सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले एक वर्षमा वितरण गर्‍यो १३६ वटा भैँसी

२०८० फाल्गुन ८, १०:२६ नारायण अवस्थी

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले कृषितर्फ ४९ वटा ब्लक विकास कार्यक्रम सञ्चालनमा रहेको जनाएको छ। सरकारले २१० हेक्टरमा ताजा तरकारी खेती विस्तार र दुई हेक्टर जमिनमा तोरी खेती विस्तार भएको जनाएको छ।

एक वर्षमा ३ हजार १५० मेट्रिकटन तरकारी र १८० मेट्रिकटन तोरी उत्पादन भएको सरकारी दाबी छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रगति विवरणमा पशुपक्षीतर्फ १६ वटा ब्लक विकास कार्यक्रमबाट १३६ वटा भैँसी वितरण, ३४ वटा बाख्रा खोर निर्माण र १४ हेक्टरमा घाँस उत्पादन भइरहेको उल्लेख छ।

पशुपन्छी कार्यक्रमबाट १५० मेट्रिकटन दूध र ७० मेट्रिकटन मासु उत्पादन बढेको सरकारी दाबी छ। सरकारले मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तर्गत कृषितर्फ ७५ वटा नमुना गाउँ कार्यक्रमबाट १३३ वटा पोलिहाउस निर्माण, १५५ हेक्टरमा तरकारी खेती, २४३ हेक्टरमा शरदकालीन आलु र २९ हेक्टरमा फलफूल क्षेत्र विस्तार भएको दाबी गरिएको छ। कृषितर्फ दुई हजार मेट्रिकटन तरकारी र दुई हजार ५ सय मेट्रिकटन आलु उत्पादन भएको तथ्याङ्क देखाएको छ। सुदूरपश्चिम सरकारले पशुपन्छीतर्फ २३ वटा नमुना गाउँ कार्यक्रम अन्तर्गत १४० वटा गोठ सुधार, १५ वटा बंगुर फर्म स्थापना र १० बाख्रा फर्म स्थापना गरिएको छ। सरकारले १५ मेट्रिकटन बंगुरको मासु र ११५ मेट्रिकटन खसीको मासु उत्पादन भएको सरकारले देखाएको छ। सरकारले निजीस्तरमा च्याउको बिउ उत्पादन केन्द्र स्थापना गर्न सहयोग गरेर दुई सय पचास क्विन्टल च्याउको बिउ उत्पादन भएको जनाएको छ।

प्रदेश सरकारले ७७ वटा कृषि फर्म र समूहबाट ३ सय वटा प्लास्टिक घरमा तरकारी खेती र थप २ सय रोपनीमा खुल्ला रूपमा तरकारी खेती हुँदा एक हजार २५० मेट्रिकटन आलु, ९० मेट्रिकटन टमाटर र ५० क्विन्टल कउली उत्पादन भएको जनाएको छ। प्रदेश सरकारले मकैबाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत ३ हजार २१४ हेक्टर क्षेत्रफलमा ७ हजार २ सय मेट्रिकटन मकै उत्पादन भएको प्रदेश सरकारको वार्षिक प्रगति विवरणमा उल्लेख छ। सरकारले कृषि पूर्वाधार निर्माणतर्फ कैलालीको चुरे गाउँपालिका र लम्कीचुहा नगरपालिका तथा कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा कोल्ड च्याम्बर निर्माण गरिएको छ।

यस्तै, मत्स्य विकास केन्द्र गेटामा प्रतिदिन १२० लिटर नाइट्रोजन उत्पादन भइरहेको उल्लेख गरिएको छ। सरकारले दलहन बाली प्रवर्द्धन कार्यक्रमबाट ९५ मेट्रिकटन मसुरो तथा भटमास र २ सय क्विन्टल मकैको बिउ उत्पादन भएको जनाएको छ। प्रदेश सरकारले २६९ वटा साना सिँचाइ कुलो, २८१ वटा सिँचाइ पोखरी, ६१ वटा प्लास्टिक पोखरी, २३ ड्रिप सिँचाइ प्रविधि निर्माण र ३३० बिरङ्ग जडान भएको बताएको छ। जसबाट थप एक हजार ६०९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सरकारी दाबी छ।

प्रदेश सरकारले कृषि उपकरण र प्रविधिको सहयोगबाट उत्पादन बढेर किसानले लाभ हासिल गरेको दाबी गरेको छ।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस