काम गर्नुको आनन्द बेग्लै हुन्छ’, उनले भने, ‘साथीहरू जापान–कोरियाको तयारी गरिरहेका छन् मैले भने भन्टाको बोटमा टमाटर फलाउने प्रविधि प्रयोग गर्न खोजिरहेको छु। भन्टाको बोटमा टमाटर ग्राफटिङ गर्दा १० महिनासम्म उत्पादन लिन सकिन्छ।’ युवा तरकारी व्यवसायी जोशीले प्रविधि र सीप भए नेपालमै काम गरेर आफू अनि अरूलाई समेत रोजगारी दिन सकिने बताउँछन्। कृषिमा प्रचुर सम्भावना भएकाले पढेकै विषयमा व्यवसाय सञ्चालन गरेको उनले बताए।